उपभोक्ता आत्तिएपछि इन्धन अभाब

विराटनगर । एक सातासम्म पुग्ने पर्याप्त इन्धन नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालय विराटनगरमा मौज्दात भएपनि पूर्वी सहरमा पेट्रोलपम्पहरू बन्द छन् ।

बजारमा केही दिनयता खाना पकाउने ग्यासको पनि कृत्रिम अभाव छ । पहिलेको तुलनामा ग्यासको आयात बढिरहेको भएपनि बजारमा अभाब छ ।

गएको एक साता मात्र १ सय १ बुलेट ग्यास यस क्षेत्रको लागि भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख उपनिर्देशक चितरञ्जन दासले जानकारी दिनुभयो । गत फागुन २५ देखि चैत २ गतेसम्म भित्रिएको ग्यास उद्योगले सिलिण्डरमा प्याक गर्दा १ लाख ३२ हजार ५ सय सिलिण्डर हुन्छ ।

निगमको प्रादेशिक कार्यालयमार्फत ५ वटा कम्पनीले एलपी ग्यास बिक्री गर्दै आएका छन् । पछिल्लो एक सतामा कोशी ग्यासले ८३८.५२ मेट्रिकटन अर्थात ४५ बुलेट ग्यास आयात गरेको छ । जसको ५९ हजार सिलिण्डर हुन्छ । यस्तै मारूती सुविधा ग्यासले ३ सय ८०.३० मेक्ट्रिकटन अर्थात २१ बुलेट ग्यास आयात गरेको छ । जसको २६ हजार ५ सय सिलिण्डर बन्छ ।

सोमबार भारतबाट नेपाल भित्रने क्रमम रहेका ३८ ग्यास बुलेटहरु भन्सार क्षेत्रमा ।

यसैगरी २ सय २८ मेक्ट्रिकटन अर्थात १५ बुलेट आयात गरेको प्रिमा ग्यासले १९ हजार ५ सय सिलिण्डर हुन्छ । १ सय ७७ मेक्ट्रिकटन अर्थात ९ बुलेटमा ग्यास आयात गरेको रिजालले १२ हजार ५ सय सिलिण्डर बनाउन सक्छ । २ सय १३ मेक्ट्रिकटन अर्थात ११ बुलेट आयात गरेको सुगमले १५ हजार सिलिण्डर बनाएको निगमका प्रमुख दासले बताउनुभयो ।

ठूलो संख्यामा ग्यास नेपाल भित्रिएको निगमले जनाएपनि अहिले विराटनगरका बजारमा ग्यास छैन । कोरोना भाइरसका कारण आपूर्ति सहज नहुने भन्दै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरेको उपभोक्ताहरू बताउँछन् । आलय निगम र व्यापारीहरुले भने उपभोक्ताले ठूलो संख्यामा स्टक गरेकोले ग्याँस अभाब देखिएको बताएका छन् ।

उपभोक्ताहरुले ३ देखि ६ वटासम्म सिलिण्डर मौज्दात गरेर राख्न थालेपछि अभाव देखिएको ग्यास बिक्रेता सरलराज पोखरेलले बताउनुभयो । ‘अहिले जति सिलिण्डर बजारमा लगिन्छ, त्यति बिक्री हुने अवस्था छ,’ पोखरेलले भन्नुभयो ‘विगतको नाकाबन्दी र आन्दोलनको समयमा भोगेको समस्या सम्झिएर उपभोक्ताहरु बढी आत्तिएको देखिन्छ ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले भने विराटनगरमा समय समयमा अनुगमन भइरहेको र कालोबजारी नभएको दाबी गर्नुभयो । ‘बजारमा हामीले अनुगमन गर्दै आएका छौं’ बरालले भन्नुभयो, ‘विराटनगरमा अभाव र कालोबजारी छैन ।’

पम्पहरु बन्द हुँदा सास्ती
पम्पहरूले आयल निगमबाट पेट्रोलियम पदार्थ खरिद गरेर नलगेको कारण सोमबार विराटनगरसहित पूर्वी सहरका अधिकांश पम्पहरू बन्द हुँदा उपभोक्ता मारमा परेका छन् ।

विराटनगरको अधिकांश पेट्रोल पम्पहरू बन्द रहे भने खुला रहेका केही पम्पहरूमा इन्धन भर्ने सवारी साधनको लामो लाइन थियो । पेट्रोल पम्पहरूले मूल्य घट्नसक्ने भन्दै निगमबाट पेट्रोलियम पदार्थ खरिद नगरेकोले बजारमा अभाब देखिएको हो ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख उपनिर्देशक चितरञ्जन दासले एक हप्तासम्म पुग्ने पेट्रोलियम पदार्थको मौज्दात रहेको बताउनुभयो । सोमबार विहानसम्म ३ सय १६ केएल पेट्रोल, ६ हजार ३ सय १० केएल डिजेल र ६ सय ३२ केएल मट्टितेल मौज्दात रहेको उहाँको भनाइ छ । यो मौज्दातले एक सातासम्म पुग्ने र पर्याप्त आयात पनि भइहरेकोले अभाब नहुने उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय मूल्यअनुसार मंगलबार मूल्य समायोजन हुने अनुमान गरेर सोमबार पम्पहरुले तेल उठाउँदा अभाब देखिएको हो । ‘अन्तर्राष्ट्रिय बजारमा तेल सस्तिएकाले नेपालमा पनि सस्तिन्छ । महंगोमा खरिद गरेको तेल मौज्दात बस्यो भने घाटा हुन्छ भन्ने डरले डिलरहरूले तेल नउठाएका हुन्’ उपनिर्देशक दासले भन्नुभयो, ‘त्यसैले धेरै पम्पहरू नखुलेका हुन् ।’

अन्तराष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य ३३.८५ प्रतिशतसम्म घटेकोले नेपालमा पनि मूल्य घट्ने अनुमानमा डिलरले तेल नउठाएका हुन् । दैनिक ३ सय केएल पेट्रोल र ९ सय केएल डिजेल विक्री भइरहेको निगमको विराटनगर डिपोबाट आइतबार २ सय ८७ केएल पेट्रोल र ७ सय २७ केएल डिजेल बिक्री भएको छ ।

दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने त्रास देखिएका बेला पेट्रोल पम्पहरुमा लाइन देखेपछि सर्वसाधारण थप आतंकित भएका छन् । पम्पमा लाइन देखिएपछि उपभोक्ताले आत्तिएर फूलट्यांकी तेल हालेकोले अभाब देखिएको पेट्रोलियम डिलर्स एशोसिएशन कोशीका अध्यक्ष दवेन्द्र श्रेष्ठले बताउनुभयो ।

कोशीमा १ सय १० वटा पेट्रोलपम्पबाट इन्धन वितरण भइरहेको छ । तेलको अभाव देखाएर पम्प सञ्चालकहरुले कालोबजारी पनि सुरु गरिहाल्ने प्रवृत्ति रहेको उभोक्ताहरूको भनाई छ ।

मङ्गलबार, ०४ चैत, २०७६, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर