लगानीको सहज नीति भए आर्थिक गतिविधि चलायमान हुने

विराटनगर । नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेश समितिले प्रदेश सरकारसँग लगानीको सुरक्षा र व्यावसायिक वातावरण निर्माणका लागि आग्रह गरेको छ ।

विराटनगरस्थित होटल ह्यारिसन प्यालेसमा आयोजित अन्तरक्रिया कार्यक्रममा उद्योगीहरूले सरकारले लगानीको ग्यारेन्टी र विश्वासको वातावरण बनाउन सके वित्तीय संस्थामा थन्किएको पुँजीको सदुपयोग भई आर्थिक गतिविधि चलायमान हुने बताएका हुन् ।

कार्यक्रममा सिएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले दिगो औद्योगिक नीतिको अभाव, खस्किँदो स्थानीय बजार र विद्युत आपूर्तिको समस्याले उद्योगीहरू मारमा परेको बताए । उनले भने, “सरकारले लगानीको सुरक्षा र विश्वासको वातावरण बनाउन सके मात्रै वित्तीय संस्थामा रहेको तरलता बजारमा आउँछ र आर्थिक गतिविधि बढ्छ ।” अध्यक्ष सारडाले भारतीय नीतिका कारण पाम आयल र भेनियर प्लाइउडको निर्यातमा अवरोध आएको उल्लेख गर्दै यस समस्याको निराकरणका लागि प्रदेश सरकारले केन्द्रीय सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए ।

उद्योगीहरूले सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा देखिँदै आएका समस्या समाधानका लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन् । विद्युतको अनियमितता र निर्यातमा देखिएको अवरोधले यस क्षेत्रका उद्योगहरू प्रभावित भएका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले उद्योगीहरूले उठाएका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । उनले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिँदै आर्थिक नीति तथा कार्यक्रम निर्माण गर्दा सिएनआई जस्ता संस्थाहरूसँग छलफल गरी प्राप्त सुझावलाई ग्रहण गरिएको स्मरण गराए । मन्त्री रानाले भने, “कोशी प्रदेशमा उत्पादनका स्रोतहरू पर्याप्त छन्, प्रदेशकै कच्चा वस्तु प्रयोग गरेर उत्पादन थाल्नुहोस्, सरकार आवश्यक सहयोग गर्न तयार छ ।”

त्यस्तै, प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न सरकारभन्दा निजी क्षेत्रलाई सहज हुने भन्दै सरकारले यस प्रक्रियामा सहजकर्ताको भूमिका खेल्ने धारणा व्यक्त गरे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री अमनलाल मोदीले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरूको संरक्षण र उनीहरूका मागलाई आफूले सदनभित्र र बाहिर गम्भीर रूपमा उठाउँदै आएको बताए ।

परिसंघका केन्द्रीय अध्यक्ष विरेन्द्र राज पाण्डेले उद्योग व्यवसायको प्रवद्र्धनले मात्र नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए । उनले सो लक्ष्य प्राप्तिका लागि सरकारलाई सबै किसिमको सहयोग गर्न सिएनआई तयार रहेको स्पष्ट पारे । अध्यक्ष पाण्डेले सिएनआई कोशीले सुरु गरेको ‘इन्क्युबेसन सेन्टर’ र ‘बजेट वाच’ जस्ता कार्यक्रमलाई केन्द्रीय समितिले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

अन्तरक्रिया कार्यक्रममा परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, प्रमुख सल्लाहकार महेश जाजु, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उपाध्यक्ष गिरजा सारडा लगायतले विभिन्न विषयमा आफ्ना धारणा र सुझाव राखेका थिए । सिएनआई कोशीका महानिर्देशक विजयहरि शर्माले संस्थाका गतिविधि र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सिएनआईको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक विराटनगर आएका विरेन्द्र राज पाण्डेलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका सचिवहरू, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, सिएनआईका महानिर्देशक डा.घनश्याम ओझालगायत केन्द्रीय पदाधिकारी, कोशी कार्यसमितिका पदाधिकारी तथा युवा र महिला समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

भदौ ९, २०८२, दिउँसोको ०२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर