कोसीमा आइसोलेसन वार्ड तयार

विराटनगर । सरकारले घोषणा गरेको दुई सातापछि कोसी अस्पताल विराटनगरमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका बिरामीलाई निगरानीमा राखेर उपचार गराउन आइसोलेसन वार्ड तयार गरिएको छ ।

प्रदेश सरकारको सहयोगमा कोसी अस्पतालमा ६ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश सरकारले ५ सैय्याको वार्ड कोसीमा तयार भइसकेको जानकारी गत फागुन २१ गते नै दिएको थियो । तर, बिहीबार मात्र वार्ड तयार भएको हो । वार्डमा ३ सैय्या मात्र रहने अस्पतालले यसअघि जानकारी दिएकोमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनमा ६ सैय्या बनाइएको छ ।

तीनवटा कोठामा दुई÷दुई वटा वेड राखेर आइसोलेसन वार्ड तयार गरिएको छ । वार्डको लागि छुटै १० जना चिकित्स र स्वास्थ्यकर्मीको टिम उपचारमा खटिनेछ । वार्डमा आवश्यक उपकरणको पनि व्ययवस्था गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश १ सरकारले दुई साताअघि कोरोनाका शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न कोसीसहितका चार वटा अस्पतालमा आइसोलेसन वेड तयार गर्ने घोषणा गरेको थियो । कोसीसहित नोवेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ शैयाको आइसोलेसन वार्ड तयार गर्ने घोषणा गरेको थियो ।

कोसीमा वार्ड तयार भएपनि उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, पीपीई प्रर्याप्त नभएको अस्पतालले जनाएको छ । संक्रमितको आशंका गरिएको विरामीको परिक्षणमा खटिने चिकित्सको टोलीका लागि व्यक्तिगत सुरक्षा प्रणालीमा लागि आवश्यक उपकरण र वस्तुको अभाव रहेको अस्पतालकी मेसु डा.संगीता मिश्रले बताउनुभाये ।

पीपीईमा गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चश्मा, मास्क, पञ्जा, बुट लगायतका सामग्री हुन्छन् । यस्ता सामाग्री एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नमिल्ने बताइएको छ ।

कोरोना भाइरस संक्रमण जाँच गर्नका लागि नमूना संकलन गर्दा पनि स्वास्थ्यकर्मीले पीपीई लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डमा उल्लेख छ । अस्पतालमा थोरै मात्रामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, पीपीइए भएकाले थप आवश्यक सामाग्री प्रदेश सरकारसँग माग गरिएको मेसु मिश्रले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्यको संगठनको मापदण्डअनुसार आइसोलेसन वेड तयार भएको कोशी अस्पतालका फिजिसियन विभाग प्रमुख डा.दीपक सिग्देलले बताउनुभयो । दुई वटा कोठामा १० बेडको आइसोलेसन बेड तयार गरिएको र त्यसलाई निर्मलीकरण गर्ने काम भरहेकोलले अब चेकजाँचका क्रममा कोरोना शंकास्पद व्यक्ति फेला परेमा तत्काल अन्यत्र रिफर गर्नु नपर्ने उहाँको भनाइ छ ।

कोरोना संक्रमितहरुलाई रिफर गर्न वा अस्पतालसम्म ल्याउनका लागि २ वटा एम्बुलेसन्स तयारी अवस्थामा राखिएको कोशी अस्पतालले जानकारी गराएको छ ।

फिभर क्लिनिक सञ्चालन
कोशी अस्पतालले कोरोना संक्रमण रोकथामका लागि फिभर क्लिनिक सञ्चालनमा ल्याएको छ । अस्पतालमा उपचारका लागि आएका सेवाग्राही र बिरामीहरूलाई निगरानी गरेर ज्वरो जाँच गर्न कोशी अस्पतालले बुधबारदेखि फिभर क्लिनिक सञ्चालनमा ल्याएको हो ।

निगरानी र चेकजाँचका क्रममा अधिक ज्वरो आएका शंकास्पद मानिसहरूलाई फिभर क्लिनिकमा राखेर थप उपचारका लागि अलग्गै फिभर क्लिनिक सञ्चालनमा ल्याएको अस्पताल प्रमुख डा. संगीता मीश्राले बताउनुभयो । डा. मीश्राका अनुसार फिभर क्लिनिकमा उपचार गराउने बिरामीहरूका लागि अलग्गै १० वटा शैय्याको व्यवस्था गरिएको छ । क्लिनिक अस्पतालको बहिरङ विभागमा स्थापना गरिएको छ ।

अस्पतालले बुधबारदेखि हेल्थडेस्क पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको मुलगेटमा हेल्थडेस्क राखेर आउने जाने सेवाग्राहीहरू सबैको ज्वरो जाँच गर्न थालिएको छ । अस्पतालमा विभिन्न १० स्थानमा हेण्डवास राखेर हात धुने व्यवस्था मिलाइएको छ ।

बजारमा मास्कको अभाव भएपछि कोशी अस्पतालले आफनै स्रोतसाधान प्रयोग गरेर स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि मास्क उत्पादन गरेर प्रयोग गराउँदै आएको छ ।

बिहिबार, ०६ चैत, २०७६, बिहानको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर