विराटनगर जल्दा दमकल जोगाए राजनले

आन्दोलनकारीको निशानामा दमकल : नगर प्रहरी प्रमुखले यसरी जोगाए

विराटनगर । जेनजी आन्दोलनको नाममा उठेको हिंसाको आगोले कोशी प्रदेशको राजधानी विराटनगरलाई जलाइरहँदा सहरका सडकहरूमा अराजकता र विध्वंसको कालो धुवाँ मात्रै थियो । सरकारी कार्यालयहरू, निजी सम्पत्ति र विकासका पूर्वाधारहरू आन्दोलनकारीको निशाना बनिरहेका थिए । त्यही विध्वंसको भीडमा कोही भने शहरको भविष्य जोगाउन आफ्नै जीवनको बाजी लगाइरहेको थियो । ती थोरै व्यक्तिमध्ये एक थिए, विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलको सुझबुझ र चलाखीले महानगरको सबैभन्दा महत्वपूर्ण सम्पत्ति, सर्वसाधारणको जनधन बचाउने दमकल (वारुणयन्त्र) लाई खरानी हुनबाट जोगायो ।

जेनजी आन्दोलनको नाममा भएको प्रदर्शनले उग्र रूप लिँदा विराटनगर महानगरपालिकाको भवन, सवारी साधन आदि गरी करोडौं मूल्य बराबरको क्षति भयो । आक्रमणकारीहरूले योजनावद्ध रूपमा महानगरपालिकाका सवारीसाधनहरूलाई निशाना बनाए । महानगरका पानी ट्याङ्की, टिपर, जेसीबी, नगर प्रहरीको ट्रक, शव वाहन, रोलर, मोटरसाइकल, र इ–रिक्सा लगायतका साधनहरू जलाएर खरानी बनाइदिए ।

आक्रमणकारीहरूको सबैभन्दा ठूलो निशाना महानगरका दमकलहरू थिए । उनीहरूको योजना स्पष्ट थियो – पहिले दमकल जलाउने, ताकि शहरका अन्य स्थानमा लगाइएको आगो निभाउन नसकियोस् र अधिकतम क्षति पुगोस् । यदि दमकल जल्थ्यो भने, विराटनगरमा लागेको आगो निभाउने कुनै अर्को तत्कालीन विकल्प हुने थिएन । यसले सहरलाई अझ ठूलो र भयावह संकटमा धकेल्ने सम्भावना थियो ।

जब नगर प्रहरी प्रमुख राजन पौडेलले आक्रमणकारीहरूको यो भयानक योजनाको सुराक पाए उनले दमकल जोगााउने उपाय सोचे । उनलाई लाग्यो कि दमकल जोगाउनु भनेको सिंगो विराटनगरलाई भविष्यमा आइपर्ने सम्भावित महाविपत्तिबाट जोगाउनु हो । परिस्थिति नाजुक थियो, सडकमा आक्रोशित भीड थियो, र सुरक्षाको कुनै ग्यारेन्टी थिएन । तर पौडेलले आफ्नो कर्तव्यलाई सबैभन्दा माथि राखे ।

उनी आफैं मोटरसाइकलमा चढेर दमकलको खोजीमा निस्किए । पौडेलले पछि भने, ‘उनीहरूको योजना आज पनि आगो लगाउने र भोलि पनि लगाउने, तर दमकल नभएपछि निभाउन सकिँदैन र धेरै क्षति हुन्छ भन्ने थियो । त्यसैले मैले दमकललाई भगाको भगाएकै गरेँ ।’

पौडेल दिनभर दमकलको पछि दौडिए । आक्रोशित भीडको आँखा छल्दै, सहरका विभिन्न गल्ली र चोकहरूमा उनीहरुले दमकलको खोजी गरिरहे । दमकलका कर्मचारीहरुलाई उनीहरुले दमकल राखेको ठाउँ देखाउन पटक पटक धम्की दिए । उनीहरुले पुष्पलाल चोकदेखि विभिन्न स्थानमा खोजतलास गर्दै हिंडे । तर उनीहरुलाई छल्दै दमकलहरूलाई सुरक्षित रूपमा एउटा गाउँमा पुर्याएर लुकाउन भूमिका खेले । यता भने आन्दोलनकारीलाई दमकल देवानगञ्जमा आगो निभाउन गएको गलत सूचना प्रवाह गरिदिए ।

महानगरपालिकासँग रहेका तीनवटा दमकलमध्ये एउटा पहिलेदेखि नै ग्यारेजमा मर्मतका लागि राखिएको थियो, तर चालु अवस्थामा रहेका दुईवटा दमकललाई पौडेलको यही सक्रियता र सुझबुझले सुरक्षित राख्न सफलता मिलेको हो ।
पौडेलले अघिल्लो दिन सुनसरीको इटहरीमा भएको आन्दोलनको घटनाबाट शिक्षा लिएका थिए । उनले भने, ‘पहिले इटहरीमा पनि दमकल नै जलाइएको थियो । उनीहरूले पानी हालेर आगो निभाइहाल्छन् भनेर सबैभन्दा पहिला दमकललाई नै निशाना बनाएका थिए र यहाँ पनि त्यसै गर्नसक्ने आांकलन गरें ।’ यही अनुभवले उनलाई सम्भावित खतराको पूर्वानुमान गर्न र समयमै सही कदम चाल्न प्रेरित ग¥यो । यसले पनि आक्रमणकारीहरू विराटनगरमा ठूलो क्षति पुर्याउने पूर्वनियोजित र संगठित योजनाका साथ आएको अनुमान गर्न सकिन्छ ।

पौडेलले निर्वाह गरेको यो भूमिकाले नगर प्रहरीको भूमिका सहरको सामान्य सुरक्षा र व्यवस्थापनमा मात्र सीमित नभएर संकटको समयमा नागरिक र सम्पत्तिको रक्षाका लागि आफ्नो ज्यान जोखिममा राख्न पनि पछि पर्दैन भन्ने पनि देखाएको छ ।
आक्रमणकारी को थिए भन्ने प्रश्नमा पौडेलले उनीहरूलाई खोज्दा पनि फेला पार्न नसकेको बताए, र उनीहरूको पहिचान अझै खुल्न नसकेको बताए । तर जसले शहरलाई जलाउन खोजे, उनीहरूको पहिचानभन्दा महत्वपूर्ण काम राजन पौडेलले गरे । उनले केवल दुईवटा निर्जीव दमकल मात्र जोगाएनन्, उनले विराटनगरको भविष्यमा आइपर्न सक्ने अनगिन्ति आगलागीका घटनाहरूबाट हजारौंको ज्यान र करोडौंको सम्पत्ति जोगाउन सफल भए ।

अशोज २, २०८२, बिहानको १०:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर