विराटनगर । प्रदेश नं. १ प्रदेशसभामा बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ ।
प्रदेशसभाको आइतबारको बैठकमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले राखेको बिधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव पारित भएपछि छलफल सुरु भएको हो ।
विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले विधेयकले बालगृह तथा बालआश्रमको विषयमा पनि बोल्नुपर्ने भन्दै विद्यालय तहमा पोषण कार्यक्रम सञ्चालन गर्न विधेयकमा व्यवस्था हुनुपर्ने माग गर्नुभयो । प्रदेशसभा सदस्य जयराम यादवले विधेयक अत्यन्त राम्रो रहेको भन्दै यसबाट बालबालिका लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य शान्ता पौडेलले तीन वर्षमुनिका बालबालिकालाई पौष्टिक आहारको व्यवस्था भएमा लक्षित वर्ग लाभान्वित हुने बताउनुभयो । बिधेयकमाथिको छलफल जारी रहेको छ ।
कोरोनाबाट बच्ने तयारी खै ?
केदार कार्की
प्रमुख सचेतक, नेपाली काँग्रेस
यो नजिकै कारागारमा बस्थ्यौं । त्यतिबेला कोही–कोही हाम्रो छेउमा बसिरहेको हुन्थ्यो । अनि को रहेछ भनेर सोध्दा अलिखित नाइके हुँदा रहेछन् । उसले चौकीदारलाई कुरा सुनाइदिने । सदनमा पनि हामीले सपथग्रहण नगरेका धेरै मन्त्री देखेका छौं । कुरा उठायो कि सपथग्रहण नगरेका मन्त्रीहरुले ठ्याईकी ठ्याई छोपिहाल्नुहुन्छ ।
प्रधानमन्त्रीले के बन्नु भन्नुभएको थियो, के भन्नुभएको थियो, ठ्याई की ठ्याँई छोपिहाल्नुहुन्छ । सपथग्रहण गरेका मन्त्रीको कामै छैन । तरपनि आज एउटा कुरा उठाउन जरुरी सम्झेको छु । म सरकारसँग एउटा माग गर्न चाहान्छु । सरकार एक टोल, एउटा गाई किनेर दिनुहोस्, बैतरणी दान गर्नका लागि । नोबेल कोरोना ‘कोभिड १९’ले विश्व आक्रान्त भइरहेको बेलामा नेपालमा नेपाल सरकारले त गरेन, गरेन । मैले सुनेको थिएँ, प्रदेश सरकारले पनि विपद् व्यवस्थापन ऐन पारित गरेको थियो । विपद् भनेको के हो ? मरेपछि ५ लाख दिने, श्रद्धाञ्जली दिने र हेलिकप्टर चढेर घुम्ने ? त्यहि हो, विपद् ? कि विपदको बैठक गरेर हामीले के गर्ने, कस्तो खालको सुरक्षा अपनाउनु पर्छ पर्छ की पर्दैन ? मलाई लाग्छ सरकारले कोरोना आयो भने सबैका घरमा बच्नका लागि रुद्री, सत्यनारायणको पूजा, गुम्वा, मन्दिरमा पूजा गर्न आग्रह गर्छ की ! त्यसकारण सरकारलाई सचेत गराउन चाहान्छु ।
र्को प्रदेशको विकासको कुरा गरेको सुनिरहेका छौं । कर्मचारी छैनन् भनेको सुन्दैछौ । अहिले हामी केही जिल्लाहरुमा गयौं, अस्पतालमा डाक्टरहरु छैनन् । अहेव छैनन् । लोकसेवा आयोग त बन्यो । लोकसेवा आयोगका सदस्यहरुलाई हामीले तलबभत्ता खुवाउन मात्र बनाएका हौं ? माथि निजामति ऐन बनेको छैन । यहाँ टुरिष्ट कर्मचारी आउने अनि कति कमाउन सकिन्छ कमाउने, दुई÷चार दिन बस्ने र काठमाडौंमा घर बनाइहाल्ने उद्देश्यले आएका छन् ।
जसले प्रदेशको विकासमा टेवा पुग्दैन । प्रदेशमा लुट्नलाई मात्र टेवा पुग्छ । हामीलाई नै प्रदेशसभामा चलाउन गाह्रो भयो । तर, सचिव नियुक्त गरेपछि अलिकति सजिलो भयो । त्यसैले प्रदेश सरकारलाई कम्तिमा केन्द्रीय सरकारसँग गएर रुनुहोस्, यहाँ नरुनुहोस् । केन्द्रीय सरकारसँग रोएर हामीलाई कर्मचारी चाहियो, हामीलाई प्रदेशको विकास गर्ने जनशक्ति चाहियो भनेर भन्नुहोस् भन्ने आग्रह गर्दछु ।
