विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा खुट्टाको नसा चुँडिएको उपचार गराइरहेका एक बिरामीको मिर्गौला फेल भएर मृत्यु भएको छ । सडक दुर्घटनामा परी घाइते भएका धनुषाधाम नगरपालिका–८ का पूर्व वडाध्यक्ष करिब ४५ वर्षीय विनोद दिप लामाको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको हो ।
परिवारका सदस्यहरूका अनुसार, नौ दिनअघि खुट्टाको उपचारका लागि अस्पताल भर्ना गरिएका लामाको स्वास्थ्यमा सुधार भइरहेको थियो र चिकित्सकले समेत घर लैजान सुझाव दिएका थिए । तर, शनिबार अपरान्ह उनको अप्रत्याशित रूपमा मृत्यु भयो ।
“खुट्टाको उपचार राम्रै हुँदैथियो र डाक्टरले पनि स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिइरहेको थियो, उनकी पत्नीले भनिन्, “तर एक्कासी दुवै मिर्गौला फेल भएको खबर आयो । हामीले काठमाडौं लैजान तयारी गरिरहेका थियौं, तर अस्पतालले आज साँझ अचानक मृत्युको खबर दियो ।”
परिवारले उपचारमा गम्भीर लापरवाही भएको आरोप लगाएको छ । खुट्टाको सामान्य उपचारका क्रममा मिर्गौला फेल हुनुले पेनकिलर (दुखाइ कम गर्ने औषधि) को अत्यधिक प्रयोग भएको हुनसक्ने उनीहरुको आशंका छ ।
नोबेलमा लापरवाहीको यो पहिलो घटना होइन
स्मरण रहोस्, नोबेल अस्पतालमा गलत औषधिका कारण बिरामीको मृत्यु भएको विषयलाई लिएर यसअघि पनि चिकित्सकविरुद्ध मुद्दा चलिरहेको छ । सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु प्रकरणमा उपचारमा संलग्न चिकित्सकमाथि लापरवाहीको आरोप लगाउँदै पीडित परिवारले अस्पतालसहित डाक्टरविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दायर गरेका थिए ।
फोक्सोको सामान्य समस्या लिएर अस्पताल पुगेकी पोखरेलको उपचारका क्रममा दुखाइ कम गर्ने ‘मोर्फिन’ नामक औषधिको मात्रा अत्यधिक दिएका कारण मृत्यु भएको परिवारको आरोप छ । उक्त घटनामा पीडित परिवारले पाँच करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको थियो ।
पटकपटक यस्ता घटना दोहोरिँदा पनि अस्पताल प्रशासनले गम्भीरता नदेखाएको भन्दै मृतक लामाका आफन्तले छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । अस्पताल प्रशासनले भने यस घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।