विराटनगर । शहरी क्षेत्रमा सुख्ख मौसममा आगलागीकोक घटना धेरै हुने गरेको छ । त्यसलाई नियन्त्रण गर्न मुख्य सहरी क्षेत्रका स्थानीय तहले बारुणयन्त्र (दमकल) राखेका हुन्छ । तर, सुनसरीको इटहरी उपमहानगरपालिका भने दमकलविहिन भएको छ ।
उपमहानगरसँग २ पटा दमकल थिए । तर, भदौ २४ गते आन्दोलनको नाममा अराजक समूहले इटहरी उपमहानगरपालिका कार्यालय भवनसँगै दमकल पनि जलाइदिएपछि उपमहानगर दमकलविहीन भएको हो । आगलागीका घटना भइरहने इहटरीमा दमकल जलेपछि जोखिम बढेको भन्दै स्थानीय त्रसित छन् ।
इटहरीको दमकल जलाईएकोले अब आगलागी भएमा निभाउन विराटनगर र वा धरानको दमकल बोलाउनुपर्ने बाध्यता हुने भएको छ । ‘विपद्मा चाहिने अत्यावश्यक वस्तु नै छैन । न पालिकाले तत्काल किन्न सक्छ, न हामी निजीक्षेत्रले नै सक्छौँ,’ उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले भने, ‘सबैलाई चाहिने अत्यावश्यक वस्तु किन जलाइयो, अचम्मित भएका छौं ।’
पालिकामा रहेका दमकल र कार्यालय भवनसँगको पोखरीले इटहरीलाई आगलागीको विपद् जोखिम कम गराएका थिए । अब इटहरीमा दमकल छैनन् । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार अत्यावश्यक सेवामा तत्पर रहने दमकल २४ भदौमा पालिका परिसरम पानी भरेर तैनाथ अवस्थामा थिए । त्यसमा आगलागी गरियो ।
दमकल मात्र नभएर सार्वजनिक काममा उपयोग हुने जेसीबी, लोडर, ट्रिपर, दुईचक्के र चारचक्के अन्य सवारी साधन पनि जलाइएको मेयर पौडेलले बताए । भवन र महत्त्वपूर्ण कागजपत्र पनि खरानी बनाइएको छ । ‘मलाई आफ्नो सम्पत्ति जलेको भन्दा बढी दुःख दमकल जलेकोमा लागिरहेको छ’ उनी भन्छन् ।
इटहरीका दमककलले आवश्यकता पर्दा नजिकका छिमेकी पालिका धरान, विराटनगर, दुहबी, इनरुवालगायतमा सेवा दिन पुग्थे । तर, अब केही आपत्ति आइलागे ती पालिकाबाट सहयोग माग्नुपर्ने बाध्यता भएको मेयर पौडेलले बताए । बाहिरबाट बोलाउँदा समय लाग्ने भएकोले त्यो बेलासम्म ठूलो क्षति भइसक्ने उनको भनाइ छ ।
उपमहानगरका चार थान विद्युतीय नगरबस, दुई थान एम्बुलेन्स र दुई थान शववाहन बाहेक सबै सवारी साधन खरानी भएका छन् । इटहरी उपमहानगरपालिका आन्दोलनको नाममा भएको तोडफोड र आगजनीले बस्ने ठाउँसमेत नभएपछि तीन दिन अगाडि भुईंमै कार्यपालिकाको आकस्मिक बैठक बसेको थियो ।