विराटनगर । गत भदौमा ‘जेन–जी’ समूहको आन्दोलनका क्रममा कोशी प्रदेश सभा सचिवालयबाट लुटिएका सामग्रीहरू फिर्ता दिन प्रहरीले अस्वीकार गरेको छ । प्रदेशसभाले लुटिएका सामग्री फिर्ता गर्न सूचना जारी गरेपछि केहि सामान विराटनगरस्थित वडा प्रहरी कार्यालयमा जम्मा भएको थियो ।
अवस्था सामान्य भएपछि प्रहरीमा जम्मा भएको सामग्री लिन गएका सचिवालयका कर्मचारीलाई प्रहरीले ‘प्रदेश नै खारेज हुन्छ’ भन्दै सामग्री नदिइ फर्काएको हो । गत भदौ २४ गते आन्दोलनको क्रममा प्रदेशसभामा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
प्रदेश सभा सचिवालयले भदौ २७ गते एक सार्वजनिक सूचना जारी गरी लुटिएका सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको थियो । सूचनामा सचिवालय परिसरबाट गाडी, मोटरसाइकल, कम्प्युटर, ल्यापटप, प्रिन्टर, क्यामेरा, फर्निचर र कर्मचारीका निजी सवारीसाधन समेत लुटपाट भएको जनाइएको थियो ।
सचिवालयको सूचनापछि लुटिएका सामान ‘बाटोमा फेला परेको’ भन्दै केहि व्यक्तिले बुझाउन प्रदेशसभामा पुगेका थिए । प्रदेशसभाको सबै संरचना जलेको कारण ती सामग्री वडा प्रहरी कार्यालयमा बुझाउन प्रदेशसभाले आग्रह गरेपछि प्रहरीमा नै ती सामग्री जम्मा भएको बताइएको छ ।
प्रहरीमा जम्मा भएको सामग्री लिन सचिवालयले असोज २ गते वडा प्रहरी कार्यालयलाई पत्र पठाएको थियो । पत्रमा फिर्ता भएका सामग्रीको विवरण उपलब्ध गराई हस्तान्तरणमा सहयोग गर्न अनुरोध गरिएको छ ।
पत्रसहित कर्मचारीहरू सामान लिन प्रहरी कार्यालय पुग्दा प्रहरीले नदिएको हो । सचिवालयका एक कर्मचारीका अनुसार प्रहरीले प्रदेशको भविष्य अनिश्चित रहेको भन्दै सामान दिन अस्वीकार गरेको थियो । के–के सामान फिर्ता भएछ भनेर हेर्न खोज्दासमेत ‘गोलीगट्ठाको बीचमा ती सामग्री छन्’ भनेर हेर्न नदिएको सचिवालयका कर्मचारीले बताएका छन् ।
वडा प्रहरी कार्यालय प्रहरी निरीक्षकलाई पत्र दिएर सामग्री फिर्ता माग्दा उनले प्रदेश खारेज हुने भनेर सामग्री हेर्नसमेत नदिएपछि कर्मचारीहरु फिर्ता भएका थिए । प्रहरीको व्यवहारले कर्मचारी आश्चार्यमा पर्दै फर्किएका छन् ।
भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा प्रदेश सभा भवनमा ठूलो क्षति पुगेको थियो । प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा सचिवालयका दुई वटा भवन काम नलाग्ने गरी जलेर नष्ट भएका छन् । सचिवालयका अनुसार आगजनीबाट ८ वटा चार पाङ्ग्रे गाडी, ११ वटा मोटरसाइकल र २ वटा स्कुटर पूर्ण रूपमा नष्ट भएका छन् । यस्तै बैठक हल, फर्निचर, एसी, कम्प्युटर लगायतका विद्युतीय उपकरणहरू पनि चोरी र नष्ट भएका छन् ।
समितिका दुई जना सभापति चढ्ने गाडीसमेत जलेर खरानी भएको छ । सामाजिक विकास समितिका सभापति गयान्नद मण्डल र प्राकृतिक स्रोत तथा पुर्वधार विकास समितिको सभापति होमबहादुर थापा चढ्ने गाडी आन्दोलनकारीले जलाएका हन् । मण्डल चढ्ने गाडी प्रदेसभामै थियो भने थापा चढ्ने गाडी एमालेको केन्द्रीय कार्यालयमा थियो ।
प्रदेश सभा सचिवालय हाल आगलागीबाट बचेकोक मिडिया सेन्टरसहित दुई वटा कोठाबाट आफ्नो काम सञ्चालन गरिरहेको छ । क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको सचिवालयका सुचना अधिकारी निरोज ढकालले बताए ।
प्रहरीमा बुझाएका सामग्री फिर्ता नभएपछि अहिले भने प्रदेशसभाले आफैंले सामग्री बुझ्न थालेको छ । प्रदेशसभाको गेटसमेत तोडिएकाले अहिले पनि सामग्री चोरी हुने डर उत्तिकै रहेको प्रहरीले जनाएको छ । प्रदेशभामा ३३ जना सुरक्षाकर्मीको दरबन्दी रहेपनि अहिलेसम्म प्रहरीले सुरक्षाकर्मी पठाएको छैन ।
वडा प्रहरी कार्यालयले भने प्रदेशसभाको सामग्री फिर्ता गर्ने तयारी भइरहेको बताएको छ । वडा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनमोल खड्काले सामग्री फिर्ता गर्न भनेर आफूले निर्देशन दिइसकेको बताए । ‘मैले त्यो प्रकृया बढाउन भनेको छु’ उनले भने ‘प्रदेश खारेज हुन्छ भनेर मैले भनेको छैन, अरु कसले भने भने मलाई थाहा छैन ।’