
गोकुल पराजुली
नेकपा एमालेको विधान महाधिवेशन चलिरहेको छ । सरकारको नेतृत्व गरिरहेको दल भएको हिसाबले पनि नेकपा एमालेले आगामी दिनमा लिने संगठनात्मक मार्ग कस्तो हुन्छ, संघीय लोकतान्त्रिक व्यवस्था र यससँग सम्बन्धित समावेशी समानुपातिक प्रतिनिधित्वको सवालहरुमा कस्तो नीति अख्तियार गर्दछ भन्ने हिसाबले यो महाधिवेशनलाई सबैले नियालिरहेका छन् ।
लोकतन्त्रको प्रमुख संवाहक दाबी गरिरहेको दलको यो महाधिवेशनका केही महत्त्वपूर्ण संयोगहरु पनि यस पटक देखिए । महाधिवेशनको उद्घाटन हुँदै गर्दा नेपालमा सञ्चालित महत्त्वपूर्ण सूचना सञ्चारका माध्यमको रुपमा रहेका सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ । यसले विश्वभर नेपालमा अभिव्यक्ति स्वतन्त्रता संकुचन भएको सन्देश गइसकेको छ । नियन्त्रित लोकतन्त्रको अभ्यासमा सरकार अघि बढेको सन्देश दिँदै प्रधानमन्त्रीको दलको विधान महाधिवेशन उद्घाटन गरिएको छ ।
कुरा त्यतिमा मात्र सीमित छैन उक्त दलभित्रको आन्तरिक लोकतन्त्र पनि निकै कमजोर बनेको खबरहरु सार्वजनिक रुपमै आइरहेका छन् । नेकपा एमालेको चितवन महाधिवेशनबाट फरक मत राख्ने पार्टीका नेता कार्यकर्ताहरुप्रति निर्मम बन्ने अभ्यासलाई सतहमै ल्याएका केपि शर्मा ओलीले यो विधान महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीका पूर्व उपाध्यक्ष विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय केन्द्रीय समितिबाटै गराए । यसले फरक मत राख्ने वा अध्यक्षको कुर्सीमा आँखा लगाउनेहरु पार्टीको सदस्य बन्न योग्य छैनन् भन्ने सन्देश दिइसकेको थियो । उक्त निर्णयको विपक्षमा नोट अफ डिसेन्ट लेख्ने र नलेख्ने नेताहरुले निर्णय सच्याउनु पर्छ भन्ने आवाज उठाइनै रहेको अवस्थामा पार्टी अध्यक्षको प्रतिवेदनको विरुद्धमा फरक राजनीतिक प्रतिवेदन आउने देखिएपछि केन्द्रीय समिति बैठक नै रद्ध गरिदिएका थिए ।
त्यतिमात्र होइन महाधिवेशन हलमा नेता कर्ण थापाको फरक मतको प्रस्तावलाई प्रस्तुत नै गर्न नदिई समूहमा छलफल गर्न भनियो । यसले नेकपा एमालेले भन्दै आएको जनताको बहुदलीय जनवादको धज्जी त उडाएकै छ सँगसँगै नेकपा एमाले कम्युनिष्ट नामधारी तर त्यस अनुसार वैचारिक, राजनीतिक र संगठनात्मक प्रतिबद्धताबाट च्युत भएको दलको रुपमा अघि बढिरहेको प्रष्ट देखिन्छ ।
