विराटनगर । कोरोनाको त्रासका कारण बजारमा अत्यावश्यक औषधि, खाना पकाउने ग्याँस लगायत विभिन्न वस्तुको अभाव हुने हल्ला फैलिएसँगै उपभोक्ताहरुले वस्तु जोहो गर्न थालेका छन् ।
उपभोक्ताले चाहिनेभन्दा बढी वस्तुको जोहो गरेको कारण बजारमा दवाव बढेको छ भने आपुर्ती प्रणालीमा पनि समस्या आएको सरकारी निकायले जनाएको छ ।
उपभोक्ताहरुले नुनदेखि औषधिसम्म संचित गर्न थालेपछि बजारमा कतिपय औषधिहरुको पनि अभाव देखिएको छ । कोरोनाले गर्दा वस्तु आयातमा प्रभावित बनेको भन्ने हल्ला फैलिएपछि केहि दिनदेखि उपभोक्ताहरुले नुन, ग्याँस, औषधि र खाद्यान्न आदिको सञ्चिति बढाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोदी दुगड तथा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बिजयकुमार विश्वासको उपस्थितिमा भएको छलफलमा सो विषय उठेको हो । कार्यक्रममा संघीय राज्यमन्त्री दुगडले बजारमा ग्यासलगायत खाद्य वस्तुको अभाव नरहेको र अभाब नहुने बताउनुभयो ।
कोरोनाका कारण आपुर्ती बन्द हुनसक्ने हल्ला निराधार भएको बताउँदै मन्त्री दुगडले कुनैपनि वस्तुको आयात प्रभावित नभएको दावी गर्नुभएको छ । भारतले रोकेको २६ प्रकारका औषधिहरुको विषयमा पनि सरकारको तर्फबाट पहल र प्रयत्न भइरहेको उहाँले बताउनुभयो । ग्यासको आयात पहिलेको भन्दा बढी रहेको तथा खाद्यान्नलगायत सबै वस्तुको आयात पूर्ववत रहेको उहाँको भनाइ छ । कालोबजारी रोक्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा टोलीलाई सक्रिय बनाउन मन्त्री दुगडले निर्देशन दिनुभएको छ ।
प्रदेश सरकारका राज्यमन्त्री विश्वासले सबै एकजुट भएमात्र कोरोनाबाट हुनसक्ने क्षति रोक्न सकिने बताउनुभो । तीनै तहका सरकारहरुले समन्वय गरेर कोरोनाको संक्रमण रोक्न प्रयास गर्नुपर्ने र त्यसमा आम नागरिकको साथ चाहिएको उहाँको भनाइ थियो ।
नेपाल औषधि व्यवसायी महासंघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले बहुराष्ट्रिय कम्पनीले आपुर्ती गर्दै आएका औषधिहरु बजारमा भेटिन छोडको बताउनुभयो । केही समयदेखि ती औषधिको आयात नभएकोले अभाब भएको उहाँको भनाइ छ ।
औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख संजिव कट्टेलले बजार अनुगमनका क्रममा मास्क र स्यानिटाइजर अभाव देखिएको भएपनि औषधिको समस्याबारे जानकारी नभएको बताउनुभयो । भारतबाट एण्टिकोल्ड औषधि आयात रोकिएको भएपनि नेपाली औषधि उत्पादकहरुले न्यूनतम ६ महिनालाई पुग्ने कच्चा पदार्थ रहेको जानकारी सरकारलाई दिएकोले आत्तिन नपर्ने उहाँको भनाइ छ ।
बजारमा पर्याप् नुन भएपनि उपभोक्ताले अनावश्यक सञ्चिति गर्न थालेकोले नुनको बिक्री बढेको साल्ट टे«ेडिङ कर्पोरेशनले जनाएको छ । कर्पोरेशनका विराटनगर प्रमुख राधेश्याम चौधरीले १ नम्बर प्रदेशलाई १० महिनाका लागि पुग्ने नूनको मौज्दात रहेकोले जानकारी दिनुभयो ।
नेपाल आयल निगमसँग प्रयाप्त इन्धन भएपनि आइतबारदेखि प्रदेश १ मा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । निगमका उपनिर्देशक चित्तरञ्जन दाशले मूल्य घट्ने आशंकामा इन्धन खरिद गर्न व्यवसायी नआएपछि अभाव देखिएको बताउनुभयो । निगमका कारणले आपुर्ति व्यवस्थामा समस्या नरहेको उहाँको भनाइ छ । ग्याँसको पनि पर्याप्त आयात भइरहेको तर, उपभोक्ताले बढि स्टक राखेकै कारण अभाब देखिएको उहाँले दावी गर्नुभयो ।
कोरोना भाइरसको संक्रमणको त्रासले उपभोक्ताहरुले खाद्यान्न र तेलको संचिति पनि बढाउन थालेका छन् । सञ्चितिले बजारमा अभाव र कालोबजारी बढाउने भएकोले अनुगमन र एकीकृत सूचना प्रणालीको व्यवस्था मिलाउन सरोकारवालाले सुझाब दिएका छन् ।
छलफलमा उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्दै आएका उत्तम ढुंगेल, मोहन भट्टराई, कृष्णप्रसाद भण्डारी मार्सेली, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, पूर्वअध्यक्ष पवन सारडालगायतले बजारको अवस्था र सहज आपुर्ति व्यवस्था मिलाउने उपायको विषयमा बोल्नुभएको थियो ।