विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले प्रदेशसभाको बैठक तत्काल आह्वान गर्नुपर्ने विषयमा छलफल गरेको छ ।
कोशी प्रदेश सरकारका प्रवक्ता तथा एमाले सांसद रेवतीरमण भण्डारीले मंगलबार संसदीय दलको भर्चुअल बैठक बसेको जानकारी दिए ।
प्रवक्ता भण्डारीले प्रदेशमा व्याप्त अन्योलपूर्ण राजनीतिक अवस्था र जनसरोकारका विषयमा केन्द्रित रहँदै एमाले संसदीय दलको बैठकमा प्रदेशसभाको बैठक तत्काल आह्वान गर्नुपर्ने कुरा आएको बताए । बैठकले अहिलेको परिस्थितिलाई सहज बनाउन, समाजमा शान्ति सुरक्षा कायम राख्न र जेनजी आन्दोलनलगायतका अभियानबाट उठेका सकारात्मक विषयवस्तुहरूलाई सम्बोधन गर्न सबै पक्षले आ(आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएको छ ।
यसका साथै, राजनीतिक दलहरूबीच सहकार्य गर्दै प्रदेशका पालिका तथा जिल्लास्तरमा पनि जनमुखी कार्यहरू गर्न निर्देशन दिइएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सरकारले थप कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ । यसका लागि आवश्यक पर्ने कानुनी तथा संरचनात्मक सुधारका विषयमा अध्ययन गरी सम्बोधन गर्न बैठकले सरकारलाई सुझाव दिएको छ ।
भण्डारीका अनुसार एमाले संसदीय दलले सरकार सञ्चालन र संसदीय गतिविधि प्रभावकारी बनाउनुका साथै पार्टीका संरचनाहरूलाई पुनर्संरचना गरी थप सशक्त बनाउने विषयमा पनि छलफल गरेको छ । यसका लागि आन्तरिक छलफलहरू जारी रहनेछन् ।
भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित २८ जना एमाले सांसदहरू सहभागी भएको एमालेले जनाएको छ । कोशी प्रदेशसभाकाके ाएमाले संसदीय दलमा ४० सदस्य छन् ।