काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गरेको थियो।कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गरेको छ, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ।
हकप्रद शेयर निष्काशनको प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। जसअनुसार असार २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र यस हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । यसअघि हकप्रदमा आवेदन दिने अन्तिम म्याद भदौ ३१ गतेसम्म तोकिएकोमा देशको विशेष परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले आवेदन दिने समय असोज ५ गतेसम्म थप गरेको थियो।
कम्पनीको हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले ‘इक्राएनपी सिंगल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व समयमा नै बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताहरुले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको ललितपुर शाखा, सिटिजन्स बैंक इन्टरनेशनलका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
हाल कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पूँजी वृद्धि भई ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रद शेयरबाट संकलन भएको रकम ऋण घटाउन, कम्पनीको वित्तीय अवस्था सुधार्न, ब्याज खर्च घटाउन तथा इक्विटी अभिवृद्धि गर्न प्रयोग गर्ने जनाएको छ।