विराटनगर । जेन–जी आन्दोलनका कारण तनावग्रस्त बनेका पूर्वका सहरहरू आजबाट बिस्तारै सामान्यतर्फ फर्किँदैछन् । विराटनगर, इटहरी, दमक, बिर्तामोड र काँकडभिट्टाको अवस्था सामान्य बन्ने प्रयासमा छन् ।
सोमबारको आन्दोलनपछि मंगलबार भएको बिध्वंशका कारण नागरिक भने त्रासमा छन् । त्यहि भएर बजार तथा यातायात सञ्चालनमा आउन सकेको छैन । सडकमा सुरक्षाकर्मीको उपस्थिति नहुँदा मंगलबार दिउँसोदेखि रातभर नागरिक त्रसित थिए । युवाहरुले समूह बनाएर कतिपय स्थानमा सुरक्षाको लागि परिचालित भएका थिए ।
लुटपाट र आगजानीमा संलग्नलाई युवाहरुले कतिपय स्थानमा लखेटेका थिए । आज विहानबाट नेपाली सेना सडकमा आएपछि नागरिकले थोरै सहजताको महशुस गरेका छन् । सेनाले कफ्र्यु आदेश जारी गरेको छ ।
आजबाट युवाहरू सरसफाइ अभियानमा जुटेका छन् । उनीहरूले सडकभरि छरिएका ढुंगामुढा, टायर, प्लास्टिक र अन्य फोहोर हटाउँदै शहरलाई व्यवस्थित बनाउन काम गरिरहेका छन्।
विराटनगर, इटहरी, दमक, बिर्तामोड र काँकडभिट्टामा युवाहरूले ‘सफा सहर, हरित सहर’ अभियान चलाएका छन् । स्थानीय बासिन्दा र व्यवसायीले पनि क्षतिग्रस्त संरचना मर्मतमा साथ दिइरहेका छन् । सरकारी कार्यालयमा लागेको आगो नियन्त्रणको लागि प्रयास कर्मचारी र स्थानीयको सहयोगमा भइरहेको छ ।