विराटनगर । विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सतर्कता अपनाएको सरकारले बताए पनि नेपाल–भारत सीमा नाका जोगवनीमा कुनै प्रभाबकारी सतर्कता देखिएको छैन ।
कोरोनाको संक्रमण भित्रन नदिन सरकारले सीमा नाकामा उच्च सतर्कता अपनाएको भएपनि सरकारी सतर्कता भने नाम मात्रको देखिन्छ ।
दैनिक हजारौं नागरिकको ओहोरदोहोर हुने जोगवनी नाकामा भारततर्फ फिबरको चेकजाँच केही प्रभाबकारी भएपनि नेपालतर्फ अझै नाम मात्रको छ । भारतमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा नेपाल उच्च जोखिममा रहेको भएपनि सरकारले नाकाहरुको आवागनमनमा कडाई नगर्दा जोखिम झनै बढेको छ । अहिलेसम्म विहारमा कोरोनाको संक्रमण धेरै फैलिएको अवस्था नभएपनि छिमेकी युपीमा दर्जन बढिमा यो संक्रमण देखिसकेको छ ।
जोगवनी नाका भएर नजिकका मात्र नभएर भारतका विभिन्न स्थानबाट नेपाली तथा भारतीहरु नेपालसम्म आउने गरेका छन् । तर, उनीहरु पनि चेकजाँचविनै नेपाल प्रवेश गरिरहेका छन् । प्रदेश १ सरकारले भारतसँग सीमा जोडिएका प्रदेशका चार नाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउने बताएको भएपनि सीमा नाकाहरुका स्वास्थ्य परीक्षणको व्यवस्था चुस्त छैन ।
भारतीय सरकारले जोगवनीमा स्थापना गरेको हेल्थडेक्सले नेपालबाट भारत प्रवेश गर्ने सबैको ज्वरो चेकजाँच गरिरहेको छ । भारतीय सुरक्षाकर्मीले चेकजाँच गरेर मात्र जान सुचित गर्ने गरेका छन् । तर, नेपालतर्फ भने दशजगा नजिकै सडक किनारमा रहेको सुरक्षा चेकजाँच पोष्ट सक्रिय छैन । त्यहाँ स्वेच्छाले गएर चेकजाँच गर्नेहरुको मात्र स्वास्थ्य(फिबर) परीक्षण हुने गरेको छ ।
भारतले नेपालतर्फको जोगवनीसहितका सीमानाकाको आवातजावत आइतबार रातिबाट बन्द गर्ने बताएको छ । तर, त्यसबारे आधिकारिक जानकारी भने दुबै तर्फका स्थानीय अधिकारीहरुलाई आइसकेको छैन । निर्वाध आउजाउ गर्नेमध्ये जोगवनी बजार पुगेर किनमेल गर्ने नेपालीको संख्या बाक्लो छ । पैदल, मोटरसाइकल, स्कुटर र साइकलमा मानिसहरु निर्वाध वारपार गरिरहेका छन् ।
विराटनगर–जोगबनी नाकामा मानिसहरूको चहलपहल पहिलेभन्दा कम देखिएपनि आवतजावत निर्वाध भइरहेको छ । सीमाका दुवैपट्टि राखिएका स्वास्थ्य सहायता कक्षमा सबैको अनिवार्य स्वास्थ्य परीक्षण गरिएको छैन । नेपाली स्वास्थ्यकर्मीले रेलबाट यात्रा गरेर आउनेहरूलाई अनिवार्य ज्वरो नाप्ने गरिएको बताए पनि को रेलबाट आएको र को हैन भनेर पहिचान गर्ने अवस्था छैन ।
विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माले नाकामा कुनै रोक र अबरोध नभएको जानकारी दिँदै भारतको सूचनाले तेस्रो देश र उसले प्रतिबन्ध लगाएका देशका पर्यटक र मानिसलाई मात्र रोकेको बताउनुभयो । जोगबनी र सीमाको बजारको जनजीवन अन्य समय जस्तै सामान्य रहेको उहाँको भनाइ छ ।
प्रदेश सरकारले विराटनगरस्थित कोशी अस्पताल, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज र धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी जम्मा २८ वटा आइसोलेसन वार्ड बनाउने घोषणा गरेको थियो । तर, कोशी अस्पतालमा ५ वटा आइसोलेसन वार्ड बनाउने घोषणा गरेको १० दिन बितेपनि वार्ड तयार भएको छैन । जसको कारण तत्काल विराटनगरमा कसैलाई कोरोना भाइरसनको आशंका लागेमा परीक्षण गर्नसक्ने अवस्था छैन ।
आइतबार बसेको प्रदेश १ को प्रदेशसभा बैठकमा सांसद गोपालचन्द्र बुढाथोकीले भाइरस संक्रमण रोक्न सीमानामा गरिएका तयारी अपूर्ण भएको बताउनुभयो । रोकथामका लागि सरकारको प्रयास बोलीमा सिमित भएको उहाँको भनाइ थियो । पर्याप्त उपकरण र स्वास्थ्यकर्मी परिचालन नगर्नु, कोरोना संक्रमणको आशंका लागेका बिरामीलाई आईसोलेसन भएको स्थानसम्म पु¥याउने व्यवस्था नहुन जस्ता समस्या देखिएको छ । यसअघि कोशी अस्पतालमा चेकजाँचको लागि आएका एक व्यक्तिलाई कोरोनाको आशंकामा थप चेकजाँचको लागि धरान पठाइएका विरामी आफैं सार्वजनिक बसे चढेर गएको सार्वजनिक भएको थियो ।
प्रदेश सभाको आइतबारको शून्य समयमा प्रदेशसभा सदस्य राजन राईले कोरोना भाइरस नियन्त्रणमा सरकारको प्रयास पर्याप्त नभएको बताउनुभयो । सरकारले तयारीमा कार्ययोजना बनाएर लागेको बताएपनि संक्रमण फैलिएको अवस्थामा विरामीको उद्धार कसरी गर्ने, उपचार कहाँ गर्ने, धेरैमा संक्रमण फैलिएमा कसरी क्वारेन्टाइनमा राख्ने भन्ने ठोस गर्न सकेको छैन ।