आक्रमणकारीलाई कार्वाही गर

 सम्पादकीय

सुनसरीको इटहरी–७ बजराहामा भदौ ७ गते राति भएको जघन्य आक्रमणले नेपाली समाजमा राजनीतिक संरक्षण र प्रहरीको निष्क्रियताको भयावह सञ्जाललाई फेरि एकपटक उजागर गरेको छ । नेकपा एमालेका जिल्ला कमिटी सदस्य महेश चौधरीसहितको समूहले २४ वर्षीय युवा राज कटुवालमाथि घरमै पसी निर्घात कुटपिट गरी हातखुट्टा भाँचिने गरी आक्रमण गर्नु केवल एक सामान्य झडप नभएर पूर्वनियोजित र प्रतिशोधात्मक हिंसा हो । गाउँकै चिनजानका महेश चौधरी एक्लै राजको घर पुग्नु, आमा सीताले ढोका खोल्नासाथ सँगै रडसहितका १०–१५ जनाको समूहले घरभित्र पसी आक्रमण गर्नु, र त्यसपछि एम्बुलेन्स रोक्ने प्रयास गर्नु—यी सबैले घटना आकस्मिक नभई योजनाबद्ध भएको स्पष्ट संकेत गर्छन् । आक्रमणपछि प्रहरीलाई खबर गर्दा पनि प्रहरीको ढिलासुस्ती, पीडित पक्षको जाहेरी पाँच दिनसम्म नलिनु र मुख्य आरोपी अझै पनि फरार हुनु अत्यन्त चिन्ताजनक कुरा हो ।

राजनीतिक पहुँच भएका व्यक्तिले आपराधिक गतिविधिमा संलग्न हुँदा राज्य संयन्त्र त्यसको अनुसरण गर्न सक्दैन भने सर्वसाधारणलाई न्याय कहाँबाट मिल्ने ? पीडित परिवारले महेश चौधरीलाई एमालेका नेताहरूले संरक्षण दिएको आरोप लगाएका छन् । यदि साँच्चै राजनीतिक दबाबका कारण प्रहरी निष्क्रिय भएको हो भने यो लोकतन्त्रको गम्भीर विफलता हो । यो घटनाले प्रहरी प्रशासनको निष्पक्षता र कानुनी प्रक्रिया माथि गम्भीर प्रश्न उठाएको छ। पाँच दिनसम्म जाहेरी नलिनु, आक्रमणकारीको गाउँमै लुकेको भनिँदा पनि पक्राउ नगर्नु, र प्रारम्भिक अनुसन्धानमा दिनको झगडालाई रातिको हिंसाको कारण देखाउनु—यी सबै कुराले प्रहरीको भूमिका माथि प्रश्न उठेको छ ।

दुईतर्फी झगडा भएपनि त्यसको सन्दर्भमा समूह बनाएर घरभित्र पसी रडले आक्रमण गर्नु गम्भीर आपराधिक गतिविधि हो, जसलाई सामान्य विवाद भनेर मलिन बनाउन सकिंदैन । यस्तो आक्रमणले नागरिक सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गरेको छ । पीडित अहिले अस्पतालमा छटपटिइरहेका छन्, अप्रेसन भइरहेको छ, र परिवार अन्योलमा छ । अपराधी भने राजनीतिक आडमा खुलेआम हिँडिरहेका छन् भन्ने आरोप गम्भीर हो र यसको सत्यतथ्य तत्काल सार्वजनिक गरिनुपर्छ । यो घटनाले देखाएको छ—जब अपराधमा संलग्नहरू राजनीतिक दलसँग जोडिन्छन्, तब उनीहरू कानूनभन्दा माथि ठानिन्छन् । तर राज्यको मूल जिम्मेवारी हो—कुनै पनि नागरिकमाथि अन्याय हुँदा तुरुन्त र निष्पक्ष न्याय सुनिश्चित गर्नु । प्रहरी प्रशासनले यो घटनामा ढिलासुस्ती गरेर पीडितको पीडा बढाएको छ ।

यो प्रकरणमा ढिलाइ नगरी मुख्य आरोपी महेश चौधरीलाई तत्काल पक्राउ गरिनुपर्छ । दोषी जो–कोही भए पनि उनीहरूलाई कानुनी दायरामा ल्याइनुपर्छ । घटनाको गहिरो र निष्पक्ष अनुसन्धान होस्, पीडितलाई न्याय मिलोस्, र प्रहरीको भूमिकामाथि उठेका प्रश्नहरूको जवाफ सार्वजनिक रूपमा दिइयोस् । यसबाट मात्र राज्यप्रति नागरिकको विश्वास पुनस्र्थापित हुनेछ ।

Supported only between 1944-2022