एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएलगत्तै पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगेको छ ।

महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो । पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् । महरविरुद्ध यसअघि पनि ती महिलाले यौन दुब्र्यव्यहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । तर, महान्यायाधीवक्ता कार्यालयले महरविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाउँदै केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर, बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन फुकुवा गरिएको थियो ।

बझाङ घर भएका महर प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बनेका थिए । उनी एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।

भदौ ११, २०८२, दिउँसोको ०४:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर