कोरोना विरुद्ध सचेत गराउँदै बुढिगंगा

विराटनगर । कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले मोरङको बुढिगंगा गाउँपालिकाले पूर्वतयारीका कार्यक्रमहरु अगाडि बढाएको छ । गाउँघरमा कुनै शंकास्पद विरामी भेटिएमा तत्काल स्वास्थ्य संस्थामा जानकारी गराउन गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्नेगरी आइतबार उनीहरुलाई प्रशिक्षणसमेत दिएको छ ।

गाउँपालिकाले शनिबार र आइतबार समाजका विभिन्न सरोकारवाला संस्था र निकायका प्रतिनिधिहरुलाई कोरोना संक्रमण फैलिएको अवस्थामा कसरी उपचार पाउने, रोग फैलिन नदिन के गर्ने र बिरामीको पहिचान कसरी गर्ने भन्ने विषयमा अभिमुखिकरण गराएको थियो । गाउँपालिकाले स्थानीय स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, विद्यालयका शिक्षकहरु, अभिभावक तथा जनप्रतिनिधिहरुलाई रोगको बारेमा जानकारी गराएको छ ।

आइतबार मोरङ सहकारी अस्पतालका डा.बालकृष्ण साहले सहभागीहरुलाई कोरोना भाइरस र यसको संक्रमबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जानकारी दिनुभयो । उहाँले कोरोना अन्य मौसमी भाइरस जस्तै भएपनि यो तीब्र गतिमा संक्रमण हुने भएकोले त्यसबाट सुरक्षित रहनुपर्ने बताउनुभयो ।

कोरोना नयाँ भाइरस भएको र करिब ३ महिना अगाडि पहिचान भएकोले यसका बारेमा धेरै तथ्यहरु पत्ता लाग्न बाँकी रहेको डा.साहले बताउनुभयो । उहाँले समाजमा विभिन्न हल्ला भ्रमहरु रहेको भन्दै प्रमाणित तथ्यमा आधारित रहेर रोगको विषयमा समाजलाई सूचित गराउनुपर्ने बताउनुभयो । महिला स्वास्थय स्वयंसेविकाहरुले रोगका लक्षण र रोकथामको उपाय तथा उपचारको विषयमा समुदायलाई यथार्थ जानकारी गराउनु अनिवार्य रहेको सुझाव दिएका थिए ।

हावाको माध्यमबाट नसर्ने भएकोले शरीरको सफाई तथा आनिवानीमा ध्यान दिनसके यो रोग फैलिनबाट रोक्न सकिने डा.साहले बताउनुभयो । कोरोना भाइरस तरल थोपामा आश्रित रहने भएकोले बोल्दा थुक नउछिट्याउने, खुलारुपमा र हातले छोपेर हाछ्युँ नगर्ने, साबुन पानीले मिचिमिची हात धुने आदि तरिका अवलम्बन गर्दा रोग सर्ने सम्भावना न्यून हुने उहाँले जानकारी दिनुभयो । डा. साहले गाउँघरमा कुनै शंकास्पद बिरामी भेटिए तत्काल स्वास्थ्य संस्था वा सम्वन्धित निकायमा खवर गर्न विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकाहरुलाई आग्रह गर्नुभयो ।

संक्रमित बिरामीले बाहेक अरुले मास्क लगाउन जरुरी नभएको भन्दै डा.साहले मास्क लगाउने व्यक्ति रोग संक्रमणको उच्च जोखिममा रहने दावी गर्नुभयो । यो भाइरस तरल पदार्थमा आश्रित हुने भएकोले हातको माध्यमबाट सर्ने सम्भावना धेरै हुने र मास्क मिलाउने नाममा पटक–पटक मुखमा छोइने भएकोले संक्रमणको जोखिम उच्च हुने उहाँको भनाइ छ ।

बुढिगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले रोगको बारेमा सबै नयाँ भएको र जनतालाई जानकारी दिन सचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो । उहाँले कहिकतैं शंकास्पद बिरामी भेटिएको खण्डमा तत्काल स्वास्थ्य संस्थासम्म ल्याउनका लागि सूचना संयन्त्र बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

बुढिगंगा गाउँपालिकाका लेखा अधिकृत अनुज प्याकुरेलले रोग पहिचान, रोकथाम र पूर्व तयारीका लागि गाउँपालिकाले आफ्नो स्रोतको उचित प्रयोग गर्ने जानकारी दिनुभएको छ ।

आइतबार, २५ फागुन, २०७६, रातीको ११:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर