विराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक धरोहर, विराटनगरस्थित कोइराला निवासमा आगजनी गर्नेहरूको पहिचान खुल्न थालेको छ ।
जेनजी विद्रोहको दोस्रो दिन भदौ २४ गते दिउँसो भएको आगजनी र लुटपाटको घटनामा संलग्न केही युवाहरूको अनुहार सामाजिक सञ्जाल र सञ्चारकर्मीहरूले खिचेका भिडियो फुटेजमार्फत सार्वजनिक भएको छ ।
दिउँसो करिब ३ बजे सयौँको सङ्ख्यामा आएको प्रदर्शनकारीको भीडले निवासमा तोडफोड गर्दै आगजनी गरेको थियो । सार्वजनिक भएका भिडियोहरूमा मास्क र हेल्मेट लगाएका युवाहरूले घरभित्रका ऐतिहासिक सामग्रीहरू बाहिर निकालेर आँगनमा जलाइरहेको स्पष्ट देखिन्छ ।

एकजना हेल्मेट र मास्क लगाएका युवाले निवासभित्र रहेको पुरानो घडी चोरेर लगेको दृश्यसमेत हाम्रोमतकर्मीले खिचेको भिडियोमा कैद भएको छ । यी फुटेजहरूलाई आधार मानेर प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । यद्यपि हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कर्मभूमि रहेको यो निवासलाई प्रजातन्त्रवादीहरूको ‘तीर्थस्थल’ मानिन्छ । आगजनीबाट काठले बनेको सय वर्ष पुरानो ऐतिहासिक घर क्षणभरमै जलेर खरानी भएको छ ।
घरसँगै रहेका दुईवटा पक्की भवनमा पनि क्षति पुगेको छ भने महत्वपूर्ण कागजात, फर्निचर र गिरिजाप्रसाद कोइरालाले प्रयोग गर्ने गाडीसमेत जलेर नष्ट भएको छ । कृष्णप्रसाद कोइरालाले निर्माण गरेको यहि घरबाट २००७ सालको क्रान्ति, २०१५ सालको आमनिर्वाचन, २०४६ सालको जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनजस्ता ऐतिहासिक राजनीतिक घटनाहरूको नेतृत्व भएको थियो ।
प्रजातान्त्रिक आन्दोलनको जीवन्त इतिहास बोकेको धरोहरमा भएको आक्रमणले सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको छ । हाल शुभचिन्तक र कांग्रेस कार्यकर्ताहरू जलेको निवासमा पुगेर दुःख व्यक्त गरिरहेका छन् ।
