विराटनगर । कोरोना भाइरसको जोखिम बढेसँगै बजारमा सेनिटाइजस र मास्कको अभाब भएको छ । बजारमा रहेको अभाब हटाउनेगगरी विराटनगरमै ह्याण्ड सेनिटाइजर उत्पादनको तयारी उद्यमीहरुले गरेका छन् ।
उद्योगी घरानाहरुको लगानी रहेको साबुन, सर्फ र केमिलक उत्पादन गर्दै आएको हिमगिरी शोप इण्डष्ट्रिज प्रा.लि.ले सेनिटाइजर पनि उत्पादन गर्ने भएको हो । मोरङको बुढिगंगा गाउँपालिकामा रहेको हिमगिरीले नयाँ प्लान्टबाट सेनिटाइजरको परीक्षण उत्पादन गरी नियमित उत्पादन सुरु गर्न कानूनी प्रक्रिया अगाडि बढाएको हो । अहिले उद्योग विभागबाट उत्पादन अनुमति लिने प्रक्रिया अगाडि बढाएको कम्पनीले केही अनुमति पाउनसाथ नियमित उत्पादन थाल्ने जनाएको छ ।
हिमगिरी शोपका सञ्चालक उद्योगी महेश जाजुले सेनिटाइजरको परीक्षण उत्पादन सफल भएको जानकारी दिँदै उत्पादन अनुमति पाउनसाथ उत्पादनलाई बजारमा लगिने जानकारी दिनुभयो । हिमगिरीले दैनिक ५० हजार बोतल सेनिटाइजर उत्पादन गर्नेगरी प्लान्ट स्थापना गरेको जनाएको छ ।
हिमगिरीका अर्का सञ्चालक प्रकाश मुन्दडाका अनुसार अहिलेको अभाब हल गर्नेगरी उद्योग सञ्चालन हुनेछ । उहाँले भन्नुभयो ‘हामीले दैनिक ५० हजार बोत्तल सेनिटाइजर उत्पादन गर्ने गरी उद्योग स्थापना गरेका छौं र परीक्षण उत्पादन सफल भइसकेको छ, केही प्रक्रिया पुरा गरेर उत्पादन बजारमा लैजाने तयारीमा छौं ।’
सेनिटाइजर उत्पादन प्रक्रिया अगाडि बढाएको उद्योगलाई कच्चा पदार्थ आयातमा भने समस्या भएको छ । सेनिटाइजरको प्रमुख कच्चा पदार्थ इथाइल अल्कोहल अहिलेसम्म लिकर्स (मदिरा उद्योग)ले मात्र आयात गर्ने गरेका छन् । त्यसबाहेकका उद्योगहरुले इथाइल अल्कोहल ल्याउने गरेको नपाइएकोले कच्चा पदार्थ आयात अनुमति दिन सरकारी नियकायले केही समय लिएको उद्योगले जनाएको छ ।
नेपाली बजारको अधिकांश हिस्सा भारतमा उत्पादित सेनिटाइजरले ओगटेको छ । भारतबाट तयारी बस्तु आयात भइरहेको तर नेपालमा उत्पादन गर्न कच्चा पदार्थ ल्याउन सरकारले संशय राख्नुपर्ने अवस्था नरहेको भनाई उद्योगीहरुको छ ।
इथाइल अल्कोहल आयात गर्ने अनुमति पाइनसकेको अवस्थामा उद्योगले खुद्रा बजारबाट थोरै परिमाणमा कच्चा पदार्थ मगाएर उत्पादन परीक्षण गरेको थियो । कच्चा पदार्थ ल्याउने अनुमति पाएपछि एक हप्ताभित्रै उत्पादन थाल्ने गरी हिमगिरीले काम अघि बढाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न हात धुने र पानी नभएको अवस्थामा हेण्ड सेनिटाइजर प्रयोग गर्न सकिने सुझावसँगै भारतमा समेत सेनिटाइजरको खपत बढेको छ । भारतीय कम्पनीहरुको उत्पादन भारतमै खपत हुन थालेपछि नेपाली बजारमा अभाव भएको व्यवसायीहरुले बताएका छन् । बजारमा अभाव भएको अवस्थालाई अवसरको रुपमा लिँदै विराटनगरका उद्योगीहरुले नयाँ उत्पादन थाल्न लागेका हुन् ।
सेनिटाइजरमा इथाइल अल्कोहलको मात्रा ५० प्रतिशत भन्दा बढी हुन्छ । त्यसबाहेक ग्लिसिरिन लगायतका तत्व पनि मिसाइन्छ । सेनिटाइजरको प्रयोगले हातमा रहेको ९९.९ प्रतिशत ब्याक्टेरिया मार्ने भएकोले सुरक्षित मानिन्छ ।
नेपाल बजारमा डाबर, एस्योर, लाइफब्याय, पतन्जली र हाइलाइड ब्राण्डका सेनिटाइजरहरु उपलव्ध छन् । सेनिटाइजरतर्फ नेपाली उत्पादन भने देखिएको छैन । हिमगिरी सोपले अरा(ब्गचब) ब्राण्डको सेनिटाइजर बजारमा ल्याउने तयारी गरेको हो ।