विराटनगर । मोरङमा गत वर्ष १९ वटा काठबाट बनेका पुराना घरहरु स्थानान्तरण भएका छन् । कोशी प्रदेश सरकारले एक पटकका लागि गत आर्थिक वर्ष २०८१÷०८२ मा काठका घर स्थानान्तरण गर्ने अनुमति खुला गरेको थियो ।
कोशी प्रदेश सरकारले पुराना काठका घरहरू स्थानान्तरण गर्न वा भत्काएर काठ बिक्री गर्नका लागि एक पटकका लागि खुला गर्ने नीति बजेटमार्फत अगाडि सारेको थियो । त्यसबाट मोरङका १९ घर परिवारले लाभ लिएको पाइएको हो ।विगतमा धेरै वर्षसम्म काठको घर हुनेहरुले एक ठाउँबाट अर्को ठाउँमा घर सार्न पाइरहेका थिएनन् । पक्का घर बनाउन चाहनेहरुले पनि काठको घर बिक्री गरेर आम्दानी गर्न नसक्ने अवस्था थियो । सोही समस्या देखेर गतवर्ष सरकारले घरसार गर्न सक्ने व्यवस्था गरेको थियो । सरकारको उक्त निर्णयबाट ३ लाख ९ हजार ७८८ रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस अवधिमा ४ हजार २४०.४७ क्युबिक फिट ( कुल ८,१९४ थान) काठको ओसारपसार भएको थियो । सरकारले यसबाट कुल २ लाख ५७ हजार ९१२ रुपैयाँ मूल्य अभिवृद्धि कर (मु.अ.कर) र ५१ हजार ८७६ रुपैयाँ प्रदेश सेवा शुल्क प्राप्त गरेको छ । १९ घरमध्ये दुईवटा घरका काठ स–मिललाई बिक्री गरिएको डिभिजन वन कार्यालय मोरङले जानकारी दिएको छ ।
मोरङका विभिन्न पालिकाहरु लेटाङ, उर्लाबारी, बेलबारी, केराबारी, सुन्दरहरैंचा, कानेपोखरी, मिक्लाजुङ, र रतुवामाईबाट घरहरू लेटाङ, मंगलवारे, बेलबारी, केराबारी, जाँते, कानेपोखरी, लाटीझोडा, पथरी, मधुमल्लालगायतका स्थानमा सारिएको थियो ।
यसले सहरीकरण बढ्दै गाँदा ग्रामीण क्षेत्रका बासिन्दाहरु पुराना काठका घरहरु व्यवस्थापन गर्न थालेको देखाएको छ । पछिल्लो समय विशेषगरी सहरी र अर्ध–सहरी क्षेत्रमा काठका घरहरू बनाउने प्रचलन घट्दै गएको छ । कंक्रीट र पक्की संरचनाहरूमा बस्ने चाहना बढ्दै जाँदा पुराना काठका घरहरू विस्थापित भइरहेका छन् । काठको प्रचुरता भएका गाउँघरमा समेत अब कंक्रिटको संरचना बनाउने चलन बढ्दै गएको पाइएको छ । जसले गर्दा परम्परागत काठका घरहरू घट्दै हुँदै गएका छन् ।
उर्लाबारीबाट आफ्नो घर मंगलवारे सारेका इन्द्रबहादुर कँडेलले भने, “पुराना काठका घरहरू सुरक्षाको हिसाबले पनि कमजोर हुन थालेकोले पुराना काठहरू व्यवस्थापन गरेका हौं ।”त्यस्तै, अनमोल स–मिललाई काठ बिक्री गरेका सन्तोष कार्कीले “गाउँघरमा पनि अब काठको घर बनाउने चलन हराउँदै गएकोले अर्को घर बनाउन पुरानो काठको घर बेचेका हौं,” बताए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!