महिला सशक्तिकरण र स्वास्थ्य

आजको बदलिंदो परिवेशमा हाम्रो समाजमा हामी फरक प्रकृतिबाट जीवन निर्वाह गर्दै आईरहेका छौं । विशेषतः हाम्रो खानपान, रहन सहन र कामको प्रकृतिले गर्दा हाम्रो जीवन शैली मानसिक, शारीरिक तथा आध्यात्मिक स्वास्थ्यमा नकारात्मक तरिकाले अगाडि बढीरहेको अनुभूति हुन्छ ।

उल्लेखित जीवनशैलीले हाम्रो जीवनमा पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गरी स्वस्थ जीवन बाँच्न सक्नुनै आजको मुख्य आवश्यकता हो जस्तो मलाई लाग्छ । मानसिक, शारीरिक र आध्यात्मिक जीवनशैली स्वस्थ भएमा मानिस स्वस्थ मात्र नभई सफल र समृद्ध पनि हुन्छ ।

विशेषतः महिलाहरुको यस क्षेत्रमा अझसम्म पनि सरल र सहज पहुँच हुन सकेको छैन । हाम्रो परम्परा, संस्कृति र रितिरिवाजले गर्दा महिलाहरु उत्पीडित नै रहेका छन् । फलतः स्वस्थ जीवनशैली निर्वाह गर्न नसकिरहेको अवस्था विद्यमान छ । हाम्रोे समाजमा एक्काईसौं शताब्दीमा पनि दाईजो प्रथा, बोक्सीको नाममा हुने ज्यादती, छाउपडी जस्ता कुरितिलाई हटाएर महिलामाथि हुने विभेदको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न सक्नु पर्दछ ।

यसका लागि राज्यमा शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, धार्मिकलगायत विकासका अन्य आयामहरुमा महिलाहरुको सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका भई नारी सशक्तीकरणको अनुभूती हुने किसिमले सामाजिक रुपान्तरण हुन जरुरी छ । आमा, दिदी–बहिनी, श्रीमान्को आधा अंङ्ग श्रीमती यी सबै नारीपात्र हुन् । यिनै नारीहरुको माया, ममता र स्नेहमा पुरुष जीवनमा गतिशिलता प्राप्त भई समाज क्रियाशील हुन्छ । आज अन्तर्राष्ट्रिय नारी दिवस भएकाले महिला सशक्तिकरण सम्बन्धमा विश्वभर कार्यक्रमहरु हुने गरेका छन् । जति नै कार्यक्रमहरु भए ÷ गरेतापनि जबसम्म नारी–पुरुषबिच पूर्ण रुपमा समान अस्तित्व कायम हुँदैन तबसम्म समुन्नत समाजको कल्पना गर्न सकिदैन जस्तो मलाई लाग्दछ ।

विद्यमान ऐन, कानूनमा महिला स्वास्थ्य सम्बन्धमा केही हदसम्म व्यवस्था भएता पनि सामाजिक संरचनाले तोकिदिएको महिला–पुरुषबिचको बिरोधाभाष परिधि, सीमा अनि समानताको दुरीलाई हटाएर समृद्ध एवं समुन्नत समाजको निर्माण हुने कुरामा म विश्वस्त छु ।

अन्त्यमा महिला सशक्तिकरण तबमात्र सम्भव छ, जबसम्म हरेक महिला मानसिक, शारीरिक र आध्यात्मिक रुपमा स्वस्थ हुन सक्छन् । अतः महिलालाई स्वास्थ बनाउन र स्वस्थ राख्नमा हामी सबै सचेत र जागरुक हुनु अपरिहार्य छ । अन्तर्राष्ट्रिय महिला दिवस २०७६ को उपलक्ष्यमा सम्पूर्ण आमा, दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

लेखक न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलकी कार्यकारी निर्देशक हुन् ।

आइतबार, २५ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर