विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् ।
आज दिउँसो उनीहरूले प्रहरीले लगाएको प्रदर्शन निषेधको घेरालाई भत्काएर प्रदेशसभा भवनअगाडि पुगेका हुन् ।
प्रदर्शनकारी युवाहरूले अहिले सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् । उनीहरूले विभिन्न माग राख्दै र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदर्शनलाई तीव्र पारेका छन् ।
यसअघि अस्पताल चोकबाट अघि बढेका प्रदर्शनकारीहरूलाई प्रहरीले तितरबितर पारेको थियो । तर, आन्दोलनकारीहरू फेरि जुट्दै प्रदेशसभा परिसरअगाडि प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनको क्रममा उनीहरूले विराटनगर महानगरपालिका, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयअगाडि पनि नाराबाजी र प्रदर्शन गरेका छन् । महानगरपालिका अगाडि पनि युवाहरुले केहीबेर ढुंगामुढा गरेका थिए ।
त्यसअघि सन्सारी माइस्थान अगाडिबाट सुरु भएको प्रर्दशन रोडसेस चोकबाट मुख्यमन्त्री कार्यालयतर्फ अगाडि बढ्न खोजेको थियो । प्रहरीले ब्यारिकेड राखेर उनीहरुको प्रदर्शनलाई रोडसेसमै रोकेपछि युवा विद्यार्थीहरु प्रदेशसभातर्फ लागेका हुन् ।