विराटनगर । जेन–जी आन्दोलनको नाममा प्रशिद्ध धार्मिक तिर्थस्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा पनि तोडफोड र आगजनी भएको पाइएको छ ।
पवित्र तीर्थस्थलका संरचनामा आक्रमण गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
समितिका अनुसार जेनजी आन्दोलन सकिएको अर्को दिन भदौ २५ गते राति तोडफोड तथा आगजनी भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले पाथीभरा क्षेत्रमा तिर्थालुका लागि निर्माण भएको हेल्थ डेस्क, हेल्प डेस्क र रेस्क्यु हाउसमा आगो लगाइएको बताए ।
यो संरचना करिब २ वर्ष पहिला बनेका हुन् । उनका अनुसार पर्यटन विभागको सहयोगमा करिब साढे ३ करोडको लागतमा निर्माण गरिएको थियो । यो संरचनामा आगो लगाउनेहरू पाथीभरा केबलकारका विरोधी तथा अराजक मानिस भएको थेबेको दाबी छ ।
प्रसिद्ध तीर्थस्थल ताप्लेजुङ ३७९४ मिटरमा उचाइमा छ । उनले भने, ‘भौतिक संरचना हाम्रो सम्पत्ति हो, त्यसैले यस्ता गतिविधि गर्ने अराजकहरू जो कोहीलाई तत्काल कानुनी कारबाही गर्न जिल्ला प्रहरी र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँछु ।’
प्रहरीले नागरिक सहायता कक्ष र अन्य दुईवटा संरचनामा तोडफोड र आगजनी भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख वेदप्रसाद गौतमले घटनाबारे अनुसन्धान भइरहेको बताए ।