‘उपमेयर ज्यूसँग मेरा केही जिज्ञासाहरु छन्’, प्रदेश राजधानी विराटगनरस्थित आर्थिक मामिला तथा योजना मन्त्रालयको ‘वेटिङ’ हलमा केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बू बोल्नुभयो । लिम्बुको जिज्ञासा ताप्लेजुङ्गको फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई(तारा)लाई लक्षित थियो । मन्त्रालयमा उहाँहरुबीचको भेट संयोगले भएको हो । लिम्बुले भेटलाई अनुभव साट्ने अवसरमा बदल्नुभयो ।
प्रदेश १ का ४९ वटा नगरपालिकामध्येका भट्टराई एक्ला उपप्रमुख हुनुहुन्छ । उपप्रमुख पद महिलाका लागि हो भनेर बुझ्नेको संख्या उल्लेख्य छ । त्यो भीडमा बमबहादुर अपवाद देखिनुहुन्छ ।
गाउँपालिका तर्फ पनि त्यस्तै अपवाद छ । झापाको कमल गाउँपालिकाका अध्यक्ष महिला हुनुहुन्छ । एक्ली महिला अध्यक्षसँगको अनुभूति सुनिसक्नुभएका लिम्बु एक्ला पुरुष उपप्रमुखको अनुभूति जान्न चाहनुहुन्थ्यो । उहाँहरुबीचको रोचक कुराकानीले अरु स्रोतलाई पनि उत्सुक बनाइरहेको थियो । लिम्बुले जिज्ञासाहरु राख्नुभयो । भट्टराईले पनि खुलेर जवाफ दिनुभयो । भट्टराईका पनि जिज्ञासाहरु थिए । लिम्बूले समााधान गर्नुभयो । कुराकानी रमाइलो थियो । अनुमति लिएर रेकर्ड गरिएको उहाँहरुबीचको त्यो रमाइलो कुराकानी विस्तारमा प्रस्तुत गरिएको छः
लिम्बू : तपाई उपप्रमुख हुनुहुन्छ तर पुरुष हुनुहुन्छ । प्रमुखहरुले जिम्मेवारी बाँडफाड गर्दा विभेद गरेको गुनासो महिला उपप्रमुखहरुले गर्ने गर्नुहुन्छ । तपाईले विभेदको अनुभूति गर्नुपरेको छ कि छैन ?
भट्टराई : १ नम्बर प्रदेशका ४९ नगरपालिकामा म मात्र पुरुष उपप्रमुख हुँ । ४८ जना उपप्रमुख दिदीबहिनी नै हुनुहुन्छ । प्रदेश १ मा ७८ गाउँपालिका छन् । ती गाउँपालिकामध्ये ४ वटामा पुरुष उपप्रमुख छन् । नगरपालिकामा महिलाहरु प्रमुख पदमा छैनन् । झापाको कमल गाउँपालिकाका मेनुका काफ्लेजी एकमात्र अध्यक्ष हुनुहुन्छ । मेरो प्रमुख पुरुष नै हुनुहुन्छ । हामी दुई जना पुरुष छौं । प्रमुखसँग मेरो अहिलेसम्म मनमुटाव भएको छैन । प्रमुख र उपप्रमुख घनिष्ट छन् भनेर अरुले पनि कुरा गर्ने गरेका छन् । पहिलो कुरा त हामीले के जान्नु पर्छ भने आफ्नो अधिकार क्षेत्र के हो भनेर बुझ्नु पर्छ र स्वअध्ययन पनि गर्नुपर्छ । प्रमुख र उपप्रमुखको अधिकार क्षेत्र कानूनले स्पष्ट गरिदिएको छ । प्रमुख संयोजक भई काम गर्ने अधिकार भएकोमा उहाँ संयोजक र कतिपयमा सदस्य तथा कतिपयमा सदस्य पनि हुँदैनौं । उपप्रमुख संयोजक भई काम गर्ने भनि उल्लेख भएको अधिकार क्षेत्र अन्तर्गत बनेका समितिहरुमा म संयोजक भई प्रमुखलाई आमन्त्रित सदस्यको रुपमा राखेर काम गर्ने गरेका छौं । अहिलेसम्म हामी दुबै जना अधिकार र कार्यक्षेत्रमा स्पष्ट भएकोले समस्या आएको छैन । तर, कतिपय ठाउँमा उपप्रमुखले आफ्ना अधिकार क्षेत्र र विषय नबुझ्ने र प्रमुखको अधिकार क्षेत्रसमेत मिचेर कार्यपालिकामा प्रस्ताव लैजाने गरेका कारण विवाद हुने गरेको देखिएको छ । त्यो गलत हो । हाम्रो आफ्नो अधिकार क्षेत्र छ नि त त्यो बुझ्नु पर्छ ।
भट्टराई : केराबारीमा चाही के छ ?
लिम्बूः सुरुमा मैले उपाध्यक्षको काम कर्तव्य र अधिकारको विषय राम्ररी पढें । हामीले पनि मिलाएरै काम गरिरहेकै छौं । अन्यत्रको जस्तो त छैन तर कतिपय अन्तरविरोध त छन् । केराबारीमा कार्यपालिकामा नेकपाको बहुमत छ । तर, हामीले बहुमतको दम्भ देखाएका छैनौं । अधिकार प्रयोग गर्दा कहिलेकाही दवाव दिन खोजेजस्तो बुझ्छु तर मिलाएरै चलिरहेका छौं ।
लिम्बू : तपाईहरु दुवै पुरुष भएकोले अलि सजिलो भएको होला हैन ?
