
बाबुराम गौतम
नेपाली मजदुर आन्दोलन वि.सं. २००३ साल वरिपरिबाट व्यवस्थित रूपमा सुरु भएको पाइन्छ । त्यसभन्दा अगाडि छिटपुट रूपमा सानासाना कार्यक्रमहरू कारखाना स्तरमा भएपनि सिंगो क्षेत्रकै मजदुरहरूले संगठित रूपमा संगठन निर्माण र संघर्षको थालनी गरेको त्यो नै पहिलो परिघटना थियो । राणा तानाशाही जहानियाँ व्यवस्थामा त्यसबेला मजदुरहरूले थालनी गरेको त्यो सामूहिक आन्दोलनले सिंगो देशका जनतामा जागरण ल्याउने काम ग¥यो । राणा शासनको बेलामा त्यो आन्दोलन चलाउनु चानचुने कुरा थिएन । यता काठमाडौंको सत्ताका केन्द्रमा बसेका राणाहरूको मुटुमै ढ्यांग्रो ठोकिदिएको थियो ।
सुरुमा विराटनगरका सचेत मजदुर नेताहरू तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, गेहेन्द्रहरि उपाध्याय, मनमोहन अधिकारी, युवराज अधिकारी जस्ता नेताहरूको पहलमा २००३ सालको मजदुर आन्दोलन संगठित गर्न पहल गरेको देखिन्छ । त्यसमध्ये पनि भारतीय कम्युनिस्ट पार्टीमा काम गरेर खारिएर आएका र पूर्व योजनाबमोजिम नै मजदुर संगठनलाई उठाउन प्रयत्नशील मनमोहन अधिकारीको प्रस्ताव मजदुर संगठनमा मनमोहन अधिकारीको प्रभाव मजदुर संगठनमा ह्वात्तै बढेको देखिन्छ ।
नेपालमा राणाशाहीको शासन भएको त्यसबेलामा देशभित्र पार्टीहरू खुल्ने र चल्ने अवस्था थिएन । त्यस्तो बेलामा भर्खरभर्खर संगठनको महत्व बुझ्दै गएका मजदुरहरू क्रमशः मनमोहन अधिकारीप्रति आकर्षित भएको देखेपछि तत्कालीन भारतीय सोसलिस्ट पार्टीको प्रभावमा परेका तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालाहरूलाई मन परेन र उनीहरूले आफ्नो मात्र प्रभावले काम नगर्ने देखेपछि भारतको बनारसमा भएका बीपीलाई झिकाउँछन् । यता मनमोहनलाई पनि अप्ठ्यारो पर्ने देखिएपछि उहाँले पनि आफ्नो सहयोगका लागि भारतीय कम्युनिस्ट पार्टीका माइलाबाजेलाई बोलाएको पाइन्छ । यसरी भर्खर–भर्खर सुरुवात भएको नेपालको मजदुर आन्दोलन जन्म नै नपाउँदै विवादको बीचबाट गुज्रन बाध्य हुन्छ । नाम के राख्ने, झन्डा कस्तो बनाउने, क–कसले के–के जिम्मा लिने जस्ता विवादहरूका बीच अन्ततः दुवै पक्षको सहमतिमा साझा संगठनको रूपमा ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड युनियन कांग्रेस नामक ट्रेड युनियन मजदुर संगठन निर्माण भयो भने हँसिया–हथौडासहितको रातो झन्डा राख्ने सहमति भयो । नेतृत्व भने गिरिजाप्रसाद कोइरालालाई अध्यक्ष र मनमोहन अधिकारीलाई महासचिव चुनियो ।