पुल बनाईदिनुपरो
ज्योति सुब्बा
प्रदेशसभा सदस्य, सुनसरी
धरानबाट आउने पिपलचोक, प्रगति चोक, याम्चा हुँदै बिमिरे वडा नम्बर ५ र ६ मा वर्षात्मा आउन धेरै कठिन हुन्छ । कारण त्यहाँको डाँडे खोला छ । त्यहाँका जनताहरु आवतजावत गर्न नसक्दा धेरै पीडित हुन्छन् । त्यहाँ एउटा पुलको आवश्यकता छ । त्यहाँ पुल बनाइदिनुहुन म सरकारसँग अनुरोध गर्दछु ।
बाटो छिटो बनोस्
बसन्ती यादव
प्रदेशसभा सदस्य, मोरङ
यो विराटनगर महानगरभित्र विराटनगरबाट जोगवनी जाने बाटोको बारेमा पहिले पनि कुरा उठाएको थिएँ । तर, त्यो १२ र १३ नम्बर वडाको बीचको बाटो हो । जबकी दुवैतर्फ बाटो बनिसकेको छ, त्यहाँ किन बन्दैन ? जसरी पनि बाटो बनाउनुपर्छ । सरकारले ध्यान दिनुपर्छ । स्थानीयले जनप्रतिनधिको नाताले धेरै घच्घच्याउनु हुन्छ । त्यसैले मैले पुनः कुरा राखेको छु ।
मुख्यमन्त्रीको जवाफ चाहियो
बिष्णु तुम्बाहाम्फे
प्रदेशसभा सदस्य
जति पनि हामीले शुन्य समयमा कुरा उठाएका छौं, मैले जवाफ भने पाएको छैन । सम्बन्धित सरकारबाट र स्पेशल मुख्यमन्त्रीबाट जवाफ पाउनुपर्छ भन्ने कुरा राख्छु । मैले केही योजनाको बारेमा थोरै कुरा राख्छु । यो आर्थिक वर्ष सुरु भएको ८ महिना बितिसकेको छ । चार महिना बाँकी छ । ८ महिना बितिसक्दा पनि ३० प्रतिशत पनि बजेट किन खर्च हुन सकेको छैन । यदि कानून अभावमा खर्च हुन नसकेको हो भने बजेट खर्च सम्बन्धि कानून प्राथमिकतामा राखेर बनाउनुपर्छ ।
प्रदेशको चालु वर्षको बजेटमा धरान–मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने भन्ने उल्लेख थियो । त्यसको अध्ययन गरेर डिपिआर तयार पार्नुपर्छ । सुरुङ मार्गले ३० किलोमिटर दुरी छोटिन्छ । उक्त सुरुङ मार्गले बहुआयामिक फाइदा गर्छ । पर्यटन प्रवद्र्धन, समय बचत, मूल्यवृद्धि नियन्त्रण, दाहसंस्कार गर्न जानेहरुलाई पनि फाइदा पुग्छ । ताप्लेजुङदेखि प्रदेश राजधानी विराटनगरसम्मको यात्रामा पनि सहज हुन्छ ।
पुलिसको बर्दीमा गुण्डागर्दी भो
बिन्दिया कार्की
प्रदेशसभा सदस्य, मोरङ
प्रहरी मेरो साथी र मुस्कानसहितको सेवा कहाँ हरायो भनेर तपाईहरुको बीचमा केही कुरा राख्न गइरहेको छु । अहिले सामाजिक सञ्जालमा तपाईहरुले देखिराख्नुभएको छ, एउटा भिडियो भाइरल भएको छ । त्यो महिला सानो ६ महिनाको बच्चा बोकेर अधिकारका लागि गएको बेला जुन तरिकाले कुटिएको छ, एउटा आतंकाकारीलाई पनि त्यसरी कुट्न सकिदैनथ्यो होला ? त्यसको घोर भत्र्सना गर्न चाहान्छु ।
म के कुरा भन्न चाहान्छु भने महिला पुलिस पनि छन् । महिला पुलिस सजाउनका लागि मात्र राखिएको हो कि महिलालाई आपत परेको अवस्थामा वा रोक्ने कार्यमा प्रयोग गर्न हो ? त्यो काम महिला पुलिसले गर्ने कि पुरुषले हात छोड्ने हो ? पुलिसको बर्दीमा गुण्डागर्दी गर्ने हो कि जनताको रक्षा गर्ने सपथ खाएको प्रहरीले महिलालाई दुव्र्यवहार गर्दा मानिसलाई तनाव बनाएको छ । त्यस घट्नाले प्रहरीलाई कसरी विश्वास गर्ने भन्ने भएको छ । यस्तो अवस्थामा हामी कहाँ जाने ? ती महिलाले न्याय पाउनु पर्छ भन्ने सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।