भट्टराई : दुवै पुरुष भएपनि हामी मिलेरै काम गरिरहेका छौं । महिला र पुरुष भएपनि मिल्नु परिहाल्छ । पुरुष भएकै कारणले मात्र मिलेको जस्तो त लाग्दैन । मैले सुन्दा अन्यत्र कतिपय ठाउँमा बजेट नै प्रमुखले पढिदिने, योजना तर्जुमा पनि आफैं गर्ने, अनुगमन र मुद्दामामिला पनि आफैं गर्न खोज्ने गर्दा समस्या आएको हो जस्तो लाग्छ । हाम्रोमा भने अधिकार क्षेत्र सकेसम्म हस्तक्षेप गर्दैनौं । त्यसैले पनि विवाद र समस्या आएको छैन ।
लिम्बू : तपाई उपमेयर अनि पुरुष प्रश्नहरु कति आउँछन् ? मानिसहरुले के भन्छन् ?
भट्टराई : धेरैजना दिदीबहिनीले मलाई झट्ट हेर्दा यो मेयर नै होला जस्तो सोच्छन् । म पनि बेलाबेलामा मेयर नै हो कि जस्तो लाग्छ । हुन पनि हो ४९ जनामा म एक जनामात्र पुरुष छु । फिलिङ्स त मलाई हुन्छ । भेला बैठकहरुमा जाँदा म पनि तारा भट्टराई भनेर परिचय दिन्छु । चिन्ने नाम पनि महिलाकै जस्तो छ । नाम सुन्दा पनि महिला नै हो कि भन्ने भ्रमसमेत परेको पाउँछु, कतिपय बेलामा । अलिअलि अप्ठ्यारो लाग्छ । एउटा के चाँही भेट्टु भने मेयरले आफूलाई डोमिनेट गरेको जस्तो अनुभूति केही उपप्रमुखहरुले गरेको जस्तो, केही नमिलेको जस्तो र समस्या परेको जस्तो चैं दिदीबहिनीहरुले गर्ने गरेको मैले पाएको छु ।
लिम्बू : उहाँको कुरा सुन्दा महिला र पुरुष भएको ठाउँमा मानिसहरुले पुरुषलाई भन्न नसक्ने, महिलाहरु कमजोर नै छन् भन्ने मानिसहरुको सोचाईले गर्दा केही विभेद भएको अनुभूति हुने गरेको देखिन्छ ।
भट्टराई : दिदीको कुरा अनुसार केही समस्या त छ । कतिपय कार्यकारी प्रमुखहरुको भूमिकाले पनि केही समस्या आउने गरेको हो जस्तो लाग्छ । प्रमुख प्रशासकीय अधिकृतहरुले पनि पुरुष प्रमुख वा उपप्रमुख भएतिरै बढी समय दिने, सल्लाह पनि उनीहरुसँगै बढी लिने गर्दा पनि विभेदको अनुभूति भएको हुनसक्छ । तर, मेरो हकमा भने त्यस्तो छैन । हामी दुवै पुरुष छौं । म उपप्रमुख हुँदाहुँदै पनि मेरो अधिकार क्षेत्रसँग सम्वन्धित विषयमा मसँग सल्लाह गर्ने, मेरो योजना कार्यान्वयन गराउने सवालमा प्रमुख प्रशासकीय अधिकृतहरु बरोबर छलफलमा बस्नुहुन्छ । महिला उपप्रमुख भएको ठाउँमा भने केही भिन्न व्यवहार छ भन्ने मेरो पनि अनुभूति हो ।
भट्टराईः उपप्रमुखको रुपमा महिलाहरुको समूहमा थोरै पुरुष देख्दा तपाईहरुको अनुभूति चाही कस्तो हुन्छ सुनौं न ?
लिम्बू : डेढ वर्ष अगाडि विराटनगरमा न्यायिक समितिको बैठक भएको थियो । त्यतिबेला झापाको कमल गाउँपालिका र हल्दिबारी गाउँपालिकाको उपप्रमुख दुई जना उपप्रमुख सहभागी हुनुभएको थियो । पहिचय गर्ने क्रममा दुई जना पुरुष उपप्रमुख पुरुषले परिचय गर्दा हलमा उपस्थित सबै दिदीबहिनीहरु उहाँहरुतिरै फर्केर हेरे । उहाँहरुले पनि अलि फरक अनुभूति गर्नुभएको थियो । महिला उपप्रमुखहरुले पनि बिचरा के भएर पुरुषले जितेछन् भनेर कुरा गरेको सुनियो । त्यतिबेला नै मैले अनुभूति गरेकोले आज भट्टराईजीलाई भेट्टा त्यति अचम्म भने भएन ।
लिम्बू : उपप्रमुखहरुको भेला बैठकमा महिलाहरु बढी हुने भएकोले महिला अधिकारको विषय धेरै उठ्छन् होला कस्तो अनुभूति गर्नुभएको छ ?
भट्टराई : हाहाहाहा ! त्यतिबेला हामीले उचित कुराहरु र जायज कुराहरु त स्वभाविक लाग्छ । कहिले काही कताकता उपप्रमुख महिलाका लागि बनाइएको पद पो हो कि जस्तो लाग्छ । तर, कतिपय सन्दर्भमा भने बसमा यात्रा गर्दाको स्मरण हुनेगर्छ । बसमा महिला सिट, अपाङ्गता भएका व्यक्तिको सिट भनेर लेखेको देखिन्छ नि हो यस्ता भेलाहरुमा कहिले काँही चैं म कतै महिला सिटमा त बसिरहेको छैन जस्तो लाग्दो रहेछ । यद्यपी आफ्नो अधिकार क्षेत्रमा प्रष्ट भएको हुँदा त्यति धेरै समस्या र विभेदको सामना गर्नुपरेको छैन ।