नेपाली मजदुर आन्दोलनको पहिलो मागपत्रनेपालको इतिहासकै पहिलो वर्गसंघर्षको रूपमा सुरु भएको त्यस आन्दोलनमा नेपाली मजदुरहरूले निकै व्यवस्थित रूपले आन्दोलन चलाएको पाइन्छ । भर्खर–भर्खर जन्मिएको नेपाली मजदुरहरूको त्यसबेलाको मागपत्रलाई नियाल्दा आजका आधुनिक युगका मजदुर वर्गलाई समेत मार्गदर्शन गरेको पाइन्छ । त्यसबेलाको नागरिकहरू समेत रैती भएको बेलामा यी मागहरूलाई निकै उच्चकोटीको मागपत्र मान्न सकिन्छ । उनीहरूका माग यस प्रकार थिए :
– खाइपाइ आएको तलबमा ३५ प्रतिशत वृद्धि हुनुपर्ने ।
– महँगीको अनुपातमा तलव वृद्धि हुनुपर्ने ।
– आठ घन्टा काम, कार्यदिन तोकिनुपर्ने ।
– चामल, चिनीजस्ता खाद्यवस्तु सहुलियतमा पाउनुपर्ने ।
– लत्ताकपडा सस्तो मूल्यमा उपलब्ध हुनुपर्ने ।
– ट्रेड युनियन खोल्न पाउनुपर्ने ।
– मजदुरहरूलाई सम्मानपूर्वक व्यवहार गरिनुपर्ने जस्ता महत्वपूर्ण मागहरू त्यस बेला समावेश गरिएका थिए ।
मजदुरहरूले २००३ साल फागुनबाट यी र यस्ता मागहरु तत्कालीन उद्योगहरूका कम्पनी मालिकहरूसँग पेस गरेर मजदुरहरूको व्यापक समर्थनमा आन्दोलनको सुरुवात गरेको पाइन्छ । कतिसम्म भने त्यसबेला विराटनगर क्षेत्रमा रानी क्षेत्रमा कार्यरत करिब–करिब सबैजसो मजदुरहरू आन्दोलनमा समेटिएको पाइन्छ । इतिहासमै पहिलोचोटि आफ्नो वर्गको उदय हुनु लगत्तै मजदुरको त्यो स्तरको आन्दोलन स्वयम् त्यसबेलाका मजदुर नेताहरूले सोचेभन्दा बढी सफल आन्दोलन उठेको मान्न सकिन्छ ।
मजदुर आन्दोलनमाथिको दमन
मजदुर आन्दोलन सुरु भएपछि विराटनगर जुटमिलका भारतीय सञ्चालक राधाकृष्ण सिन्हाले नेपालका राणा शासकहरूलाई दमनमा उत्रन र मजदुर आन्दोलनलाई निस्तेज पार्न माग गरेर श्री ३ पद्मशमशेरलाई पत्र लेख्छन् । उनको कुरा राणा शासकले नसुन्ने कुरै भएन । विराटनगरमा मजदुर हड्तालसहितको आन्दोलन दबाउने फौज नभएकोले काठमाडौंबाटै फौज पठाउनुपर्ने अवस्था थियो । राणाहरूलाई के निहुँ पाउँ भइरहेको अवस्थामा भारतीय व्यापारीहरूको उक्साहटमा सेनाको एउटा टुकडी विराटनगरतर्फ रवाना हुन्छ । करिब २२ दिन लगाएर विराटनगर पुगेको सेनाको टुकडीले सुरुमा मजदुर वर्गलाई बिनासर्त आत्मसमर्पणको आग्रह गर्दछ । तथापि मजदुरहरू आफ्ना मागप्रति दृढ देखिएपछि मजदुरका मुख्य नेताहरू पक्रिने र मजदुर आन्दोलनलाई तुहाइदिने अनि मजदुरहरूका केही माग पूरा गरिदिने दोहोरो नीति अवलम्बन ग¥यो ।
जसअन्तर्गत षड्यन्त्रपूर्ण तरिकाबाट मजदुर आन्दोलनका अगुवाहरू बीपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, गेहेन्द्र उपाध्याय, विकु, युवराज कोइराला समेतलाई गिरफ्तार गरियो । र, अरू केहीहरूलाई पनि गिरफ्तार गरियो । त्यसमध्ये माथि उल्लिखित नेताहरूलाई काठमाडौं चलान गरियो भने केहीलाई धनकुटा जेलमा राखियो । सुरुमा मजदुरले आफ्ना नेताहरू छुटाउन बडाहाकिमको क्वार्टर पनि घेर्न पुग्छन् । तर राणाहरूको हतियारबद्ध केन्द्रीय टोली करिब २५० को टोलीसँग मजदुरहरूको केही लाग्दैन र उनीहरू सबैलाई धरान, धनकुटा, भोजपुर, ओखलढुंगा हुँदै २२ दिन लगाएर काठमाडौं पु¥याइन्छ ।
