जेन-जीले इतिहास रचे, अब सचेत पनि हुनुपर्छः गजुरेल

विराटनगर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार)ले जेन–जी पुस्ताले इतिहास रचेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले युवाहरूको साहस, जागरण र बलिदानले नयाँ युगको सुरुवात गरेको भन्दै सलाम व्यक्त गरेका हुन् ।

गजुरेलले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको अघिल्लो सरकारको १८ महिने कार्यकालमा जेन–जीले उठाएका सवाल अनुसार नै काम गरेकोक स्मरण पनि गरेका छन् । ‘प्रचण्डले नेतृत्व गरेको सरकारले १८ महिना सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य एजेन्डा बनाएर काम ग¥यो,’ उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्ध ठाडो कारबाही भयो, विकास र सामाजिक सुरक्षा योजनाहरू लागू भए, र जनताको विश्वास जित्ने प्रयास स्पष्ट देखियो ।’

गजुरेलले सोही सरकारलाई ढाल्न एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेको आरोप लगाएका छन् । ‘भ्रष्टाचारका संरक्षक केपी शर्मा ओली र शेरबहादुर देउवाले मिलेर त्यो सरकार ढालिदिए । उनीहरुको जनविरोधी कदमले प्रतिगमनको बाटो खोल्यो,’ गजुरेलले भनेका छन् ।

ओली सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको आलोचना गर्दै गजुरेलले त्यसले देश–विदेशका सबै उमेर समूहका नागरिकलाई गम्भीर असर पारेको उल्लेख गरेका छन् । प्रमुख प्रतिपक्षीको भूमिकामा रहँदा आफूहरूबाट कमजोरी भएपनि चुप नलागेको बताउँदै गजुरेलले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता गराउन दबाब दिएको, पार्टीको औपचारिक बैठकमार्फत ओलीको राजीनामा माग गरेको र भदौ २३ को नरसंहारको विरोध गरेको स्मरण गराए ।

फ्नो पार्टी दमनको भण्डाफोर गर्दै र सहिदहरूलाई श्रद्धाञ्जली दिँदै जेन–जी आन्दोलनसँग ऐक्यबद्ध रहेको पनि गजरेलले बताएका छन् । उपमहासचिव गजुरेलले जेन–जीको आन्दोलनमा यथास्थितिवादी र पश्चगामी शक्तिहरूले घुसपैठ गरेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको भन्दै युवाहरूलाई सचेत रहन आग्रह गरेका छन् । ‘आज पनि युवालाई भ्रमित गरेर जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई समाप्त गर्ने षड्यन्त्र चलिरहेको छ । यसमा जेन–जी युवाहरू अझ सजग हुनुपर्छ’, उनले भने।

उनले पूँजीवादी दुष्चक्रले निम्त्याएको संकटबाट समाजवादले मात्र मुक्ति दिन सक्ने बताउँदै यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने शक्ति जेन–जी नै भएको बताए । राजनीतिप्रति सचेत युवा पुस्ताको जागरणलाई ऐतिहासिक अवसरको रूपमा लिँदै उनले भने, ‘तपाईंहरूको क्रान्तिकारी ऊर्जा र हाम्रो अनुभव मिलेर हामी फेरि नयाँ इतिहास रच्नेछौं ।’

भदौ २६, २०८२, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर