कोरोनाबारे हल्ला र प्रचारबाजीको पछाडि नलागौं: गृह मन्त्रालय
विराटनगर । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहँदा नेपालमा पनि यसबारे सचेत रहन गृह मन्त्रालयले आग्रह गर्दै हल्ला र प्रचारबाजीको पछि नलाग्न आह्वान गरेको छ ।
शनिबार गृह मन्त्रालयले सूचना जारी गरेर कोरोनाबारे भ्रमपूर्ण समाचारको पछि नलाग्न सचेत गराएको हो। गृहका अनुसार हालमा नेपालमा कोभिड(१९ संक्रमण भएका व्यक्तिहरू पत्ता लागेको छैन र यसको प्रसार समुदायमा भएको अवस्था पनि छैन । ‘यस सम्बन्धमा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडि नलागौं’, गृहले जारी गरेको सूचनामा भनिएको छ।
कोरोनाबारे अनावश्यक भ्रम फैलाएर उपभोग्य वस्तु कालोबजारी नगर्न गृहको सुझाव छ। यदि कहीँकतै त्यस्तो भेटिए सम्बन्धित निकायमा खबर गर्नसमेत गृहल भनेको छ। साथै, बढी भीडभाड हुने स्थानमा नजान गृहले सुझाएको छ।
कोरोनाबारे थाहा पाउनुपर्ने तथ्य
कोरोना भाइरस अहिले दुनियाँका ८० भन्दा बढी देशमा फैलिएको छ। गत डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिन सुरू भएको यो भाइरसले शुक्रबारसम्म ३ हजार ३ सय ८३ मानिसको ज्यान लिएको छ। ९७ हजार ९ सय ३३ जना संक्रमित छन्। ठूलो मात्रामा संक्रमण फैलिएका चीन, दक्षिण कोरिया, इरान, इटालीजस्ता देशले यसलाई कसरी रोक्ने र थप फैलिन नदिने भन्नेमा आफ्नो ध्यान केन्द्रीत गरेका छन्।
नेपालजस्ता संक्रमण नदेखिएका देशले यो भाइरस आउनै नदिन चाल्नु पर्ने कदम चालिरहेका छन्। तै पनि भाइरस तीव्र गतिमा फैलिरहेको छ। कोभिड(१९ नाम दिइएको भाइरसबारे डाक्टर र वैज्ञानिकहरूले धेरै कुरा अझै थाहा पाएका छैनन्, कतिपय कुरा अध्ययनकै क्रममा छन्। खाएपछि निको भइहाल्ने कुनै औषधी बनिनसकेकोले र पर्याप्त सूचनाको अभावमा धेरै मानिस कोरोनाको डरले त्रसित छन् ।
– भाइरस खतरनाक छ । तर, यसको संक्रमण भएपछि मान्छेको मृत्यु नै हुन्छ भन्ने होइन। संक्रमण भएकामध्ये ३.४ प्रतिशत बिरामीको मात्र मृत्यु भएको छ।
– कम उमेरका बालबच्चा वा वयस्कलाई यो भाइरसले कम प्रभाव पारेको छ।
– कोरोना भाइरसलाई यात्रा गर्न कुनै माध्यम चाहिन्छ। जस्तो हाँछ्यु गर्दा, खोक्दा वा बोल्दा हाम्रो शरीरबाट निस्कने थुक, र्याल आदिमा चढेर यो बाहिर निस्कन्छ र सिधै अर्को मानिसको नाक, मुख र आँखामा नपरेसम्म यो शरिरभित्र पस्न सक्दैन।
– कोरोना भाइरसले मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हो। धेरै उमेर भएका, रोग प्रतिरक्षा प्रणाली कमजोर भएका, डायबेटिजलगायत अन्य रोगसँग लडिरहेका मानिसले कोरोनासँग अझै बढी सचेत हुनुपर्छ।
– कोरोना भाइरसबाट जोगिने सबैभन्दा महत्वपुर्ण उपाय हातले अनुहार नछुनु हो। जबसम्म यो भाइरस हाम्रो आँखा, नाक र मुखमा पर्दैन, तबसम्म यो शरिरभित्र छिर्न सक्दैन।
– जतिसक्यो धेरै हात धुनुपर्छ। किनकी तपाईं संक्रमित व्यक्तिको नजिक हुनुहुन्न भने पनि तपाईंको हातमा कोरोना भाइरस आउन सक्छ।संक्रमित मानिसले हाँछ्यु गरेर, खोकेर वा अरू कुनै माध्यमले भाइरस छोडेको हुनसक्छ। त्यही ठाउँमा तपाईंहको हात पर्यो भने भाइरस हातमा आउँछ।
– यो मानिसको शरिरबाहिर पनि ९ दिनसम्म बाँच्नसक्छ। त्यसैले सचेत हुनुपर्छ । हात मिलाउनुको साटो नमस्कार गर्नुपर्छ ।
– कोरोना भाइरस हावाका माध्यमबाट मात्र सर्न नसक्ने भएकाले मास्क लगाउनु आफैंमा महत्वपूर्ण छैन। संक्रमित व्यक्तिबाट भाइरस बोकेका थुक, खकार र र्यालका छिटा तपाईंको नाकमुखमा पर्न नदिन यसले रोक्छ । संक्रमितले मास्क प्रयोग गर्नुपर्छ ।
– सबै रूघाखोकी वा ज्वरो कोरोना भाइरसकै कारण हैन । मौसमी रूघाखोकी देखिन सक्छ। त्यस्तोबेला आत्तिनु हुँदैन। अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ।
– कोरोना भाइरसको संक्रमण भइहालेछ भने पनि अस्पतालमा केही दिनको उपचारपछि निको हुन्छ। धेरै विरामी उपचारपछि ठिक भएर घर फर्केका छन् ।