विराटनगर । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरले आजदेखि पेट्रोलियम पदार्थको कारोबार नियमित गरेको छ । जेनजी आन्दोलनले रोकिएको निगमको सेवा सुरु भएसँगै विराटनगरमा पेट्रोलको बिक्री निकै बढेको छ । दैनिक मागभन्दा पेट्रोलको बिक्री तीन गुणा धेरै भएको निगमले जानकारी दिएको हो ।
निगमका प्रादेशिक प्रमुख पुष्कर कार्कीका अनुसार आज विराटनगरबाट ६ लाख लिटर पेट्रोल बिक्री भएको छ । यो सामान्य समयको दैनिक २ लाख लिटरको मागभन्दा तीन गुणा बढी हो । निगमबाट पेट्रोलका ३३ गाडी बाहिरिएका हुन । सामान्य अवस्थामा सरदर ११ गाडी पेट्रोल मात्र बिक्री हुने गथ्र्यो । गाडीहरू कम चलेकाले डिजेलको बिक्री भने घटेको छ । दैनिक ३ लाख लिटर डिजेल बिक्ने गरेकोमा आज २ लाख लिटर मात्र बेचिएको कार्कीले जानकारी दिए ।
निगमको विराटनगर कार्यालयमा अहिले १२ लाख ७७ हजार लिटर पेट्रोल मौज्दात छ । यस्तै, ४८ लाख ७० हजार लिटर डिजेल र १ लाख लिटर मट्टितेल पनि स्टकमा छ । थप ४ लाख लिटर पेट्रोल र १३ लाख लिटर डिजेल बाटोमा आउँदै गरेको छ ।
एलपी ग्यासको आपूर्ति पनि सहज हुने निगमले बताएको छ । आज ९ वटा ग्यास बुलेट बिक्री भएका छन् । भोलि शनिबार भन्सारबाट २२ वटा ग्यास बुलेट विराटनगर आइपुग्नेछन् । यी २२ बुलेटबाट कुल ३२ हजार ५३५ सिलिन्डर ग्यास तयार हुनेछ । कार्कीले दशैं र तिहारमा ग्यासको अभाव नहुने बताए । उनले उपभोक्तालाई नआत्तिन पनि आग्रह गरेका छ पेट्रोल । ‘पर्याप्त स्टक पनि छ र बजारमा सबै जिल्लामा बिक्री पनि गरिएको छ,’ उनले भने ।
सिराहा र सप्तरीमा भने बैंकमा पैसा जम्मा गर्न नसकेकाले आज ग्यास बिक्री भएन । आइतबारदेखि सबैतिर आपूर्ति फेरि सहज हुने निगमले जनाएको छ । निगमले आम उपभोक्ताहरुमा इन्धन अभाव हुन्छ कि भन्ने आशंका नगर्न आगह गर्दै अब आपूर्ति व्यवस्था सहज हुने विश्वास दिलाएको छ
