विराटनगरको राजनीतिक विरासत :  सुशीलासहित छ जना बने प्रधानमन्त्री

विराटनगर । नेपालको राजनीतिक इतिहासमा विराटनगरले सधैं महत्त्वपूर्ण भूमिका खेलेकाे छ। देशले आज पाएकाे नयाँ र पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्कीसँगै प्रधानमन्त्री बन्नेकाे संख्या छ पुगेकाे छ ।
विराटनगर जन्मथलाे हुँदै प्रधानमन्त्री बन्नेहरूमा नेपालकाे पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकाे नाम अगाडि आउँछ । विपीले २०१६ साल जेठ १३ गतेदेखि २०१७ साल पुस १ गतेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
कांग्रेसका प्रभावशाली नेता मातृकाप्रसाद कोइराला ले दुई कार्यकाल प्रधानमन्त्रीको नेतृत्व गरेका थिए। उनी पहिलो पटक २००८ साल मंसिर १ गतेदेखि २००९ साल साउन ३० गतेसम्म र दोस्रो पटक २०१० साल असार १ गतेदेखि २०११ साल माघ २६ गतेसम्म प्रधानमन्त्री बनेका थिए। उनी विपीका भाइ हुन् ।
बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछिका महत्वपूर्ण नेता गिरिजाप्रसाद कोइराला ले चारपटक प्रधानमन्त्रीको पद सम्हाले। उनका कार्यकालहरु जेठ १२, २०४८ देखि मंसिर १४, २०५१; चैत २६, २०५४ देखि जेठ १७, २०५६; चैत १०, २०५६ देखि साउन ११, २०५८ र बैशाख १२, २०६३ देखि भदौ ५, २०६५ सम्म रहेका थिए। उनी विपीकै कान्छाे भाइ हुन् ।
नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीकाे पनि जन्मथलाे विराटनगर नै हाे । उनले २०५१ साल मंसिर १४ गतेदेखि २०५२ साल भदौ २६ गतेसम्म प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए।
पञ्चायतकालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल ले पनि दुईपटक देशको नेतृत्व गरेका थिए। उनी पनि विराटनगरकै हुन् । उनको पहिलो कार्यकाल २०३१ साल मंसिर १३ गतेदेखि २०३४ साल भदौ २८ गतेसम्म र दोस्रो कार्यकाल २०४२ साल चैत १९ गतेदेखि २०४३ साल जेठ १ गतेसम्म रहेको थियो।
पटकपटक प्रधानमन्त्री पाएकाे विराटनगर अहिले भने पछि परेकाे छ । पुनः विराटनगरकै व्यक्ति सुशीला कार्की जेनजेड विद्राेहबाट प्रधानमन्त्री बन्न सफल भएकी छिन् ।

भदौ २७, २०८२, रातीको १०:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर