विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जेनजी पुस्ताका मागहरू संविधानसम्मत् सम्बोधन गर्न अपिल गरेका छन् ।
बिहीबार बिहान १० बुँदे विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट उनीहरूका माग पूरा गर्न राष्ट्रपति र नेपाली सेनाबाट भैरहेको पहलको प्रशंसा गरेका हुन् ।
साथै उनले यसमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
प्रतिकूल अवस्थामा पनि आशावादी हुन र संविधानको रक्षा र लोकतन्त्रको पक्षमा उत्रिन सबैलाई आग्रह गरेका छन् ।
प्रचण्डले जेन–जीले सुरु गरेको आन्दोलन शासकीय असफलता र भ्रष्टाचारविरुद्धको न्यायोचित आन्दोलन भएको बताउँदै त्यसलाई संविधानसम्मत तरिकाबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रचण्डले लोकतन्त्र र संविधानलाई प्रतिस्थापन गर्ने प्रयासको विरोध गरेका छन् । उनले वक्तव्यमा भनेका छन्, ‘लोकतन्त्रको विकल्प अझै बलियो लोकतन्त्र हो, गणतन्त्रको विकल्प अझ सबल गणतन्त्र हो ।’ उनले प्रत्यक्ष कार्यकारी रहने निर्वाचन प्रणाली र भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली आयोग गठनजस्ता संवैधानिक सुधार आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।
माओवादी केन्द्र परिवर्तनविरोधी शक्तिसँग उस्तै नभएको दाबीसहित प्रचण्डले भने, ‘हामी यथास्थितिमा बस्न चाहन्नौँ, नयाँ र राम्रो गर्नेहरूसँग हातेमालो गर्न तयार छौँ ।’
उनले जनताको जीवन, सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमाथि आक्रमण रोक्न सबै पक्षलाई सचेत रहन आग्रह गर्दै राष्ट्रपतिद्वारा भइरहेको पहललाई समर्थन गरे । साथै, सेनासहितका सुरक्षासंस्थाको संयमता र सहजीकरणप्रति सराहना गर्दै प्रचण्डले राजनीतिक निकासका लागि संवाद, संयम र सहमतिको वातावरण बनाउन आह्वान गरे ।