यो महाधिवेशनका क्रममा एमाले अध्यक्ष ओलीले अन्य वामपन्थी दलहरुको सन्दर्भलाई लिएर अभिव्यक्त गरेको दृष्टिकोणले पनि अब नेकपा एमाले कम्युनिष्ट पार्टी होइन भन्ने ठाउँमा उभिन खोजेको देखिन्छ । किनभने एउटा कम्युनिष्ट पार्टीका लागि जतिसुकै प्रतिस्पर्धी भए वा नभए पनि अर्को कम्युनिष्ट पार्टीले लिएको वैचारिक राजनीतिक कार्यदिशाका आधारमा गरिने मूल्यांकन र व्यवहार मित्रवत नै हुन्छ । आफू क्रान्तिकारी र अरु संशोधनवादी भन्ने दृष्टिकोण राख्न सकिन्छ । आफू वामपन्थी अर्को उग्रवामपन्थी पनि भन्न सकिन्छ । हामी नै सहि छौं भन्दै गर्दा संशोधनवादी वा उग्रवाम विचार राख्ने कम्युनिष्ट घटकहरुलाई क्रान्तिकारी धारमा ल्याउने ल्याकत पो राख्नुपर्छ । त्यसका लागि उसको ठीक ढंगको मूल्यांकन गर्ने क्षमता देखाउनु पर्छ । वैचारिक मतऐक्यताको अवस्था सिर्जना गर्ने, ध्रुवीकरण वा वाम एकताको आधार तयार पार्ने नभए पनि न्यूनतम अर्थमा मित्र शक्तिकै रुपमा हेर्नुपर्ने हो । तर एमाले अध्यक्ष ओलीले त्यो क्षमता देखाउन सकेनन् । उनले नजानेर होइन जानी बुझी अहिलेको सत्ताको स्वादलाई निरन्तरता दिन नेकपा माओवादी केन्द्रलाई एमालेको सबैभन्दा विपरीत विचार बोक्ने दलको रुपमा व्याख्या गरे । उनले माओवादीका विरुद्ध ‘एण्टिथेसिस’ भन्ने शब्द नै प्रयोग गरे ।
राजनीतिक भाषामा ‘एण्टीथेसिस’ भन्नाले परस्पर विरोधी वा विपरीत विचारहरूलाई एकसाथ, प्रायजसो सन्तुलित व्याकरणीय संरचनामा प्रस्तुत गर्ने एउटा बयानबाजीको शैली हो । उनले एमाले र माओवादी नितान्त भिन्न विपरीत विचार बोक्ने शक्ति हो भन्ने कुरालाई कठिनपूर्वक कनिकनी पुष्टि गर्ने प्रयत्न देशभरका नेता कार्यकर्ताहरुको बिचमा गरे । अर्थात उनले एमालेको लडाइँ अझ केही समय माओवादी शक्तिसँगै हो भनेर महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुलाई प्रशिक्षित गरे । यतिधेरै विपरीत विचार थियो भने सात वर्ष अगाडि उनले किन त्यही माओवादीसँग एकता गरे ? त्यसको बारेमा भने उनले महाधिवशेनमा व्याख्या गर्न आवश्यक ठानेनन् । किन भने ओलीलाई मैले गल्ती गरें भन्न आउँदैन । उनी एकता गरेर पनि ठीक गरें अनि अहिले एकता नटिकेपछि पनि ठिकै भयो भनिरहेका छन् । यो उनमा रहेको वैचारिक दोष नै हो । उनले माओवादीलाई एण्टिथेसिस भनेर एमालेबाट भड्किएर जानसक्ने मतलाई आफूसँगै राख्ने प्रयत्न मात्र गरेका हुन् । अर्थात सिधा अर्थमा भन्दा भोट जोगाउनकै लागि उनले माओवादीको सन्दर्भमा यो ढंगको अस्वभाविक शब्दको सहयोग लिएका हुन् । राजनीतिक दर्शनमा मार्टिन लुथर किङ जुनियरले एण्टिथेसिसको प्रयोगलाई यसरी भनेका थिएः ‘हामीले दाजुभाइका रूपमा सँगै बस्न सिक्नुपर्छ वा मूर्खका रूपमा सँगै नाश हुनुपर्छ ।’ के यतिधेरै विपरीत शक्ति हुन् त एमाले र माओवादी ? कि अब नाश हुने बाटोमै लागेको हो ?
