उर्लाबारी । पूर्वको झापा र मोरङमा मात्र बसोबास गरिरहेका अल्पसंख्यक ‘धिमाल’ समुदायको मौलिकता हराउँदै गएको छ ।
अल्पसंख्यक जातिका रुपमा रहेको धिमाल समुदायको जनसंख्या करिब ३० हजारको हाराहारीमा रहेपनि उनीहरुको भाषा, मौलिक पहिचान, जीवनशैली, वेषभूषा, लोक धर्म र संस्कृति लोपोन्मुख रहेको छ ।
प्रकृति पूजामा विश्वास राख्दै आएको धिमाल समुदायको जन्म, विवाह र मृत्यु संस्कार पनि छुट्टै रहेको छ । जात्री मेला, सिरजात, पार्वा, भेन्द्र, नावाङ्गी, गावा पूजा, जात्रा पूजा, टाकाबान्धा, रास पूजा, बान्धा पूजा, धुला पूजा, हाइजा पूजा, लक्ष्मी काइका पूजा आदि धिमालले मान्ने मौलिक चाडपर्व हुन् ।
धिमाल जाति विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष गणेशमान धिमालका अनुसार युवा पुस्तालाई आफ्नो संस्कार र संस्कृति जानकारी गराउन नसक्दा मौलिक संस्कार र संस्कृति भुल्दै गएको बताउनुभयो । धिमाल समुदायका महिलाले लगाउने दाबोना, इतङ्गी, पातोलोइ, सामुठी, नोसोइ, तेपाना र पुरुषले लगाउने आसकोट, गान्जी, टेपाना, पाटुका, चेउका धारी, तुप्री हराउँदै गएको उहाँको भनाइ छ ।
धिमालका बाजाहरु उर्नी, ढोल, सेरेन्जा, तुन्जाइ, दोतारा, घोगोमोगो, बाँसुरी बजाउने मान्छे पनि पाइन छाडेको छ । धिमाल समुदायका मौलिक गरगहना र जातीय पोशाकको संरक्षण गर्न झापाको दमक नगरपालिकाले धिमाल महिलालाई जातीय पहिचान झल्काउने पहिरन ‘दाबोना’ अर्थात पेटानी बनाउन प्रोत्साहन गरिरहेको छ ।