विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हालको विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक रहेको बताएका छन् । नेकपा एमाले विराटनगर महानगर कमिटीले बिहिबार विराटनगरमा आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै कार्कीले २४ गतेको आन्दोलन जेनजेडको मात्रै नभई विभिन्न स्वार्थ समूहको आन्दोलन भएको टिप्पणी गरे ।
उनले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गरेका छन् । जेनजेडको भ्रष्टाचारविरुद्ध मागलाई एमाले पनि निरन्तर उठाईरहेको उनले बताए । ‘पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ,’ उनले भने
कार्कीले एमाले सरकारमा रहदा विकासका काम भएको दावि गरेका छन् । प्राकृतिक सम्पदामाथि आक्रमण भइरहेको भन्दै उनले स्वाधीन नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत हुनुपर्ने बताए ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरिले युवापुस्ताको मागलाई सम्बोधन गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै नेतृत्वले समय सापेक्ष सच्चिनुपर्ने आवश्यकता औल्याएका छन् । उनले पार्टीभित्रको संगठनात्मक कमजोरी सच्याएर समानताको आधारमा निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेलामा सहभागिहरुले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति देखिएको बताउँदै कसैले पनि गल्ती स्वीकार नगरेकोमा चिन्ता व्यक्त गरेका छन् ।