
सम्पादकीय
लोकतान्त्रिक प्रणालीमा नेतालाई आफ्नो सेवा गर्नको लागि नागरिकले सत्तामा पठाएका हुन्छन् । तर, सत्तामा पुगेपछि उनीहरु जनताको सेवक हैन, दम्भी शासकमा परिणत भइरहेका छन् । शनिबार ललितपुरको हरिसिद्धिमा कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगर सवार सरकारी गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दियो । भाग्यवस, घटनामा बालिकालाई ठूलो क्षति भएन । सामान्य घाइते मात्र भइन् । तर, घटनामा संलग्न व्यक्तिको व्यवहारले सबैलाई आक्रोशित बनायो । यो घटना एउटा सामान्य दुर्घटना मात्र होइन, यो हाम्रो राजनीतिक नेतृत्वमा गहिरिँदै गएको नैतिक पतन, शक्तिको उन्माद र मानवीय संवेदनाको चीरहरणको दुःखद प्रतीक बन्यो । जेब्रा क्रसिङमा बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएपछि घाइते बालिकालाई सडकमा लडिरहेको अवस्थामा छाडेर मन्त्रीको गाडी हुइँकिनुले आम नागरिकको लागि वर्तमान राज्य सञ्चालकहरु कति असंवेदनशील र क्रूर बन्दैछ भन्ने स्पष्ट पार्छ ।
मन्त्री मगरले आफ्नो बचाउमा दिएको तर्क झनै लज्जास्पद छ । ‘नचिनेको ठाउँमा कुटाइ खाने डरले’ गाडी नरोकेको उनको भनाइले उनी एक जनप्रतिनिधिभन्दा पनि आफ्नो ज्यानको सुरक्षामा मात्र केन्द्रित एक स्वार्थी व्यक्ति भएको प्रमाणित गर्छ । एक सार्वजनिक पद धारण गरेको व्यक्ति, जो जनताको सुरक्षा र हितका लागि सपथ खाएर बसेको हुन्छ, उसले नै एउटी निस्सहाय बालिकालाई सडकमा छाडेर भाग्नु कायरताको पराकाष्ठा हो । उनको प्राथमिकता बालिकाको जीवन बचाउनु होइन, बरु सम्भावित भीडको आक्रोशबाट आफूलाई जोगाउनु भएको उनकै भनाइले पुष्टि गरेको छ । यसले के देखाउँछ भने सत्तामा पुगेपछि नेताहरू आम जनता र उनीहरूका पीडाबाट टाढा पुग्छन् । उनीहरूका लागि जनता भनेको केवल भोट बैंक हुन्, भीड हुन् । तर, मानवीय अनुहार भएका नागरिक होइनन् ।
यो घटनाको एउटा पाटो मन्त्रीको अमानवीय व्यवहार हो भने अर्को, र अझ चिन्ताजनक पाटो, शीर्ष नेतृत्वको गैरजिम्मेवारपूर्ण संरक्षणवाद हो । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घटनालाई ‘सामान्य’ भन्दै यसलाई आफ्नो पार्टीको महाधिवेशन भाँड्ने ‘राजनीतिक षड्यन्त्र’ को संज्ञा दिए । एउटा बालिकाको जीवन–मरणको सवाललाई राजनीतिक रङ दिएर विषयान्तर गर्न खोज्नुले सत्ताधारीको राजनीतिको चरित्र उदाङ्गो पारेको छ । आफ्ना कार्यकर्ता र मन्त्रीले जस्तोसुकै गल्ती गरेपनि त्यसलाई ढाकछोप गर्ने र उल्टै पीडित र प्रश्न उठाउनेहरूमाथि दोष थुपार्ने प्रवृत्तिले विधिको शासनलाई ठाडो चुनौती दिएको छ । सरकारको नेतृत्वकर्ताले नै यस्ता गम्भीर घटनालाई सामान्यीकरण गर्छन् भने तल्लो तहका नेता तथा कार्यकर्ताहरूमा दण्डहीनताको भावना मौलाउनु स्वाभाविक हो ।
यो घटना केवल एक मन्त्री र एक बालिकाको मात्र होइन । यो राज्य र नागरिकबीचको टुट्दो सम्बन्धको उदाहरण पनि हो । यसले हाम्रो प्रणालीमा रहेको गम्भीर खोटलाई उजागर गरेको छ, जहाँ शक्तिमा हुनेहरूका लागि कानुन र नैतिकताका मापदण्डहरू फरक हुन्छन् । अन्यथा हिट एन्ड रनको केश चल्नुपर्ने प्रकरण थियो यो । सडकमा गुड्ने रातो नम्बर प्लेटको गाडीले आम मानिसलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने हो । तर, नागरिक त्रसित हुनुपर्ने देखिएको छ ।
मन्त्री मगरको गाडीले बालिकालाई मात्र होइन, आम नागरिकको विश्वास र आशालाई पनि ठक्कर दिएको छ । घटनामा संलग्न मन्त्रीलाई कानुनी कारबाही र नैतिक प्रश्नहरूको कठघरामा उभ्याउनु जरुरी छ । तर, त्योभन्दा पनि महत्वपूर्ण, यस्ता घटनालाई राजनीतिक लाभहानिको तराजुमा जोख्ने र संरक्षण दिने नेतृत्वको प्रवृत्तिमाथि नागरिक स्तरबाट निरन्तर खबरदारी आवश्यक छ । नत्र भने, लोकतन्त्रको खोल ओढेको यो सत्ताको उन्मादले मानवतालाई कुल्चिइरहनेछ ।