विराटनगर महानगर खण्डहर : अत्यावश्यकबाहेक सबै सेवा अनिश्चितकालको लागि स्थगित

विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र लुटपाटपछि आगजनी गर्दा विराटनगर महानगरपालिका कार्यालय खण्डहर भएपछि तत्काल सेवा सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको छ ।

आन्दोलनकारीले कार्यालयका अधिकांश कागजात, दस्ताबेज, उपकरण र सवारी साधन सबै जलाएर खरानी बनाएका छन् ।

महानगरपालिकामा उपप्रमुख शिल्पा निरला कार्कीको कार्यकक्षबाहेक सबै कार्यकक्षमा तोडफोड र आगजनी भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले महानगरको कार्यालय करिब शून्य अवस्थामा आइपुगेको बताए । सबै ध्वस्त भएकोले तत्काल सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेको उनले जानकारी दिए ।

महानगरले सोमबार नै सूचना प्रकाशित गर्दै आन्दोलनका क्रममा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र मातहतका अधिकांश वडा कार्यालयहरूमा भएको तोडफोड तथा आगजनीका कारण कार्यालयहरू पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाएको छ । कार्यालयका अभिलेख तथा कागजातहरू जलेर नष्ट भएका कारण कार्यालय र मातहतका वडा कार्यालयहरूवाट प्रवाह हुने अत्यावश्यक स्वास्थ्य, दमकल, सरसफाइ लगायतबहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

आन्दोलनको क्रममा महानगरको कार्यालय भवन, कार्यालयका उपकरण मात्र नभएर महानगरको अत्यवश्यक सवारी साधन पनि जलाएर ध्वस्त पारिएको छ । डोजर, मिनि ट्रक, फोहोर बोक्ने गाडी, विद्युतको गाडीलगायत विपद्मा प्रयोग हुने सवारी साधन पनि जलेका छन् । महानगरपालिकाले पार्किङ गरेर राखेका सबै सरकारी साधन पनि जलेका छन् ।

महानगरमा भएको क्षतिको विवरण संकलन भइसकेको छैन । सोमबारबाट क्षतिको विवरण संकलन गर्दै सरसफाइ सुरु गरेको महानगरले जनाएको छ ।
महत्पपूर्ण कागजात भएको नक्साफाट, राजस्वा फाट, घरजग्गा फाटमा छानीछानी आगजनी भएको छ । प्रमुख प्रशासकिय अधिकृत दुलालका अनुसार महानगरसँग रेकर्डमा रहेका अधिकांश कागजात र जलेका नष्ट भएको छ ।

महानगरमा कर्मचारीलाई बस्ने टेबल कुर्सी र कार्यालयका दस्ताबेज जलेको छ । जलेको खरानीबाट कसरी उठ्ने भन्ने अन्योलमा छ महानगरपालिका । आन्दोलन अगाडि नै अष्ट्रेलिया पुगेको मेयर नागेश कोइराला भने अझै फर्किएका छैनन् । उनी अर्को साता मात्र नेपाल फर्कने बताइएको छ ।

यसैबीच महानगरपालिकाले एक सूचना जारी गर्दै महानगर र वढा कार्यालयबाट कार्यालय सामग्री तथा महत्वपूर्ण कागजातहरू लुटपाट तथा चोरी भएको भन्दै सामाग्री भेट्नेलाई कार्यालयमा बुझाउन भनेको छ । लुटपाट र चोरी गरी लगिएको प्रमाण कार्यालयको सिसिटिभी क्यामेराको फुटेज, प्रत्यक्षदर्शीहरूले खिचेका तथा सामाजिक सञ्जालमा सम्प्रेषित फोटो तथा भिडियो एवम् प्रत्यक्षदर्शीहरूले दिएको सूचनासमेतका आधारमा पहिचान गरि कानुन बमोजिम कार्वाही गर्ने महानगरले जनाएको छ । लुट्नेहरुको विषयमा जानकारी दिन सबैमा आग्रह गर्दै महानगरले जानकारी दिनेको पहिचान गोप्य राख्ने बताएको छ । लुटेराहरुको बारेमा नगर प्रहरी निरीक्षक श्री राजन पौडेलको मोबाइल नम्बर ९८४२०५८९३६ मा जानकारी दिन सकिने प्रमुख प्रशासकीय अधिकृत दुलालले जारी गरेको सूचनामा उल्लेख छ ।

भदौ २९, २०८२, साँझको ०५:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर