विराटनगर । जेन–जी आन्दोलनपछ बिहीबार खुलेको शेयर बजारमा पहिरो गएको छ । लगानीकर्ताहरू आत्तिएपछि सेयर बजार खुलेको केही मिनेटमै तेस्रो पटक सर्किट ब्रेक लागेर बन्द भएको छ ।
नेप्से १६०.५ अंकले घटरे २५११ विन्दुमा झरेको छ । छोटो अबधिमा ७२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । तीन पटक खुलेको बजारमा जम्मा ७ मिनेट मात्रै कारोबार भएको थियो ।
सेयर बजार खुलेको २ मिनेटमै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो । २० मिनेट बजार बन्द भएर ११ः२२ मा खुलेकोमा एक मिनेटमै बजार थप एक प्रतिशतले घटेर पुनः बन्द भयो । कुल पाँच प्रतिशतले घटेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो ।
बजार पहिलो एक घण्टामा ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगन हुन्छ । त्यस्तै, दुई घण्टाभित्र ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेटको लागि र तीन घण्टा भित्रमा ६ प्रतिशतले घटबढ भएमा दिनभरको लागि कारोबार स्थगन हुने नियम छ ।
दोस्रो सर्किट ब्रेकपछि १२ः०३ मिनेटमा खुलेको शेयर बजारमा ३ मिनेटपछि पुनः १ प्रतिशत घटेपछि बिहीबारको कारोबार नै बन्द गरिएको हो । भदौ २३ र २४ गते भएको प्रदर्शनको कारण भएको क्षतिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा भार पर्नसक्ने आकलन गरिँदै आएको छ ।
बुधबारसम्म बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूले पेश गरेको तथ्यांक अनुसार २० अर्ब रूपैयाँ बराबरको दाबी परेको छ। अहिले कम्पनीहरूले औसतमा बीमाको ३० देखि ३५ प्रतिशतसम्म मात्रै भार आफूले राख्छन्। बाँकी भार नेपाली पुनर्बीमा (रि–इन्सुरेन्स) कम्पनीहरूलाई सार्छन् ।
अहिले हामीकहाँ नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्स गरी दुइटा पुनर्बीमा कम्पनी छन् । यी कम्पनीले पनि दाबीको केही भार आफै लिन्छन्, केही विदेशी पुनर्बीमा कम्पनीमा सारेका हुन्छन् ।
यी कम्पनीहरूले दाबीभार विदेशी बीमा कम्पनीमा सारेको आकलन भए पनि कति सारेका छन् भन्ने जानकारी बीमा प्राधिकरणसँग छैन । तैपनि अहिले विभिन्न पर्ने बीमा दाबी भुक्तानी गर्न कम्पनीहरू सक्षम रहेको प्राधिकरणले जनाएको छ ।
बिहीबार हिमालयन रि–इन्सुरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । हिमालयन रिको ८७८ रूपैयाँमा सेयर कारोबार भएको हो ।
नेपाल रि–इन्सुरेन्सको पनि सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर मूल्य १ हजार ४६८ रूपैयाँका कारोबार भएको छ ।