पत्रकारिता निष्पक्ष हुँदैन र पक्षपाती पनि हुँदैन

प्रदेश नम्बर १ मा परिवर्तनकामी धारका युवाहरूको पत्रकारिता–यात्रा ‘जनविद्रोह’ हुँदै ‘हाम्रोमत’सम्म आइपुगेको छ । यस यात्रालाई तत्काल शुभकामना र शुभयात्रा भन्नु कर्तव्य हुनेछ ।

उसो त, सोचेजस्तो सजिलो छैन पत्रकारिताको यात्रा । प्रिन्ट लाइनको मिडिया खस्कँदै गएका बखत साथीहरूले ‘हाम्रोमत’मार्फत् जोखिम उठाएका छन् । कालो बादलमा चाँदीको घेरा देखिरहेका मित्रहरूको जोखिमको प्रशंसा गर्नुपर्छ । सँगसँगै मिडिया लाइनको पछिल्लो धार अर्थात् डिजिटल माध्यमलाई पनि समातेर ‘हाम्रो मत’–कर्मीहरू अत्याधुनिक परिवेश र प्रवाहसँगै छचल्किएका छन् ।

निश्चय पनि अहिलेको समाजमा २ खालको पुस्ता अझै छ र सधैँ रहन्छ । बिहान उठेर घरमा आज पत्रिका आयो कि आएन वा झा¥यो किन झारेन भनेर आँगनतिर जाने अंकल र ठूलाबाहरूको पुस्ता अझै उल्लेखनीय छ । ती बुज्रुकहरूको आवश्यकताबोध ‘हाम्रो मत’–ले गरिदिएको छ । यो पुस्ता जीवित छँदै ‘हाम्रो मत’–को प्रिन्ट संस्करणले सफलता हासिल गरोस् भन्ने कामना व्यक्त गर्नु सान्दर्भिक हुनेछ ।

अर्कातिर बिहान उठ्नेबित्तिकै मोबाइलमा संसारसित अपडेट हुने पुस्ताको बहुमत पुगिसकेको छ । ‘हाम्रो मत’–को डिजिटल संस्करणलाई रोचक र स्तरीय बनाउने हो भने उत्तर आधुनिक पुस्ताको मन छुन धेरै समय लाग्ने छैन ।

अब नामका विषयमा एक छिन घोत्लिऊँ ।
हिजोको विद्रोह आवश्यक थियो वा थिएन अथवा कस्तो प्रकारको विद्रोह आवश्यक थियो भन्ने विषय अनन्तकालसम्म विवादका रूपमा चलिरहनेछ । तर, एउटा कुरा के सत्य हो भने सशस्त्र विद्रोह शान्तिपूर्ण आन्दोलनका रूपमा रूपान्तरित भएपछि नै त्यसले सफलता चुमेको हो । वर्तमान संविधान त्यसैको प्रमाण हो । त्यसैले शान्तिपूर्ण विद्रोह र आन्दोलनको औचित्य र आवश्यकता सधैँ रहन्छ भने सशस्त्र विद्रोह सफल भएपनि नभएपनि युगौँसम्म पीडादायी घाउका रूपमा बल्झिरहन्छ र कचल्टिरहन्छ ।

कुराको कुलो जता लगे पनि यो नै सत्य हो, हिजो विद्रोह गर्नेहरू आज मतको राजनीति गर्ने र मत माग्ने भएका छन् । र, यसैको प्रतिविम्ब हुनपर्छ–‘जनविद्रोह’ ‘हाम्रोमत’–मा रूपान्तरित भएको छ ।

मूलतः पत्रकारिता पक्षपातपूर्ण हुनहुँदैन । तर, पत्रकारिता निष्पक्ष पनि हुँदैन, कहिल्यै निष्पक्ष हुन सक्तैन । किनकि निष्पक्ष हुँदाहुँदै पनि पत्रकारिताले कुनै न कुनै विचार, समूह र धारको समर्थन गरिरहेको हुन्छ । समाचार र फिचरमा होस् वा लेख र सम्पादकीयमा– एउटा न एउटा विचारको पक्षपोषण भइरहेको हुन्छ । यसबीच हाम्रो माग के हुनुपर्छ भने पत्रकारिताले सत्य, न्याय र जनहितका लागि पक्षपोषण गरोस् । यही नै उसको निष्पक्षताको कसी हुनेछ । हो, संसारभरिकै पत्रकारिता निष्पक्ष छैन ।

संसारभरिको पत्रकारितामा केही वर्षयता देखिएको नकारात्मकता के हो भने अहिलेको पत्रकार र पत्रकारिता समाजको सम्भ्रान्त वर्गप्रति नतमस्तक छ र यही वर्गप्रति समर्पित छ । काठमाडौंबाट कुनै ठूलो मिडियाको सम्पादक वा प्रकाशक विराटनगर आयो भने ऊ यहाँका झुपडीमा जाँदैन, झुपडीको पीडा बुझ्ने चासो राख्तैन बरु यहाँको धनाढ्य वा व्यवसायीका चेम्बरमा पुगिरहेको हुन्छ ।

हो, मिडिया चलाउने र चलाउनैपर्ने बाध्यता छ । यसका लागि सम्भ्रान्त वर्गलाई समेट्नैपर्छ तर आवाजविहीनहरूको आवाज पस्कन ‘हाम्रोमत’–ले बिर्सने छैन भन्ने विश्वास हामीले गरेका छौँ ।
वकालत पेशामा समेत विख्यात, पत्रकारितामा पनि सफल व्यक्तित्व, पाका कम्युनिस्ट नेता कमल कोइरालाका भनाइमा– ‘वकालतको लाइसेन्स लिएको व्यक्तिले बहस गर्दा आफ्नो पक्षलाई जिताउन झुठ पनि बोल्नसक्छ, पत्रकारिताको लाइसेन्स झुठ लेख्न दिएको होइन । अर्कातिर राजनीति गर्नेहरू परिस्थितिअनुसार झुठ र सत्य दुबै बोल्छन् ।’ ‘म तीन वटै पेशामा छु’, कमल दाइको भनाइ छ, ‘तर, पत्रिकाका लागि कलम समाउँदा मलाई बढी आनन्द लाग्छ किनभने त्यहाँ सत्यसित साक्षात्कार हुन्छ ।’

मङ्गलबार, १३ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर