विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजन लम्साल, आफैँ सडकमा उत्रिएर सवारी आवागमन सहज बनाउन नेतृत्वदायी भूमिकामा देखिएका छन् ।
‘जेन– जी पुस्ताको आन्दोलनका क्रममा विराटनगरका विभिन्न सडकमा राखिएका डिभाइडर र अन्य अवरोधहरू हटाउन उनी आफैँ अग्रसर भएका हुन् ।
युवाहरूले सुरु गरेको आन्दोलनले विराटनगरको जनजीवन प्रभावित बनेको थियो । आन्दोलनकारीहरूले सडकका विभिन्न स्थानमा डिभाइडर तेर्साएर तथा अन्य अवरोध खडा गरी यातायात ठप्प पारेका थिए, जसका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । स्थितिलाई सामान्यीकरण गर्न र यातायातलाई पुनः सुचारु गर्न प्रहरी निरीक्षक लम्साल आफैँ खटिएका हुन् ।
उनको नेतृत्वमा खटिएको ट्राफिक प्रहरीको टोलीले विराटनगरको व्यस्त मानिने भाटभटेनी अगाडिको सडक खण्डमा तेर्साइएका डिभाइडर र अवरोधहरू पन्छाएको छ । लम्सालले भने, ‘सडक अवरुद्ध हुँदा नागरिकले दुःख पाएका थिए । हाम्रो जिम्मेवारी भनेको सवारी आवगमनलाई सहज बनाउनु हो । त्यसैले हामीले तत्काल अवरोध हटाएर यातायात खुलाएका छौँ ।’
प्रहरीको सक्रियतापछि विराटनगर बसपार्कबाट चल्ने विशेषगरी साना दूरीका सवारी साधनहरू पुनः सञ्चालनमा आएका छन् । लम्सालका अनुसार अन्य स्थानमा रहेका अवरोधहरू पनि हटाएर शहरको समग्र ट्राफिक व्यवस्थापनलाई सामान्य अवस्थामा फर्काइएको छ । उनको यो प्रत्यक्ष संलग्नताले फिल्डमा खटिने अन्य प्रहरी कर्मचारीको मनोबल बढाएको छ भने आम नागरिकले पनि राहत महसुस गरेका छन् । आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिई नागरिकको दैनिकीलाई सहज बनाउन प्रहरीको यो कदम सराहनीय मानिएको छ ।
