विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी गरेर नष्ट गरिएको मोरङ जिल्ला अदालत विराटनगरमा यतिबेला जलेका खण्डहर पन्छाउने कामलाई निरन्तरता दिइएको छ । आगजनीबाट अदालतका सम्पूर्ण इजलासहरु, मुद्दाका फाइलहरु र सबै शाखाहरु जलेर खरानी भएका छन् । हिजो बिहीबारदेखि नै कर्मचारीहरु जुटेर सफाइको काम गरिरहेका छन् तर पन्छाउन निकै कठिन भएको र धेरै दिन लाग्ने देखिएको छ ।
अदालतका कर्मचारीहरु जलेर खण्डहर भएको प्रतीक्षालयमा बसेर विवरणहरु टिपोट गरिरहेका छन् ।
मोरङ जिल्ला बार एशोसिएसनका फोकल पर्सन दुर्गाप्रसाद पोखरेलले तत्काल अदालतको इजलास सुरु हुने सम्भावना नभएको र त्यस विषयमा कुनै छलफल पनि नभएको बताए । उनले भने ‘मेरो बिचारमा दसैं अगाडि जिल्ला अदालतको इजलास सुरु हुने सम्भावना म देख्दिन ।’ उनका अनुसार उच्च अदालत विराटनगरले भने बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरिरहेको छ । त्यस बाहेक अरु मुद्दाहरु तत्काल अघि बढ्ने सम्भावना छैन ।

