सरकारले झुठ बोलिरहेको छ
केदार कार्की
प्रमुख सचेतक, नेपाली कांग्रेस
म कोरोनाको बारेमा धेरै बोल्दिन । धेरै बोले भने फेरि मन्त्रीज्यु यहाँ आएर सिंगान कसरी पुछ्ने भनेर सिकाउन थाल्नुहुन्छ । मन्त्रीजीलाई सिंगान पुछ्ने टे«निङ किन दिनु । म त्यो चाहान्न । तर, मन्त्रीजी झुठ बोल्दै हुनुहुन्छ । कोशीमा आइसोलेन वार्ड छ भनेर भन्नुभो । तर, त्यहाँ गएको बिरामी सिधै धरान रेफर भए । धरान पुगेको बिरामीलाई फिजिसियनले हेरेन । भिसिले भनेपछि साइकाटिकले जाँच ग¥यो । त्यो बिरामी फेरि बसमा चढेर फर्किए ।
म प्रार्थना गर्छु कि त्यो बिरामीलाई कोरोना नभएको होस् । किनभने मन्त्रीजीलाई साँचो बताउनुछ । यो मन्त्री पद सकिएपछि मन्त्रीजी फेरि कतै क्लिनिक खोलेर नबस्नुहोस् । अहिले भर्खर हामी जोगवनी नाकामा पुगेर आयौं । नाकामा जाँच गर्ने स्वास्थ्यकर्मी र प्रहरीको आवश्यक सुरक्षा प्रवन्ध गरिएको छैन । उनीहरुसँग न पञ्जा, न पर्याप्त मास्क छ न विशेष पोशाक दिइएको छ । बिनापञ्जा प्रहरी हातमा समातेर जाँच गरेर जान भनिरहेका छन् । के प्रहरीलाई देखेर कोरोना भाग्छ ? सरकार झुठ नबोल ।
एकजना माननीय हुनुहुन्छ, जसले लोहोन्द्राको पुल भत्किँदा किसानले उत्पादन गर्न पाएनन् भन्नुहुन्थ्यो । उहाँ अहिले मन्त्री हुनुभएको छ । सरकारले त्यहाँको किसानहरुको समस्या हेरेन । सरकारले बजेटमा कृषिलाई १ नम्बरमा राखेको छ । किसानले पैसा उठाएर मन्त्रीलाई बुझाएपछि त्यहाँ पानीको व्यवस्था हुन्छ कि धर्ना दिएपछि हुन्छ मन्त्रीहरुले बताउनुप¥यो ? त्यसकारणले सरकारले जानिजानी किसानलाई प्रताडित गर्ने काम गर्दैछ ।
अर्को विषय, प्रदेशले नै स्थानीय तहको नगरपालिका गाउँपालिकाको प्रमुखहरु सरुवा गर्ने अधिकार दिनुपर्छ भन्ने प्तिवेदन विरुद्ध सांसदहरुले बोल्दा पनि प्रदेश सरकार किन मौन बसेको छ ? किन यो सरकार लंगडो हो, किन दास हो प्रदेश सरकार, किन जनताको रगतमा प्रदेश सरकार खेलवाड गर्दैछ मेरो यो प्रश्न छ । आफ्नो अधिकार खोज्न नसक्नेले अरुलाई अधिकार दिलाउन सक्दैन । त्यसैले झुठ बोल्ने मन्त्रीले सरकारबाट राजिनामा गर्नुपर्छ ।
हामी कतै भ्रष्टाचारमा त पर्दैछैनौं ?
बलबहादुर साम्सोहाङ
प्रदेशसभा सदस्य, ताप्लेजुङ
प्रदेशसभामा धेरै पटक करप्सन विषयमा कुरा उठेको छ । करप्सन दुई खालको हुन्छ, ह्वाइट र ब्ल्याक । ब्ल्याक करप्सनमा पर्ने मन्त्रीहरुको बारेमा मैले हेर्दा जाँदा विगतमा जसले करोडौं जरिवाना तिरे र जेल पनि बसे । हुँदै जाँदा एकजना मन्त्रीको नाम त मैले बिर्सें तर त्यो जेलबाट छुट्दा ११२ किलोको माला लगाएर समर्थकले स्वागत गरे । नेपालको पोलिटिकल कल्चरको अवस्था यस्तो हो । कतै हामी भ्रष्टाचारको मुद्दामा पर्ने अवस्थामा त छैनौं, अहिलेका हामी मन्त्री र सांसदहरु ?
मैले जोड्न खोजेको कुरा यो हो । हामी अहिले नयाँ संरचनामा छौं । त्यो सँगसँगै हामी पूर्वाधार निर्माणसँगै थुप्रै सवारी साधन खरिद गर्नुपर्ने परिस्थितिमा छौं । जसले गर्दा अहिले खरिद गरेका जति पनि सवारी साधन र वस्तुहरु सार्वजनिक खरिद ऐनको परिधिभित्र कति छ, त्यो कुरा सदनलाई जानकारी गराउँदा राम्रो हुन्छ । यहाँ शपथ नखाएका मन्त्रीहरुले जवाफ ड्याङ् ड्याङ दिन थाले भनिएको छ । यसको अलिकति अध्ययन गर्दा के देखियो भने खासगरी प्रतिपक्षको छायाँमन्त्रीको जवाफ शपथ नखाएका मन्त्रीहरुले पनि दिन पाइँदो रहेछ । जसले गर्दा यो सदनमा संविधानको मर्म, भावना, मानवअधिकार र मौलिक हकको सिद्धान्तभित्र रहेर बोल्न र बहसको विषय बनाउन पाउने हुन्छ ।
कृषकको समस्या समाधान होस्
बसन्तकुमार बानियाँ
प्रदेशसभा सदस्य, झापा
नेपाल कृषिप्रधान देश हो । तर, हामी करोडौंका दालचामल बाहिरबाट किनेर ल्याउँछौं । प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । यो राम्रो कुरा हो । यसलाई साँचो अर्थमा समस्याको खोजी गरी उत्पादन बढाउन सके हाम्रो उत्पादन निर्यात हुनसक्ने सम्भावना छ । यतिबेला झापा जिल्ला नै कृषि सुपरजोनको रुपमा घोषित भएको छ । कार्यक्रमहरु सारिएका छन् । किसानहरुले बाँझा सयौं बिघामा चैते धानबाली लगाउन थालेका छन् । एउटा गाउँपालिकाले मात्रै एक अर्बको मकै उत्पादन गरेको छ । यो राम्रो कुरा हो ।
अहिले किसालाई चाहिएको बेलामा युरिया, डिएपी मल, विशेषज्ञहरुको अभाव छ । बालीमा रोेग लागेको बेला उपचार गर्ने प्राविधिक छैनन् । किसानहरु निराश छन् । कृषि क्षेत्रमा जुन आकर्षण बढेको छ, यसलाई उत्प्रेरणा प्रदान गर्न मललगायत समस्या समाधान सरकारले गर्नुपर्छ ।
अहिले राजमार्ग दक्षिण क्षेत्रमा हात्तीको आतंक बढेको छ । यो हप्ताभित्रै जंगली हात्तीले बाह्रदशी, केचनाकवल क्षेत्रमा सयौं बिघा क्षेत्रमा लगाएको मकैबाली नष्ट गरेको छ । भर्खरै दाना लाग्ने बेला भएको मकै नष्ट भएपछि किसानमा रुवाबासी छ । जङ्गली हात्ती नियन्त्रण गर्न उचित प्रबन्ध गरियोस् ।