मजदुरले प्राप्त गरेका उपलब्धिहरू
इतिहासकै पहिलो गौरवमय यो मजदुर आन्दोलनले अपेक्षा राखेका सबै माग त पूरा भएनन् तथापि उक्त आन्दोलनले नेपाली मजदुर आन्दोलनमा मात्र होइन, सिंगो राजनीतिक व्यवस्थाको जग नै हल्लाइदियो । नेपाली जनतामा राणाशाहीविरुद्ध लड्न र जित्न सकिन्छ भन्ने सन्देशसहितको तरंग देशभर गयो भने जहानियाँ राणाहरूमा भित्र मुटुदेखि कम्पन ल्याइदियो । २०१५ सालको जनविद्रोहको लागि एउटा आधार नै यही मजदुर आन्दोलनले बसाइदियो भने यता मजदुरहरूले पेशागत रूपमा पनि केही राहत पाए । उक्त आन्दोलनको उपलब्धिका रूपमा मजदुरहरूको १५ प्रतिशत तलब वृद्धि भयो भने अन्य सुविधाहरूको हकमा कटिहार, भारतका मजदुरहरूले पाए सरह सुविधा पाउने भए । त्यस्तै हड्ताल अवधिको तलब पनि मजदुरले प्राप्त गर्ने भए ।
यसप्रकार करिब २३ दिन चलेको त्यो महान् अनि पहिलो मजदुर आन्दोलन तत्कालका लागि अन्त्य भयो । यद्यपि यो आन्दोलनले २००७ सालको जग, जनआन्दोलनको बिउ रोप्यो, जसले देशबाट राणाशासन सदाका लागि इतिहासको गर्भमा विलुप्त गराइदियो ।
२००७ सालको क्रान्तिमा मजदुर वर्गको भूमिका
२००३ सालको पहिलो ऐतिहासिक मजदुर आन्दोलनपछि पनि मजदुर वर्ग सेलाएन । वर्गीय विशेषताका हिसाबले ऊ शान्त हुन पनि मिल्दैनथ्यो । संघर्षबाट खारिएको र केही क्षति, केही उपलब्धिसहित टुंगिएको उक्त आन्दोलनले छाडेको प्रभावचाहिँ निकै प्रभावकारी र दूरगामी प्रभाव छाडेको थियो । छिटपुट रूपमा मजदुरहरूका संघर्षका अतिरिक्त अब मजदुर वर्ग, मजदुर केवल मजदुर वर्ग मात्र थिएन । नेपाली समाजमा राणाशाहीविरुद्ध भुसको आगो जस्तो भएको जनआक्रोशलाई अभिव्यक्त गर्ने थलो बनिसकेको थियो ।
नेपालमा भर्खर जन्मिएको नेपाली राष्ट्रिय कांग्रेस र बन्नै लागेको नेकपाका नेताहरूले आफ्नो कार्यथलो विराटनगरको मजदुर आन्दोलनमा बनाइरहेका थिए । त्यस समयमा भारतमा ‘भारत छोडो’ आन्दोलन महात्मा गान्धीले नेतृत्वमा चलिरहेको अवस्थामा त्यहाँको प्रभाव नेपालमा नपर्ने कुरै भएन । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि त्यसको प्रभाव नेपालमा अझै तीव्र भएर गयो । भारतमा निर्वासित जीवन बिताइरहेका नेताहरूले भारतीय भूमिबाटै नेपालको स्वतन्त्रताका लागि, राणाशासनबाट मुक्तिका लागि संघर्षको नेतृत्व गरिरहेका थिए भने नेपालभित्र गरिने गतिविधिका लागि विराटनगर र मजदुरजस्तो संगठित शक्ति नेपालभित्र अन्त कतै थिएन ।
२००७ साल वैशाख १० गते नेकपाको स्थापना कलकत्ताको एउटा घरमा जम्मा भएर कमरेड पुष्पलालको नेतृत्व र पहलकदमीमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्यको उपस्थितिमा नेकपाको स्थापना भएको थियो। त्यस बैठकमा मोतिदेवी श्रेष्ठलाई पनि बोलाइएको तर उहाँ कारणवश स्वयम् उपस्थित हुन नसकेको कुरा नरबहादुर कर्माचार्यको अन्तर्वार्ताले पुष्टि गरेका छन् । जे होस्, त्यो ऐतिहासिक कार्यभार पूरा गरेपछि नेकपाले नेताहरूको कार्यविभाजन गर्दा नरबहादुर कर्माचार्यलाई विराटनगर क्षेत्रको राजनीतिक र मजदुर आन्दोलनको नेतृत्व दिएर विराटनगर पठाएको देखिन्छ ।
२००७ सालको आन्दोलनका बीचमा एउटा रोमाञ्चकारी घटना घट्न पुग्छ
नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वमा मुक्ति सेनाले विराटनगरमा आक्रमण गरेर विराटनगर क्षेत्र कब्जा गरिसकेको थियो । उक्त आन्दोलनमा विराटनगरका मजदुरहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । विराटनगरका बडाहाकिम उत्तमविक्रम राणा थिए । उनी सेनाको कडा पहरामा थिए । मुक्ति सेनाले बजार क्षेत्र सबै कब्जा गरिसके पनि बडाहाकिम उत्तमविक्रम राणालाई सुरक्षा दिइरहेको थियो ।
दुईतर्फ नै गोली हानाहान चलिरहेको थियो । कब्जा गर्न ढिलो भए काठमाडौंबाट पठाइएको थप फौज आइपुग्न सक्थ्यो । कोशी पारिसम्म राणा सरकारको सेना आइसकेको थियो । यस्तोमा परिवर्तनको त्यो महान् आन्दोलनलाई विराटनगरका मजदुरहरूले ठूलो योगदान पु¥याए । २००३ सालदेखि नै मजदुर आन्दोलन गरिरहेका पंचानन्द दासले एउटा उपाय निकाले । उनकै नेतृत्वमा कारखानाकै एउटा ट्याक्टरलाई तीन घेराको ट्यांकमा रूपान्तरण गरिदिए, जसले गर्दा सेनाको गोलीले चालकलाई नलाग्ने भयो । अन्ततः त्यही ट्याक्टरबाट बनाइएको ट्यांकले मुक्ति सेनाको कभरमा गएर उत्तमविक्रम राणाको ब्यारेक, क्वार्टरको पर्खाललाई भत्काइदियो । जुन ट्याक्टर गोरबन्दी भन्ने मजदुरले चलाएका थिए । जसको कारण राणा सेनाको सुरक्षा घेरा तोडियो र उत्तमविक्रम राणाले आत्मसमर्पण गरे ।
यो फिल्मी शैलीको रोचक प्रसंग भरतमोहन अधिकारी लिखित केही सम्झनाहरूमा पाइन्छ । उक्त ट्यांक गोरबन्दी भन्ने चालकले चलाएर मजदुर वर्गको साहसिक परिचय दिएका थिए । जुन नेपाली मजदुर वर्गले सधैँ–सधैँ सम्झिरहनेछ ।
यता विराटनगर मुक्ति सेनाको कब्जामा आइसकेको अवस्थामा भर्खर जेलबाट छुटेर मनमोहन अधिकारी विराटनगर आउँदै थिए । विराटनगर बोर्डर छेउबाटै मनमोहनलाई मुक्ति सेनाले नियन्त्रणमा लियो । त्यसबेला कम्युनिस्टको प्रभाव बढ्छ भन्ने डरले हुनुपर्छ, नेपाली राष्ट्रिय कांग्रेसका नेताहरूको प्रत्यक्ष निर्देशनमा मनमोहनलाई कायरतापूर्वक रघुपति जुट मिलको एउटा कोठामा थुनिन्छ ।
प्रजातान्त्रिक आन्दोलनका पक्षधर एक हुनुपर्ने त्यसबेलामा मनमोहन अधिकारीलाई नै बन्धक बनाउनु किमार्थ राम्रो संकेत थिएन । त्यसबेलासम्म मुक्ति सेनाले विराटनगर र तराईका अन्य सहर मात्र कब्जा गरेको थियो । काठमाडौंसहित देशको ठूलो भाग राणाकै कब्जामा थियो । कांग्रेस–कम्युनिस्ट मिलेरै काम गर्नुपर्ने बेला थियो । तर दुर्भाग्य, जे नहुनुपर्ने थियो, त्यही भयो । मनमोहन अधिकारीलाई नेपाली राष्ट्रिय कांग्रेसको सीधा निर्देशनमा मुक्ति सेनाले बन्दी बनायो ।
यो कुरा मजदुरहरूलाई चित्त बुझ्ने कुरा थिएन । मजदुरहरूले यस कुराको विरोध गरे । त्यसबेला नेकपाका संस्थापक सदस्य विराटनगर क्षेत्रको मजदुर आन्दोलनको नेतृत्व गर्न विराटनगरमै कार्यरत हुनुहुन्थ्यो । उहाँ रघुपति जुट मिलमा नाम ढाँटेर स्टोरकिपरको काम गर्नुहुन्थ्यो । उहाँले मजदुरहरूमा लोकप्रिय मनमोहनबाबुसँगै सम्पर्कमा रहेर संगठन निर्माणमा लाग्नुभएको थियो ।
यस्तोमा नरबहादुर कर्माचार्यले मनमोहन अधिकारीलाई छुटाउन योजना बनाउनुभयो । मनमोहनको मुक्तिका लागि मजदुरहरू गोलबन्द गर्नुभयो र करिब ४०० मजदुरहरूको जुलुसको नेतृत्व गर्दै उहाँले झन्डा–ब्यानरसहित मुक्ति सेनालाई दबाब दिनुभयो । तर दुर्भाग्य नै भनौँ, नेपाली राष्ट्रिय कांग्रेस र मुक्ति सेनामा एउटा अनौठो मात लागिसकेको थियो । उनीहरूले मनमोहन अधिकारीलाई छोड्नु त परको कुरा, मजदुरहरूलाई लाठीचार्ज गरी आफ्नै वर्गमाथि दमनचक्र चलाए । उनीहरूको अप्रत्याशित आक्रमणका कारण मजदुरहरू तितरबितर भए र अन्ततः नरबहादुर कर्माचार्यलाई पनि मुक्ति सेनाले नियन्त्रणमा लियो । नरबहादुर कर्माचार्यलाई पनि त्यहीँ थुनियो, जहाँ मनमोहनलाई थुनिएको थियो ।
नरबहादुर कर्माचार्यका अनुसार उहाँको जीवनकै सबैभन्दा तीतो क्षण नै त्यही थियो । बीपी स्वयम्लाई भेटेर कुरा गर्दा भएको यो परिघटनाले तत्कालीन कांग्रेस नेताहरूमा कम्युनिस्टप्रति कति आतंक रहेछ भन्ने देखाउँछ । गिरिजाप्रसाद स्वयम्ले नरबहादुर कर्माचार्यलाई कुटपिट गरेर नरबहादुर कर्माचार्यलाई हातपात गरेको कुरा नरबहादुर कर्माचार्यले ‘मूल्यांकन’ मासिकलाई दिनुभएको अन्तर्वार्तामा बताउनुभएको छ ।
फागुनमा बन्धक बनाइनुभएका दुवै नेतालाई झन्डै दुई महिना बन्धक बनाएर वैशाख २००८ मा मात्र छुट्नुभएको थियो ।
