नेपाली सेनाद्वारा निषेधाज्ञा र कर्फ्यू आदेश जारी, अराजक गतिविधिप्रति कडा चेतावनी

विराटनगर । नेपाली सेनाले देशको समग्र शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको छ भने आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। सेनाले आन्दोलनका नाममा अराजक व्यक्ति र समूहले हिंसात्मक तथा आपराधिक क्रियाकलाप गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन यो कदम चालिएको बताएको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा, आन्दोलनका क्रममा केही अराजक समूहले घुसपैठ गरी व्यक्तिगत आक्रमण, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, आगजनी, लुटपाट र बलात्कारको प्रयास जस्ता जघन्य अपराधजन्य क्रियाकलाप गरेको उल्लेख छ। यस्ता गतिविधिले देशको समग्र शान्ति सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै सेनाले चिन्ता व्यक्त गरेको छ।

सेनाले बुधबार जारी गरेको विज्ञप्ति अनुसार निषेधाज्ञा तथा कर्फ्यूको समयमा पनि एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधन भने सञ्चालन हुन पाउनेछन्। आवश्यक सहयोगका लागि नजिकैको सुरक्षा निकायसँग समन्वय गर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सेनाले यस्ता आपराधिक गतिविधि नियन्त्रणमा सहयोग गर्न सम्पूर्ण देशवासीलाई अपिल गरेको छ। आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट र आगजनी जस्ता कार्यलाई दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

यसैगरी, सेनाले सम्पूर्ण अवकाश प्राप्त सैनिक, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई अफवाहहरूको पछि नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ।ृद्दे राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवनलाई सामान्य बनाउन आ(आफ्नो दायित्व पूरा गर्न पनि सेनाले सबैमा विश्वास व्यक्त गरेको छ। जस्तोसुकै विषम परिस्थितिमा पनि नेपाली जनताको सुरक्षा र मानवीय उद्धारका लागि प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।

भदौ २५, २०८२, बिहानको ११:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर