भारतमा कोरोना रोक्न कडाई

चार नाकाबाट मात्र आवतजावतको अनुमति/नेपाली पक्ष सूचनाबारे अन्यौलमा

विराटनगर । कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि भारतले स्थलमार्गबाट प्रवेश गर्ने सबै नाकाहरुलाई बन्द गर्ने निर्णय गरेको सूचना बाहिर आएपछि सर्बसाधारण अन्यौलमा परेका छन् ।

भारत सरकारको गृहमन्त्रालय अन्तर्गत वैदेशिक विभागको अध्यागमन शाखाले जारी गरेको सूचनामा बिहारको रक्सौल, उत्तरप्रदेशको सुनौली, उत्तराखण्डको बनबासा र पश्चिम बंगालको रानीगञ्ज (काकडभिट्टा) बाहेक सबै नाकाबाट यात्रुहरुको आवतजावत बन्द गर्न निर्देशन दिएको छ । भारतले आइतबार रातिबाट निर्देशन कार्यान्वयन हुने उल्लेख गरेको छ ।

भारतले नेपाल, बंगलादेश, भुटान र म्यानमारसँग जोडिएका नाकालाई सिमित रुपमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि भारतले सबै विदेशी नागरिकहरुका लागि पर्यटक भिसा रद्द गर्ने निर्णय गरेको थियो ।

भारतले चार देशका २० वटा सीमा नाकालाई मात्र खुला गर्ने निर्णय गर्दै ती नाकाबाट पनि प्रवेशमा कडाइ गर्ने जनाएको छ । भारतको गृह मन्त्रालयको फरेनर्स डिभिजन अन्तर्गतको अध्यागमन सेक्सनका उपसचिव समिम अहमदले शुक्रबार जारी गरेको वक्तव्यमा नाका कडाई गरिएको उल्लेख छ । नेपालसहित भुटानका नागरिकलाई पनि भारत प्रवेशमा रोक नलगाएको भएपनि बनबासा–भिमदत्त महेन्द्रनगर खण्ड, सुनौली–बेलहिया खण्ड, रक्सौल–वीरगंज खण्ड र रानिगंज–काँकडभिट्टा नाकाबाट मात्र नेपालीहरु भारत प्रवेश गर्न पाउने जनाइएको छ ।

भारतको सूचना अनुसार प्रदेश १ को सबैभन्दा ठूलो जोगवनी नाकाबाट यात्रुहरुको अवतजावत आइतबार रातिबाट बन्द हुनेछ । तर, यसबारे नेपाल पक्षलाई औपचारिक जानकारी आइसकेको छैन । मोरङका प्रमुख जिल्ला अधिकारी मनोज भुजेलले भारतले जारी गरेको आन्तरिक निर्देशन नेपालको हकमा नभएको बताउनुभएको छ । ‘यो नेपालीहरुको हकमा लागू हुने मैले बुझेको छैन, प्रजिअ भुजेलले भन्नुभयो ‘मैले दिउँसो अररिया जिल्लाका समकक्षीसँग पनि जानकारी लिने प्रयास गरेको थिएँ त्यहाँबाट पनि नेपालको हकमा लागु नहुने जानकारी आएको छ ।’

दुवैतर्फ स्वास्थ्य परीक्षणको उचित प्रवन्ध गर्ने र चेक पोष्टहरुमा त्यसमा थप कडाई गर्ने काम भने हुनसक्ने भुजेलले जानकारी दिनुभयो । विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले पनि यात्रुहरुको आवतजावत बन्द हुनेबारे कुनै थप जानकारी नआएको बताउनुभएको छ । ‘यात्रुको विषय भन्सारसँग सम्वन्धित छैन तर पनि अहिलेसम्म हामीलाई त्यस विषयमा कुनै औपचारिक निर्देशन वा जानकारी आएको छैन’ उहाँले भन्नुभयो ।

