विराटनगरमा जेन–जीको चर्को नारा : ‘केपी तेरो पाराले–दुःख पायो साराले’

विराटनगर । देशब्यापी आह्वान अनुसार आज कोशी प्रदेशको राजधानी विराटनगरमा पनि जेन–जी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले प्रदर्शन गरेका छन्।

सरकारले भ्रष्टाचार बढाएको र त्यसको आलोचना हुने सामाजिक सञ्जाल बन्द गरेको भन्दै प्लस २ र कलेज तहमा अध्ययनरत युवा विद्यार्थीहरु प्रदर्शनमा उज्ञिएका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीले देश भ्रष्टाचारले थिलोथिलो भएको बेला त्यसविरुद्ध नागरिकले आवाज उठाउने सामाजिक सञ्जाल सरकारले बन्द गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनीहरुले सरकारले सामाजिक सञ्जाल बन्द गर्दा आफूहरुको अध्ययन र मनोरञ्जनमा बाधा पुगेको गुनासो गरे ।

देशको अवस्था हेर्दा रगत उम्लने अवस्था रहेको भन्दै विद्यार्थीहरुले अब सहेर नबस्ने चेतावनी दिएका छन् । अहिलेको प्रदेर्शनमा सहभागीले केपी चोर देश छोड, केपी तेरो पाराले– दुःख पायो साराले, भ्रष्ट सरकार मुर्दावाद, जेन–जी एकता जिन्दावाद, जस्ता नारा लगाएका थिए । ओलीले सरकारले सामाजिक सञ्जाल बन्द गरेर आफूहरुको आवाज बन्द गर्न खोजेपछि सडककमा आउन बाध्य भएको उनीहरुले बताए ।

आन्दोलन संसारी माइस्थानबाट सुरू भएको थियो । त्यहाँबाट ट्राफिक चोक हुँदै महेन्द्र चोक हुँदै रोडसेफ चोक पुगेको थियो । त्यहाँबाट प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयतिर जान खोजेपछि प्रहरीले मूल सडकमा ब्यारिकेड राखेर प्रदर्शनकारीहरूलाई रोकेको छ ।

प्रदर्शनकारीहरूले ब्यारिकेड अगाडि नाराबाजी गरे । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

भदौ २३, २०८२, दिउँसोको १२:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर