भनिन्छ, लक्ष्मी चञ्चला हुन्छिन् । त्यसैले होला लक्ष्मीको तस्बिर प्रायः उभिएको अवस्था मात्र पाइन्छ । बसेकी लक्ष्मीको तस्बिर कतैकतै मात्र देख्न पाइन्छ ।
चञ्चला भएकै कारणले हुनुपर्छ, लक्ष्मी अर्थात् धन जति खर्च ग¥यो त्यति नष्ट हुन्छ । तर, विद्या जति खर्च ग¥यो त्यति वृद्धि हुन्छ । त्यसैले धनको व्यवस्थापन अत्यन्त सतर्कता र सचेतताका साथ गरिनुपर्छ ।
धनको व्यवस्थापन गर्न नसकेर संसारमा ठूलाठूला धनाढ्य र घराना सकिएका छन् । विराटनगरमा यसको पछिल्लो उदाहरण मङ्ग्तुराम समूह भएको छ ।
दुई दशकअघिसम्म विराटनगरमा मङ्ग्तुराम समूह एउटा ठूलो औद्योगिक घरानाका रूपमा परिचित थियो । आज त्यस समूहका संस्थापक मङ्ग्तुराम अग्रवाल भारतको सिलिगुडीस्थित अपार्टमेन्टको एउटा सानो कोठामा दिन काटिरहेका छन् । उनका ५ भाइ उद्यमी छोरा ५ तिर छन् । विराटनगर बसिरहेका सुरेशलाई अन्य चार जनाका बारेमा सोध्यो भने अनभिज्ञता प्रकट गर्छन् । लाग्छ, पाँचै भाइमा एक आपसमा संवादहीनताको अवस्था छ । एकले अर्कासित कुने मतलब राखेका छैनन् झैँ लाग्छ ।
मङ्ग्तुरामका जेठा छोरा सुबोध अग्रवाल विराटनगरमा दानवीर कर्णका उपनामले चिनिन्थे । बजारका गुन्डा नाइकेदेखि प्रहरीका अधिकृत, राजनीतिक नेता र ठुटे नेतादेखि पत्रकारसम्मको भिड खपिनसक्नुको हुन्थ्यो सुबोधका गद्दीमा । कसलाई कति दिने सुबोधलाई कुनै परवाह थिएन । जति मन लाग्थ्यो, त्यति दिन्थे । तिनै सुबोध र उनको परिवार आज कुन मुलुकमा के गरिरहेको छ कसैको चासो विषय छैन, कसैलाई थाहापता छैन । सहोदर जुम्ल्याहा भाइ सुरेशका अनुसार उनलाई पनि केही अत्तोपत्तो छैन ।
चालीसको दशकसम्म सत्यनारायण धनावत र मोतिलाल धनावतसित मिलेर संयुक्त साझेदारीमा मोरङको टंकीसिनवारीमा हिमालय सोपको सञ्चालन गरेका मङ्ग्तुराम पछि आफ्नै भतिजा शंकरलाल अग्रवालसित सुनसरीको सोनापुरमा पशुपति सोपका लागि पार्टनर बन्न गए । तर, शंकरलालसितको साझेदारी पनि धेरै चलेन । २०४७ तिर मङ्ग्तुरामले एकल स्वामित्वमा सोनापुरमै अर्को साबुन कारखाना खोले । यसको नाम अन्नपूर्ण सोप एन्ड केमिकल इन्डष्ट्रिज थियो ।
यसबीच मङ्ग्तुरामका पाँचै भाइ छोरा ठूला भइसकेका थिए र सबैलाई काम चाहिएको थियो । सुबोधसँगे जन्मिएका सुरेश थिए भने दामोदर, किसन र नारायण पनि जान्नेबुझ्ने भइसकेका थिए । त्यसैले मङ्ग्तुराम समूहले उद्योगको सङ्ख्या भटाभट बढायो । नारायण भेजिटेबल, गणेश प्लास्टिक, जयकाली बिस्कुट एन्ड कन्फेक्सनरी, दन्तकाली प्याकेजिङ, लक्ष्मी फुटवेयर र अन्नपूर्ण आइरनजस्ता उद्योग खुले भने घटस्थापना इन्टरप्राइजेज र फूलपाती इन्टरप्राइजेज जस्ता व्यापारिक फर्मबाट पनि मङ्ग्तुराम समूहले आयात निर्यातको ठूलो काम गरिरह्यो ।
भारतसित भएको सन् १९९६ को व्यापार तथा पारवहन सन्धिका कारण नेपालबाट भारततर्फ वनस्पति घिउ ठूलो परिमाणमा निर्यात हुन्थ्यो । यस्तो निर्यात गर्नेमा मङ्ग्तुराम समूहको नारायण भेजिटेबल पनि थियो । तर, नारायणको नामले खोलिएको उद्योगलाई भारत सरकारले नन्भेज चार्ज लगायो । उद्योगले इन्डोनेसियाबाट मगाएको वनस्पति घिउको कच्चा पदार्थ क्रुड आयलमा जनावरको बोसो मिसाइएको आरोप भारतीय पक्षको थियो । त्यसबेलाको करिब २० करोड मूल्यको क्रुड आयल थियो, त्यो । क्रुड आयल कोलकाता बन्दरगाहमै रोकियो । मङ्ग्तुराम समूहले निकै मुद्दामामिला ग¥यो । तर, जितेन । क्रुड आयल इन्डोनेसिया फिर्ता गयो, मङ्ग्तुरामको रकम फिर्ता आएन ।
यसपछि उनीहरूका दुर्दिन सुरु भए भन्दा पनि हुन्छ । एकै चोटि २० करोडको चोट लागेको थियो । अर्कातिर अन्नपूर्ण सोप बाहेक सबै उद्योग घाटामा थिए । समूहको व्यवस्थापन अत्यन्त कमजोर थियो । जसले जतिमा खरिदविक्री गरे पनि हुन्थ्यो । बजारबाट उठ्ने रकम नियमित थिएन ।
यही हप्ता वाणिज्य बैंकले समूहअन्तर्गत रहेको लक्ष्मी फुटवेयर, गणेश प्लास्टिक, हनुमान स्पिनिङ एण्ड विभिङ इण्डस्ट्रिज, शान्ति फुटवेयर र अन्नपूर्ण आइरनको विराटनगरको टंकिसिनुवारीको ३५ करोड ६७ लाख रुपैयाँ बराबरको सम्पत्ति लिलामीमा राखेको छ । दुहबीमा रहेको अन्नपूर्ण सोपको १८ करोड ४९ लाखको सम्पत्ति पनि लिलामीमा राखिएको छ भने भाइ कृष्णकुमारको दुहबीको ३ करोड ७५ लाख र अर्का भाइ दामोदरप्रसादको दुहबीकै ३ करोड ९० लाखको सम्पत्ति पनि लिलामीमा चढाइएको छ ।
जयकाली बिस्कुटको ५ लाख ७० हजारको सम्पत्ति पनि लिलाममा चढेको छ । यसबाहेक सुबोध, सुरेश र नारायण अग्रवाल र शान्तिदेवी अग्रवालको विराटनगरमा रहेको ९ करोड ३९ लाखको सम्पत्ति पनि बैंकले लिलाम गर्ने भएको छ । सुवोधकै विराटनगरस्थित अर्को ४ करोड १५ लाखको सम्पत्ति पनि लिलामीमा चढेको छ ।
बैंकले मंगतुराम अग्रवाल, सुरेश र दामोदरको नाममा रहेको ९ करोड ७० लाखको सम्पत्ति पनि लिलामीमा चढाएको छ भने मंगतुरामको एकल स्वामित्वमा रहेको विराटनगरकै अर्को ६७ लाख २९ हजार जाने सम्पत्ति पनि लिलामीमा चढाएको छ । मङ्ग्तुराम समूह आज राजाबाट रङ्क बनेको अवस्था छ । तर, मङ्ग्तुरामले अलिकति पनि बुद्धि पु¥याएका भए उनको र उनको परिवारको यो अवस्था हुने थिएन । हो, उनलाई विशेष अदालतले १ वर्षको कैद तोकेको थियो । उनले कैद भुक्तान गरेको भए ६ महिनामै छुट्नसक्थे । र, विराटनगरको मारवाडी समाजलाई उनले अनुरोध गरेको भए उनको सबै सम्पत्ति बेचेर ऋण तिरेर राम्रै रकम बच्थ्यो पनि । तर, न मङ्ग्तुराम अघि सरे न विराटनगरको समाजको कसैले नेतृत्व लियो । आज एउटा अजंगको पहाड हेर्दाहेर्दै ऋणको नदीमा बगेको छ । मङ्ग्तुराम र उनको परिवार यही नियति भोगिरहेको छ ।