भारतको गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा भने नेपाल र भुटानका सीमा नाकाहरूका सन्दर्भमा हवाईमाध्यमबाट वा उल्लेखित नाकाहरूको एकीकृत जाँचबाट आवागमनमा केही प्रभाव नपार्ने उल्लेख गरिएको छ । त्यसबाहेक अन्य तेस्रोम मुलकका नागरिकलाई भने प्रवेश अनुमति दिनेछैन । नाकाहरुमा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि उल्लेख छ ।

भारतले भारतले बंगलादेश–भारत यात्रु रेल तथा सबै बसहरुलाई अर्को सूचना नआउँदासम्मका लागि बन्द गरेको छ । त्यस्तै भारत प्रवेश गर्ने नेपाली र भुटानीहरुको स्वास्थ्य परीक्षण गरिनेछ ।

भारतले हालै इटाली, इरान, चीन, स्पेन, फ्रान्स, जर्मनी र दक्षिण कोरिया भ्रमण गरेका व्यक्तिहरुलाई भने क्वारेन्टाइनमा राख्ने जनाएको छ । बंगलादेश र म्यानमारका नाकाबाट त्यहाँका नागरिकको आवागमनलाई भने भारत सरकारले पूर्ण रुपमा बन्देज लगाएको छ । सीमा क्षेत्रका बजारमा पनि विदेशीहरुलाई पनि प्रवेश बन्देज गरिएको छ ।

मानिसहरुको आवतजावत तत्कालका लागि बन्द गरिएको छ । तर, कार्गो (सामान) को ढुवानी भने यसअघिकै व्यवस्थाअनुसार सबै नाकाबाट सुचारु रहने बताइएको छ ।

सीमा जोडिएको युपीमा कोरोना
नेपालसँग सीमा जोडिएका भारतीय राज्यमध्ये अहिलेसम्म उत्तर प्रदेशमा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म युपीमा १२ जनामा संक्रमण भेटिएकोमा ११ जना भारतीय र एक विदेशी हुन् ।

बिहारमा उच्च सतर्कता
बिहारका सबै सरकारी तथा निजी स्कूल, कलेज तथा सिनेमा हल, पार्क, चिडियाखाना, संग्राहालयलगायत सार्वजनिक स्थल ३१ मार्चसम्मका लागि बन्द भएका छन् । शुक्रबार मुख्यमन्त्री नीतिश कुमारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

बिहार राज्यअन्तर्गत सबै ३८ जिल्लाका मेडिकल कलेज र अस्पतालमा ‘आइसोलेसन वार्ड’ छ । अहिलेसम्म शंकास्पद १ सय ४४ जनालाई आइसोलेसनमा राखिएको छ । यसमध्ये ७३ जनाले आफ्नो १४ दिने क्वारेन्टाइन अवधि पुरा गर्दा संक्रमण भेटिएको छैन ।

सिक्किममा आन्तरिक पर्यटनमा रोक
सिक्किम राज्यअन्तर्गत उत्तरी क्षेत्रका दुई स्थानीय निकाय सिक्किम लाचेन जुम्सा र लाचुङ जुम्साले भारतकै अन्य राज्यका नागरिकमाथि भ्रमण प्रतिबन्ध लगाएका छन् । अप्रिल १५ सम्मका लागि अन्य राज्यका पर्यटकलाई रोक लगाइएको हो । कञ्चनजंगा हिमालको फेदीमा रहेको लाचेन सिक्किमको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एक हो ।

बंगालमा शैक्षिक संस्था बन्द
पश्चिम बंगाल र उत्तराखण्डमा पनि कोरोनाका संक्रमित भेटिएका छैनन् । तर, संक्रमण फैलनसक्ने त्रासका कारण यी राज्यअन्तर्गत नेपालसँग सीमा जोडिएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ । पश्चिम बंगालमा सबै शैक्षिक संस्था ३१ मार्चसम्मका लागि बन्द भएका छन् ।

आइतबार, ०२ चैत, २०७६, बिहानको ०८:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर