फेसबुक : वरदान कि अभिशाप ?

 डा. बालकृष्ण साह

मानव जीवन कहिल्यै स्थिर रहँदैन । समयसँगै मानिस, समाज र संस्कृतिले पनि निरन्तर नयाँ स्वरूप ग्रहण गर्छ । सञ्चारको इतिहासमा पनि यही यात्रा देखिन्छ । पहिला जानकारीका लागि मान्छे खटाउनु पथ्र्याे । पत्र पठाउने, तार (छोटो सन्देश) पठाउने समय पनि आयो । टेलिफोन हुँदै आज मोबाइल र सामाजिक सञ्जालसम्मको प्रयोग हामीले देखेकै हो । यस यात्राको नवीनतम अध्याय हो—फेसबुक ।

फेसबुक आएको दिनदेखि नेपाली समाजमा एउटा ठूलो परिवर्तन आयो । गाउँ–सहर, देश–विदेश—सबै दूरी एकै क्लिकमा दुरी घटे । म्यासेन्जर र व्याहट्सअपले त विदेशमा पसिना बगाइरहेका लाखौँ नेपाली श्रमिकका लागि जीवनरेखा नै बने । मलेसिया, कतार वा दुबईमा बस्ने छोरा–बुहारीले हरेक रात आमाबाबुसँग भिडियोमा कुरा गर्न सके, नाति–नातिनीका अनुहार देखाउन सके । त्यो छोटो तर मीठो संवादले टाढा भए पनि परिवारलाई नजिक बनायो ।

व्यवसायको दुनियाँमा फेसबुकले चमत्कार ग¥यो । सानो पसलको मालिकदेखि ठूला कम्पनीसम्मले आफ्नो उत्पादन÷सेवा प्रचार गर्न पाए । फेसबुक पेज र मार्केटप्लेसले नयाँ ग्राहक भेटायो । एउटा तस्बिर वा विज्ञापनले हजारौँ सम्भावित ग्राहकसम्म पुग्ने बाटो खोलिदियो । यही माध्यमले थुप्रै युवाले आफ्ना साना उद्यमलाई ठूलो बनाएका छन् ।

सामाजिक सेवामा पनि फेसबुक वरदान बनेको छ । रक्तदान अभियानदेखि बिरामीको लागि सहयोग संकलनसम्म—सबैभन्दा छिटो सूचना फैलाउने प्लेटफर्म यही हो । कुनै परिवारलाई अस्पताल खर्च तिर्न नसक्दा कसैले फेसबुक पोस्ट ग¥यो भने केही घण्टामै सहयोग जुट्ने घटना हामीले धेरै देख्यौँ । यसले सहानुभूति र मानवीय संवेदना जगाएको छ । तर, जसरी घामसँगै छायाँ पनि हुन्छ, फेसबुकसँगै विकृतिहरू पनि बढे ।

तथ्यविहीन समाचारहरू, अफवाह, चरित्र हत्या गर्ने फेक प्रोफाइलहरू समाजमा हावी भए । अरूलाई अपमानित गर्ने, फोटो-भिडियो मार्फत ब्ल्याकमेल गर्ने प्रवृत्ति बढ्यो । किशोर–किशोरीहरूले पढाइभन्दा बढी समय स्क्रोलिङमा बिताउन थाले । “लाइक” र “फोलोअर”को संख्याले मानिसको मूल्याङ्कन हुने संस्कृतिले वास्तविक मानवीय सम्बन्धलाई आभासी बनाइदियो ।
विशेषगरी विद्यार्थी वर्गमा फेसबुक लतझैँ भयो । होमवर्कभन्दा “स्टाटस अपडेट” महत्वपूर्ण भयो, किताबभन्दा “नोटिफिकेशन” आकर्षक लाग्यो । यसले अनुशासनमा कमी ल्यायो, समयको वर्वाद बढायो । कतिपयले भने मानसिक तनाव, तुलना र आत्मसम्मानमा ह्रासको अनुभव गरे ।

यस्तै बेलामा, सरकारले एकाएक घोषणा ग¥यो—नेपालमा दर्ता नगरेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द हुन्छन् । त्यसमा फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, युट्युबजस्ता ठूला प्लेटफर्म पनि परे । अहिले लाखौँ प्रयोगकर्ताले अचानक आफूसँगैको संसार हराएको जस्तो महसुस गरेका छन् ।यस प्रतिबन्धको तर्क सरकारको नजरमा स्पष्ट छ—डिजिटल सार्वभौमिकता, प्रयोगकर्ताको डाटा सुरक्षा, साइबर अपराध नियन्त्रण । उनीहरूको भनाइ छ, दर्ता नगरेर चल्ने प्लेटफर्महरूले नेपालको कानुनलाई बेवास्ता गरेका छन् । त्यसैले कानुनी स्वीकृति नगरेसम्म बन्द गर्नु परेको हो ।

तर, नागरिक स्तरमा अनुभूति फरक छ । धेरैले यसलाई अभिव्यक्ति स्वतन्त्रताको हनन् मानेका छन् । किनकि विचार, भावना, सूचना आदान–प्रदान गर्ने प्रमुख माध्यम नै खोसिएको छ । पत्रकार, लेखक, सामाजिक अभियन्ता—सबैले आफ्नो स्वर गुमाएको महसुस गरेका छन् । विदेशमा रहेका नेपाली परिवारसँग सम्पर्क गर्न पनि कठिन भएको छ ।

तर, प्रतिबन्धसँगै अर्को दृष्टि पनि उठेको छ । कतिपयलाई लाग्छ—यो अवरोधले केही विकृति थामिएको छ । फेक न्युज, गलत प्रचार, अनावश्यक स्क्रोलिङ—यी सबैबाट केही समयका लागि भए पनि समाज “डिजिटल डिटक्स” भएको छ । विद्यार्थीहरू अलिक पढाइतिर फर्किएका छन् भन्ने अभिव्यक्ति पनि सुनिन्छ ।

यसरी हेर्दा, फेसबुक न त पूर्ण वरदान हो, न त शुद्ध अभिशाप । यो त एउटा शक्तिशाली उपकरण हो, जसलाई हामीले कसरी प्रयोग गर्छौँ भन्नेमा यसको स्वरूप निर्भर हुन्छ । सचेत, जिम्मेवार र अनुशासित प्रयोग गर्दा यो सम्पर्क, सहयोग र सम्भावनाको अद्भुत पुल हो । तर लापरबाही, लोभ र असावधानीका साथ प्रयोग गर्दा यो समयको लुटेरा र समाजको विकृति बन्छ ।
आजको यो प्रतिबन्धलाई हामी एउटा अवसरका रूपमा पनि लिन सक्छौँ । स्व–मूल्याङ्कन गर्ने, डिजिटल जीवनमा अनुशासन ल्याउने र गलत प्रयोगलाई नियन्त्रण गर्ने अवसरका रुपमा स्वीकार गर्न सक्छौं । सरकारसँगै नागरिकले पनि बुझ्नुपर्छ—सञ्जालभन्दा ठूला हाम्रा मूल्य, हाम्रो संस्कृति र हाम्रो विवेक हुन् ।

अन्ततः प्रश्न यति मात्र हो— फेसबुक हाम्रो जीवनमा वरदान हो वा अभिशाप ? उत्तर हाम्रै हातमा छ ।

Supported only between 1944-2022