मजदुर संगठन संस्थापकको रूपमा नरबहादुर कर्माचार्य मजदुर आन्दोलनको पहिलो खण्डको रूपमा बीपी कोइरालासमेतको संलग्नतामा अगाडि बढेको थियो । बीपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, युवराज अधिकारी, विकु, तारिणीप्रसाद अधिकारी, तारिणीप्रसाद कोइराला, महेश उपाध्याय, नैनलाल बोहरा, रघुनाथप्रसाद गुप्ता, वंशीधरलाल दास, नरबहादुर कर्माचार्य, पंचानन्द दास, रामदास चौधरी, महेन्द्र चौधरी, के.बी. कार्की, गंगाबहादुर क्षेत्री, बाला तामाङ, बैजनाथ शाहलगायतका नेताहरू सक्रिय थिए।
त्यसमध्ये पहिलो पंक्तिका नेताहरू २००३ सालको मजदुर आन्दोलनको क्रममा राणाशाहीको कठोर जेलमा परिसकेपछि दोस्रो खण्डको रूपमा पुनः नेपाली राष्ट्रिय कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त मजदुर संगठन ट्रेड युनियनको रूपमा २०१६ साल भदौ २७ गते नेपाल ट्रेड युनियन कांग्रेस गठन भएको थियो । उक्त ट्रेड युनियनको अध्यक्ष नेपाली राष्ट्रिय कांग्रेसको वैचारिक प्रतिनिधित्व गर्दै बलवीर राई अध्यक्ष र नेपाल कम्युनिस्ट पार्टीको वैचारिक सांगठनिक प्रतिनिधित्व गर्ने नरबहादुर कर्माचार्य महासचिव चुनिनुभएको थियो ।
स्मरणीय यो छ कि नेकपा गठनपछि पार्टीको कार्यविभाजनअनुसार नै नरबहादुर कर्माचार्य विराटनगर खटिनु भएकोले यो संगठनलाई नेकपाले समेत मान्यता दिएको थियो । यसरी हेर्दा मजदुर आन्दोलनको पहिलो खण्डको ट्रेड युनियन स्वतःस्फूर्त रूपमा पार्टीहरूको योजनाबेगर बीपी कोइराला, मनमोहन अधिकारीजस्ता दिग्गज नेताहरूको स्वपहलमा भएको र बनाइएको संगठन थियो भने यो दोस्रो खण्डमा बनेको ट्रेड युनियनचाहिँ पार्टीको व्यवस्थित योजनामुताबिक विचार, राजनीति र संगठनको सुव्यवस्थित अभिव्यक्ति थियो ।
त्यसैले इतिहासमा नेताहरूले खेलेको ऐतिहासिक र महान् आन्दोलनको सम्मान गर्दै र गिरिजाप्रसाद कोइराला अध्यक्ष र मनमोहन अधिकारी महासचिव भएको ट्रेड युनियन कांग्रेसलाई पहिलो मजदुर संगठन मान्दै पार्टीनिकट मजदुर आन्दोलन जसले देशको राजनीति, विचार र सांगठनिक संगठनको क्षेत्रमा सुव्यवस्थित संगठन निर्माणको पहलकदमी लियो, त्यसलाई नै अखिल नेपाल ट्रेड युनियन महासंघको पहिलो जग र संगठन स्थापना दिवसको रूपमा मान्नुपर्दछ ।
त्यसैले अखिल नेपाल ट्रेड युनियन महासंघको स्थापना, संस्थापक नरबहादुर कर्माचार्यले यो स्तम्भकारलाई समेत बताउनुभए बमोजिम २००७ साल भदौ २७ लाई स्थापना दिवस मानी हरेक वर्ष भदौ २७ लाई मजदुर संगठन स्थापना दिवसको रूपमा मनाउनु सर्वथा न्यायोचित र यथार्थपरक हुन्छ ।
(लेखक कोशी प्रदेशका पूर्वसभामुख हुन् )