धरान । धरान रनको ७०० औं हप्ता पुरा भएको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो भन्ने आह्वान गर्दै धरान रन समुहको आयोजनामा सन् २०११ देखि शुरुवात भएको धरान रनले ७०० औं हप्ता पुरा गरेको हो ।
धरान रन प्रत्येक शनिबार बिहान ठिक ७ बजे यलम्बर पार्कबाट शुरुवात हुने गर्छ । विगतमा यलम्बर पार्कदेखि पुर्वतर्फ तीनकुने पुगेर फर्कने गरिएकोमा हाल तीनढ्वाङ्गे पुल भत्किएर सडक अवरुद्ध भएपछि रुट परिवर्तन भएर पश्चित घोपा क्याम्प गेटतर्फ दौड हुने गर्छ ।
थोरै संख्याबाट शुरुवात भएको धरान रनले वृहत रुप मात्र लिएको छैन, प्रत्येक बर्ष नेवा च्यारिटी १०के धरान रन प्रतियोगिता पनि आयोजना हुन्छ । यो दौड प्रतियोगिता नेपालकै सर्वाधिक धावकधाविका सहभागी हुने दौडमध्येकै एक भएको आयोजकले जनाएको छ ।
दौड प्रतियोगिताबाट बचत भएको रकमले विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिदैआएको छ भने विगतमा विभिन्न असहाय व्यक्ति तथा संस्थाहरुलाई धरान रनले सहयोग पनि गरेको थियो ।धरान रनका संस्थापक सन्तोष राई हाल युकेमा छन् । युकेको पार्क रनको अवधारणामा उनले नै धरान रन शुरुवात गरेका थिए ।
धरान रनबाट प्रेरित भएर नै तरहरा रन, पोखरा रन, उर्लाबारी रन, ताप्लेजुङ रन, भोजपुर रनलगायत दौड प्रतियोगिताहरु पनि शुरुवात भइसकेको छ । धरान रन ७०० औं हप्ता पुगेको अवसरमा शनिबार अतिथि वक्ताहरुले धरान रनले धरानलाई खेलकुदको सहर, स्वास्थ्यप्रति सचेत सहरको रुपमा स्थापित गर्न सफल भएको धारणा व्यक्त गरे ।
धरान रनका अध्यक्ष हेमन सुनुवारका अनुसार ७०० औं हप्ता गत साता नै पुरा भएपनि जेनजी आन्दोलनको कारण उक्त हप्ता रन स्थगित गरिएको थियो । शनिबार कार्यक्रममा ५० हप्ता र १०० औं हप्ता पुरा गरेका नियमित रनरहरुलाई टिसर्ट पनि प्रदान गरिएको थियो ।