विराटनगर, १ फागुन÷ विराटनगर महानगरपालिमा फागुन ५ गतेबाट सूर्ति र सूर्तिजन्य पर्दाथ (खैनी, चुरोट, बिँडी, सिँगार, गुट्खा, पान, सुल्फा) को खुल्ला सेवन र बेचबिखन निषेध हुने भएको छ ।
सूर्ति र सूतिजन्य पदार्थ बेचबिखन ऐन २०६८ लाई पूर्ण रूपमा कार्यान्वनयमा ल्याउन १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अगुवाईमा महानगरपालिकाले सूर्ति र सूर्तिजन्य पर्दाथहरूको खुल्ला सेवन र बेचबिखन निषेधित क्षेत्र घोषणा गर्ने भएको हो ।
अब महानगरपालिकाभित्रका सबैखाले विद्यालय, सरकारी कार्यालय र संवेदनशील सार्वजनिकस्थलको एक सय मिटरवरपर पान, गुट्खा, खैनी चुरोट बिक्री गर्न पाइनेछैन । कुनैपनि सार्वजनिक स्थानमा खुल्ला रूपमा सुर्तीजन्य पदार्थ सेवन गर्न पनि निषेध गरिएको छ ।
विराटनगर महानगरका सुरु हुने अभियानलाई प्रदेशभरी विस्तार गर्ने योजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छध । क्रमशः एक नम्बर प्रदेशलाई नै सूर्ती र सूर्तीजन्य पर्दाथ सेवन बेचबिखन निषेधित क्षेत्र घोषणा गर्ने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो ।
निषेधको घोषणापछि अटेर गरेर बिक्री र सेवन गर्नेहरू तत्काल कारवाहीमा पर्नेछन् । अटेर गरेर सेवन गर्नेलाई पहिलोपल्ट सय रुपैयाँ जरिवाना गरी सार्वजनिक स्थलबाट बाहिर निकालिनेछ । सरकारी कर्मचारीले सेवन गरेमा विभागीय कारवाहीमा समेत पर्नेछन् । जथाभावी बिक्री गर्ने विक्रेता र विनाअनुमति उत्पादन गर्ने उद्योगीले ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवना तिर्नुपर्नेछ ।
माघको तेस्रो हप्तादेखि नै प्रदेश राजधानीमा रहेका सबै मन्त्रालय र सरकारी कार्यालयहरू वरपर सय मिटर आसपास खैनी, चुरोट, गुट्खा, पान सेवन पूर्णनिषेध गरिएको थियो । गत माघ १३ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशलाई आगामी चैतसम्म सूर्तीजन्य पदार्थको नियमन र नियन्त्रण गर्ने कानूनको पूर्णपालना गराउने निर्णय गरेको थियो ।
सूर्ती र सूर्तीजन्य पर्दाथ बेचबिखन ऐन २०६८ लागू भएको ८ वर्ष बितेपनि ऐन कार्यान्वयन नभएको बेला प्रदेश सरकारले अग्रसरता लिएको हो । ऐन अनुसार यस्ता पदार्थ बिक्री गर्नेहरूले सजाएर राख्न पाउँदैनन् । अनाथालय, मन्दिर–मस्जिद, विद्यालय आदि संवेदनशील स्थानको सय मिटर वरिपरि सूर्ती र सूर्तीजन्य वस्तु बिक्री र सेवन गर्न नपाउने तथा सूर्ती बिक्रि र सेवन गर्ने स्थानहरूमा अनिवार्य सूचना टाँस गरिएको हुनुपर्ने ऐनमा व्यवस्था छ ।
ऐन अनुसार बिक्री गर्नेले अनिवार्य अनुमति लिएको हुनुपर्छ भने पर्यटकीय स्थलहरूमा विषेश क्षेत्र निर्धारण गरेर मात्र सूर्ती सेवन गर्न गराउन पाइन्छ ।