केपी ओलीको विचारमा, माओवादी आजको सन्दर्भमा उनको पार्टी नेकपा एमाले वा उनले प्रतिनिधित्व गर्ने विचार, नीति र लक्ष्यहरूको ठीक विपरीत, परस्पर विरोधी वा मुख्य प्रतिद्वन्द्वी हो । वैचारिक भिन्नता, नीतिगत भिन्नता र राजनीतिक प्रतिद्वन्द्विताको रूपमा माओवादीलाई ओलीले हेरेको देखिन्छ । माओवादीलाई ‘आजको दिनमा एण्टीथेसिस हो’ भन्नुले माओवादी एमालेको वैकल्पिक प्रतिस्पर्धी शक्ति बन्न सक्छ भन्ने त्रास वा चिन्तालाई अप्रत्यक्ष रूपमा उजागर गरेको छ ।
ओलीले माओवादीलाई एमालेको विचार, नीति र लक्ष्यको ठीक उल्टो शक्तिको रूपमा प्रस्तुत गर्न खोजे । यसमा निहित अर्थ के हो भने, जब कुनै शक्तिलाई ‘एण्टीथेसिस’ को रूपमा चित्रण गरिन्छ, यसले त्यो शक्तिलाई सामान्य प्रतिस्पर्धीको रूपमा नभएर महत्वपूर्ण र प्रभावशाली विरोधीको रूपमा स्वीकार गरेको देखाउँछ । यदि माओवादीलाई ओलीले कुनै अर्थपूर्ण चुनौती नदेख्ने भए, उनीहरूलाई ‘एण्टीथेसिस’ जस्तो बलियो शब्द प्रयोग गरेर चित्रण गर्ने थिएनन् । त्यसैले, ‘एण्टीथेसिस’ भनेर सम्बोधन गर्दा, यसले माओवादीसँग एमालेको टक्करको सम्भावनालाई स्वीकार गरेको र माओवादीलाई एमालेका लागि एउटा प्रमुख वैचारिक तथा राजनीतिक चुनौती वा वैकल्पिक शक्तिको रूपमा हेरिएको भन्ने बुझ्न सकिन्छ ।
माओवादीलाई हेर्ने यो दृष्टिकोणले एमाले अध्यक्ष ओलीमा माओवादीप्रति पहिलो त अतिधेरै कुण्ठा रहेको देखाउँछ भने दोस्रोमा कुनै पनि बेला आफ्नो दलको प्रतिस्पर्धी शक्ति बन्न सक्छ भन्ने त्रास देखिन्छ । किनभने नेकपा एमालेले लिँदै आएको विचार र माओवादीले लिइरहेको विचारमा खास ठूलो भिन्नता छैन । दुवै कम्युनिष्ट पार्टी हुन् र दुवैले माक्र्सवाद, लेलिनवादलाई स्वीकार गर्दछन् । माओवाद एमालेले स्वीकार गर्दैन माओवादीले पनि माओवादलाई नाममा मात्र सीमित राखेर नेकपा बन्दाको बखतमा जनताको जनवादकै अभ्यासमा कायम राखिरहेको छ । भन्नलाई एक्काईसौं शताब्दीको जनवाद भनेपनि यो एमालेले लिइरहेको कार्यदिशा भन्दा खासै टाढा छैन । ओलीले अहिले नेपाली विशेषताको समाजवादको अवधारणा पनि अघि सारिरहेका छन् माओवादी पनि समाजवाद उन्मुख कार्यदिशाको अनुसन्धानमै छ । यति भएपछि एमालेका लागि माओवादी कसरी एण्टिथेसिस भयो ?
एमाले र कांग्रेसको विचार नितान्त भिन्न हुनुपर्ने हो नेपाली राजनीतिक दलहरुको सन्दर्भमा । एण्टिथेसिस त त्यहाँ हुनसक्छ नि । तर कसरी माओवादी एण्टिथेसिस भयो ? यो पछिल्ला दिनमा नेकपा एमालेले गर्दै आएको व्यवहार, उसको कार्यशैली, जनतामा अलोकप्रिय बन्दै गएको साख र निराशाका कारण वामपन्थी जनमत र सहानुभूतिको लाभ माओवादीले लिनसक्छ भन्ने त्रासकै कारण उनले अमिल्दो विश्लेषण गरेका हुन् भन्नेमा शंका छैन । होइन भने उनले माओवादी देशको सामाजिक राजनीतिक नेतृत्व गर्न नसक्ने अवस्थामा पुगिसकेको शक्ति हो भनेर भन्दै गर्दा यो ठाउँमा एण्टिथेसिस शब्दको प्रयोग गर्नुपर्ने हो र ? अवश्य पनि होइन । उनलाई यहिँनेर त्रास छ ।