कांग्रेस मोरङको राजनीति

लिम्बूले संस्थापन ‘क्याम्प’ फेरेकै हुन् ?

विराटनगर । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले संस्थापन ‘क्याम्प’ परिवर्तन गरेको विषय चर्चामा छ । कांग्रेस मोरङको आन्तरिक राजनीतिक सन्तुलनमा लिम्बूलाई महत्वपूर्ण फ्याक्टरको रुपमा हेर्ने गरिएकोमा पार्टी सभापति शेरबहादुर देउवको नजिक रहनुभएका लिम्बूले क्पाम्प परिवर्तन गरेको बताइएको छ ।

नेपाली कांग्रेस विभाजनको संकटपूर्ण समयदेखि अहिलेसम्म झण्डै १६ वर्ष लिम्बूले सभापति देउवालाई बलियो साथ दिँदै आउनुभएको थियो । पार्टीको संस्थापन पक्षसँग बिमति राख्दै विद्रोहीको भूमिकामा रहनुभएका लिम्बू अहिले संस्थापनसँग टाढिएको चर्चाले कांग्रेसभित्र राम्रै स्थान पाएको छ ।

२०७४ सालको आम निर्वाचनमा देशैभरी पार्टी हारेको बेला मोरङमा प्रतिनिधिसभा सदस्य १ र ३ प्रदेशसभा तथा १७ मध्ये ९ स्थानीय तहमा पार्टीलाई जिताएको भन्दै लिम्बूको प्रशंसा हुने गरेको थियो । तर, यो बेला लिम्बूले किन क्याम्प परिवर्तन गर्नुभयो भन्ने विषय कांग्रेसभित्रै खोजीको विषय छ ।

अघिल्लो महिना कांग्रेस नेता रामचन्द्र पौडलसहित असन्तुष्ट नेताहरुले बोलाएको जिल्ला सभापतिहरुको भेलामा लिम्बू पनि सहभागी हुनुभएको थियो । सोही भेलामा सहभागी भएपछि उहाँले संस्थापन क्याम्प छोडेको चर्चा चलेको हो । तर, लिम्बू भने त्यसलाई स्वीकार गर्न तयार हुनुहुन्न । ‘मैले क्याम्प चेन्ज गरेको वा कुन क्याम्पमा छु भन्ने कुरा मैले मात्र भन्न सक्छु’ उहाँले भन्नुभयो ‘यो गुट र विभाजनको विषयमा सोच्ने बेला पनि होइन ।’

लिम्बूले अस्वीकार गरेपन िउहाँ १४ औं महाधिवेशनमा पार्टी सभापतिको तयारी गरिरहनुभएका नेता डा. शेखर कोइरालाको निकट भएर काम गरिरहेको काँग्रेस कार्यकर्ताहरु बताउँछन् । सभापति लिम्बू, सचिव मोदराज घिमिरे र सचिव नागेश कोइरालासहितको प्रमुख टिम डा. शेखरसँग नजिकिएपछि जिल्लाको आन्तरिक समिकरणमा नै फेरबदल आउनसक्ने आंकलन गरिएको छ ।

संस्थापनबाट किन टाढिए लिम्बू ?
महाधिवेशन नजिकिएको बेला कोही कसैसँग टाढिनु र कसैसँग नजिकिनु सामान्य प्रक्रिया नै हो । तर, पार्टी संस्थापनको सद्भाव रहँदारहँदै लिम्बूले किन अप्ठ्यारो बाटो हिड्न खोज्नुभयो भन्ने कांग्रेस कार्यकर्ताको खोजिको विषय बनेको छ । उहाँ निकट नेताहरुका अनुसार लिम्बूलाई एकपटक पुनः जिल्ला सभापति भएर काम गर्ने चाहना रहेकोले त्यो अवस्था बनेको हो ।

संस्थापन पक्षको सहयोगले मात्र सभापति जित्नसक्ने अवस्था नरहेको आँकलन गरेर लिम्बू क्पाम्प परिवर्तनको निश्कर्षमा पुगेको एक नेताले बताए । विगतमा लोकतान्त्रिक कांग्रेससँग भएका नेता तथा कार्यकर्ताहरु अहिले एक ठाउँमा नहुनु र छिन्नभिन्न अवस्थामा रहेको बेला क्याम्प परिवर्तनबाट मात्र सभापति जित्न सकिन्छ भन्ने हिसावले काम गरेको हुनसने उनको भनाइ छ ।

डा. कोइराला समूहसमेतको समर्थनमा बलियो सभापति बन्नका लागि पनि उहाँले कोइरालासँगको निकटता बढाएको हुनसक्ने बताइन्छ । यहि सम्बन्ध सुधारका लागि भएको प्रयत्नलाई क्याम्प परिवर्तनको अर्थमा प्रचार गरिएको भन्नेहरु पनि छन् ।

पछिल्लो समय जिल्ला सभापति लिम्बूलाई नोवेल मेडिकल कलेजका सञ्चालक तथा कांग्रेस नेता सुनिल शर्माले साथ दिँदै आउनुभएको छ । पार्टी गतिविधि सञ्चालनदेखि पार्टी चलाउन आवश्यक पर्ने आर्थिक स्रोत व्यवस्थापनमा पनि शर्माको सहयोग रहेको छ । शर्माले डा. शेखर कोइरालासँग लिम्बूको सम्वन्ध सुधारमा योगदान गरिरहेको बताइएको छ ।

मोरङ कांग्रेसको राजनीतिमा जबरजस्त प्रभाव राख्ने केन्द्रीय सदस्य अमृत अर्याल पार्टी सभापति देउवाले बढी विश्वास गर्न थालेपछि लिम्बू टाढिएको अनुमान गर्नेहरु पनि छन् । संकटको बेला सहयोग गर्नेलाई भन्दा पछि आउनेलाई काखी च्यापेपछि लिम्बू देउवासँग असन्तुष्ट हुनुभएको हो ।

लिम्बूले क्षेत्रीय अधिवेशनपछि मात्र आगामी उम्मेद्वारीको विषयमा सोच्ने बताउनुभएको छ । क्रियाशिल सदस्यता वितरण गर्ने काम अहिले रोकिएको र सबैजना कोरोना भाइरस संक्रमणबाट जोगिने र जोगाउने अभियानमा जुटिरहेको उहाँले बताउनुभयो । अहिले क्याम्प परिवर्तन ग¥यो आदि भनेर प्रचार भइरहेको भन्दै उहाँले आफू पार्टी र संगठन बलियो बनाउन सक्रिय रहेको टिप्पणी गर्नुभयो ।

कांग्रेस मोरङमा तीन समूह
मोरङमा कांग्रेसका तीन केन्द्रीय सदस्यहरुले छुट्टाछुट्टै समूह चलाउने गरेका छन् । डा. शेखर कोइराला, अमृत अर्याल र महेश आचार्यले चलाउने समूहले यहाँको शक्ति सन्तुलनमा प्रभाव राख्ने गरेको छ ।

पछिल्लो समय आचार्यको समूह तुलनात्मक रुपमा कमजोर छ । आगामी जिल्ला अधिवेशनमा अर्याल र डा. कोइरालाको समूह मध्येबाट जिल्ला नेतृत्व अगाडि आउने सम्भावना छ । त्यसका लागि कोइराला समूहबाट लिम्बू र गोपालमानसिंह राजभण्डारीले आन्तरिक तयारी गरेका छन् भने अर्याल समूहबाट दिलिप गच्छदार, रमेशजंग रायमाझी र शिव ढकालले सभापतिमा दावी गर्नसक्ने देखिएको छ ।

सोमबार, १० चैत, २०७६, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर