विराटनगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेलले जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले गरेको दमन र निर्दोष युवाहरूको रगत बगाएको भन्दै नेकपा एमालेबाट राजीनामा दिएका छन्। उनले नागरिकको पीडामाथि राजनीति गर्ने पार्टीमा नैतिक र मानवीय हिसाबले बस्न आफूलाई अस्वीकार्य भएको घोषणा गरेका हुन्।
खरेलले सोमबार साँझ सामाजिक सञ्जालमार्फत नेकपा एमालेसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको घोषणा गरे। उनले लेखेका छन्, ‘आजको दिनदेखि म नेकपा एमालेसँगको मेरो सम्पूर्ण सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु।’
खरेलका अनुसार, ‘निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने यस्ता नालायक पार्टीमा बस्नु मेरो लागि नैतिक र मानवीय दृष्टिले अस्वीकार्य छ।’ उनले आफू अब रगतले दागिएको पार्टीको सदस्य नभई पीडितको पक्षमा, न्यायको पक्षमा र नयाँ पुस्ताको आवाजसँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।