कमजोर संसदीय भूमिकाः आगामी चुनौति र दायित्व

आजको राजनीतिक परिवेशमा नेकपा अत्यन्तै शक्तिशाली दल हो । साथै यो राष्ट्रिय राजनीतिको मूल प्रवाह पनि हो । जिम्मेवार सत्ताघटक दल हो । उसको काँधमा आर्थिक, सामाजिक र संस्कृतिक रुपान्तरणसहितको समृद्ध अनि सुशासनयुक्त नयाँ नेपाल निर्माण गर्ने अभिभारा छ । अनेकांै प्रतिकुलताहरुको सामना गर्दै समाजवाद हुँदै साम्यवादसम्म पुग्ने महान् लक्ष्य छ । त्यसो भएको हँुदा समाजवादसम्म पुग्ने भरपर्दो मार्गरेखा तय गर्नु नेकपाको तत्कालीन कार्यभर हो । यतिखेर पार्टीको सामु अवसर र चुनौति दुबै छन् । अवसरहरुलाई अधिकतम् रुपमा देश र जनताको पक्षमा सदुपयोग गर्दै चुनौतिलाई दृढतापूर्बक सामना गर्नु आजको आवश्यकता हो । समाजवादी यात्राको लागि संसदीय क्षेत्रको अनुशासित तथा निस्कलंक भूमिका प्रारम्भिक पूर्वाधार हो । यसको लागि सरकारका मन्त्रीलगायतका सबै जनप्रतिनिधिहरुको इमान्दारिताको खाँचो छ । गुनासोरहित आम जनस्यााबासीको अपरिहार्यता छ । तर, संसदीय क्षेत्रले जनतालाई त्यसको अनुभूति दिन सकिरहेको छैन ।

स्थानीय तहका जनप्रतिनिधिहरु आफंै ठेकेदार बनेर कमाउधन्दामा लागेको जनगुनासो सुनिदैंछ । मेयर स्काइभेटर, उपमेयर डोजर र वडाअध्यक्षहरु टिपरका मालिक भएको समाचारहरु दैनिक आउन थालेका छन् । जनप्रतिनिधिहरु ब्यक्तिगत सेवा सुबिधामा मात्र केन्द्रित भएको देखिदैंछ । यो राम्रो लक्षण हैन । यसले पार्टीको जनविश्वासमा दरार पैदा गर्छ । जनप्रतिनिधिहरुको अवस्था कुहिरोमा अल्मलिएको कागजस्तै बनेको छ । स्थानीय तह प्रभाबकारी बन्न सकेको छैन । प्रादेशिक तहहरु जनताको राजश्वमा मस्ति गर्ने अखडा जस्ता देखिन थालेका छन् । जनआवश्यकताको पहिचान र प्राथामिकतालाई व्यस्थापन गर्ने सवालमा जनप्रतिनीधिहरु अनभिज्ञ छन् । अधिकांशले पार्टीबाट निर्वाचित जनप्रतिनिधिको अनुभूतिसम्म दिन सकेका छैनन् । भ्रष्टचारको सञ्जाल झन् फस्टाउँदै गएको छ । यो अत्यन्तै दुःखद् पक्ष हो ।

प्रदेशतहको अवस्था झन् बेहाल देखिँदैछ । ब्यक्तिगत सेवा सुबिधाबाहेक पार्टीको लक्ष्यलाई उचाइमा पु¥याउने सवालमा माननीयहरु भूमिकाशुन्य देखिन्छन् । पञ्च र काँग्रेस सरकारको शैलीको निरन्तरता प्रदेश तहको दैनिकी बनिरहेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को कार्यभारसँग मेल खाने हिसाबले ठोस तथा भरपर्दो रुपका अल्पकालीन तथा दिर्घकालीन कार्ययोजना पाउन सकिएको छैन । विगतकै शैलीमा महंगा होटेलमा गोष्ठि तथा सेमिनारमा समय खेर फालिँदैछ । उद्घाटन र शिलान्यासमा अमूल्य समयलाई वर्वाद गरिदैछ । अनुगमन तथा भ्रमणका नाममा मनगडन्ते काममा बजेट दुरुपयोग गरिदैंछ । प्रदेश यस्तै कुराको निरन्तरतामा सक्रिय देखिन्छ । यसमा पार्टी गम्भीर भएर अबिलम्ब नियन्त्रण र सुधारको नीतिमा अघि बढ्नुपर्ने थियो । तर, त्यतातिरको गाम्भीर्यता पाउन सकिएको छैन ।
संघीय सरकारले केही राम्रा तथा आशालाग्दो सुचकाङ्क प्रस्तुत गरेको छ । सुन तस्करका नाइकेहरुलाई पक्रेर कार्बाही अघि बढाउने हिम्मत गरेको छ । बालुवाटार जग्गाह घोटला काण्डको सार्वजनिकिकरण गरेर कार्वाहीको थालनी गरेको छ । यातायातको सिण्डिकेटिकरणलाई तोड्ने कुराको हिम्मतका साथ थालनी गरेको छ । गुठीको नाममा हँुदै आएको माफियाकरणलाई तोड्ने प्रयास गरेको छ । राष्ट्रिय आयलाई बढाउनेलगायतका दर्जनांै जनपक्षीय कामहरुको थालनी गरेको छ । तर, दुःखका साथ भन्नुपर्छ ! जनप्रशंसनीय कामको थालनी गरेर ठोस परिणाम निकाल्नै नपाई एक्कासी पछि हट्नु परेको तिता अनुभूतिले जनता चिन्तित छन् । देश नयाँ युगको थालनीको प्रारम्भिक चरणमा छ । विगतको साशकीय कुशासनले राष्ट्रिय ढिकुटीलाई रित्तो बनाएको छ । रुपान्तरणसँग अमिल्दा बिधि–बिधानहरु छन् । कर्मचारीतन्त्र पथभ्रष्ट छ । रिझाउने र कमाउने नियतिमा उनीहरुको दैनिकी बितेको छ । यस दृष्टिकोणले हेर्दा सरकारका सामु प्रसस्तै चुनौतिका पहाडहरु छन् । सरकारले चाहेर पनि कामलाई तीब्रता दिने वातवरण तय भएको छैन । तर, सरकार यसो भनेर उम्कन सक्दैन । जनतासँग बिगतमा गरिएका प्रतिबद्धताहरुलाई व्यवहारसिद्ध गर्नैपर्छ । यो उसको दायित्व हो । दायित्वबाट पन्छने कामले पार्टीलाई नोक्सानी पु¥याउछ ।

नेकपालाई कमजोर पार्न उसलाई चारैतिरबाट प्रहार भइरहेको । यस्तो अवस्थामा पार्टी थप जिम्मेवार हुनुपर्छ । सरकार अनुशासित र इमान्दार हुनुपर्छ । नेतृत्व जिम्मेवार भएर स्वेच्छाचारी घेराबाट मुक्त हुनुपर्छ । सामूहिक तथा संस्थागत रुपबाट चल्न सक्नुपर्दछ । पार्टीमा भावनात्मक एकताको अवस्था सृजना गरिनुपर्छ । आम कार्यकर्ताले सरकार र पार्टीको पक्षमा दृढताका साथमा वकालत गर्नसक्ने वातवरण तय गरिनुपर्छ । पथभ्रष्टरहित पार्टीको अन्तरजीवन निर्माण गर्न सक्नुपर्छ । के हामी उल्लेखित कुराप्रति संवेदनशिल छौं ? उल्लेखित कुरालाई लिएर निर्भयताका साथमा नेतृत्वलाई खबरदारी गरेका छौं ? नेता र कार्यकर्ता सबैले छातीमा हात राखेर सोच्ने बेला भएको छ ।

पार्टी संक्रमणको अवस्थामा छ । एकाताका सबै कामहरु अझै टुंगिसकेका छैनन् । ‘गतिशिल, सुझबुझयुक्त अनि जुझारु संगठन र निष्ठावान कार्यकर्ता’को मान्यता धरासायी अवस्थामा छ । राजनीतिक समझदारीको नाममा भएको निर्णयलाई आधिकारिकता मान्नुपर्ने बाध्यात्क अवस्था टरिसकेको छैन । लेनिनवादी बिधिबिधानहरु निलम्बनको अवस्थामा छन् । नजिक र टाढाको सम्बन्ध अनि भनसुन तथा निगाहाले जिम्मेवारी दिने जस्ता अत्यन्तै गलत बिधिले कार्यकर्ता तह चिन्ताको अवस्थामा छन् । अन्तरजीवनको शुद्धता र संगठनको सुदृढता अहिलेको आवश्यकता हो । सक्षम, इमान्दार र नैतिक आचारणयुक्त कार्यकर्ताले मात्र संगठनलाई गतिशिल र उर्जाशिल बनाउन सक्छन् । अनि गतिशिल संगठनले मात्र सरकार र जनताबीचमा पुलको भूमिका निर्बाह गर्नसक्छ । यसको लागि योग्यता, क्षमता, निष्ठा, निरन्तरता, रचनात्मकता र ऐतिहासिकता संगालेका ब्यक्तिहरुको जरुरत छ । तर, निगाहावादी चिन्तनको ब्यापकताले निष्ठा खोपामा पसेर धनवादी र डनवादी चिन्नले संगठन कब्जा जमाएको गुनासो सुनिदैंछ । यसलाई समयमै हल गर्नु जरुरी छ ।

नेतृत्वमा विवेकशिलता, दुरदर्शिता र निष्पक्षताको जरुरत छ । उल्लेखित गुण भएन भने जनता र कार्यकर्ताले मात्र हैन, देशले नै दुर्गती भोग्नुपर्छ । नेकपाको सरकार असफल हुनु भनेको वर्गीय आन्दोलन कमजोर हुनु हो । शहिदको, जनताको बलिदान र कार्यकर्ताको जीवन र जवानीको सिञ्चितीले यतिको उचाई प्राप्त गरेको आन्दोलनलाई कमजोर पार्ने अधिकार कसैलाई छैन । यसो भयो भने इतिहासले कसैलाई छोड्दैन । यथास्थितिको निरन्तरताले पार्टी अघि बढ्न सक्दैन । यहि परिवेश र शैलीमा अघि बढ्न खोजियो भने कुनैपनि बेला कार्यकर्ताको धैर्यताको बाँध टुट्नसक्छ । त्यो दुःखद् अवस्था हो । यसले व्यक्तिलाई असर नगर्ला तर पार्टी, क्रान्ति र देशको लागि भने अभिसाप हुनेछ । अझै समय बितिकेको छैन । अहिले ताली बजाएर भोलि पछुताउनुको कुनै अर्थ छैन । सुधार या समाप्ती ? त्यो कार्यकर्ताको संवेदनशिलतामा निर्भर छ ।

बिहिबार, २२ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर