
डा. बालकृष्ण साह
विराटनगर–४ को दूधफारम चोकमा बुधबार राति घटेको सडक दुर्घटनाले फेरि एक पटक हाम्रो ट्राफिक व्यवस्थापन र सुरक्षाबारे गम्भीर प्रश्न खडा गरिदिएको छ । राजमार्गमै चेकजाँचका लागि रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा २८ वर्षीय पुष्पकुमार चौधरीले जीवन गुमाउनु प¥यो । सामान्यतया ‘दुर्घटना’ भनेर मात्र परिभाषित गरिने यस्ता घटनाहरू वास्तवमा हाम्रो राज्य र समाजको लापरबाहीको ज्वलन्त उदाहरण हुन् । पुष्प चौधरीको निधन व्यक्तिगत पीडा मात्र होइन, व्यवस्थागत कमजोरीको परिणाम हो ।
नेपालमा हरेक दिन औसतमा ६५ वटा सडक दुर्घटना हुन्छन् । तीमध्ये सात जनाको प्राण मृत्युु हुन्छ, करिब ८३ जना घाइते हुन्छन् । आर्थिक वर्ष २०८०÷८१ मा मात्रै २५ हजार भन्दा बढी दुर्घटना भएको देखिएको छ । र यसमा २ हजार २ सयभन्दा बढीले ज्यान गुमाएको तथ्यांक छ । यो केवल संख्याको खेल होइन, हरेक अंकको पछाडि एउटा परिवारको आँसु, एउटा आमाबाबुको शोक, जीवनको उज्यालो क्षणमै अकालमा विझाएको भविष्यको कथा छ । विशेषतः दुई पाङ्ग्रे सवारी चालक र यात्रुहरू नै सबैभन्दा असुरक्षित छन् । नेपालमा हुने दुर्घटनामध्ये करिब ७० प्रतिशतमा मोटरसाइकल वा स्कुटरको संलग्नता हुन्छ । दूधफारमको यो घटना पनि त्यही दुःखद तथ्यलाई पुष्ट्याइदिन्छ ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने राजमार्गमै सवारी रोक्ने परिपाटी निकै असुरक्षित मानिन्छ । अमेरिका वा बेलायतमा प्रहरी चेकजाँच गर्ने बेलामा गाडीलाई बीच सडकमा रोकिँदैन, बरु सुरक्षित किनार, विश्रामस्थल वा निर्धारित क्षेत्रमै तानिन्छ । रातको समयमा प्रतिबिम्बित हुने कोन, चेतावनी दिने बत्ती, ब्यारेकेड जस्ता सुरक्षा सामग्रीको प्रयोग अनिवार्य हुन्छ । दुर्घटना भए तत्काल उद्धार र अस्पताल पु¥याउने जिम्मेवारी पनि प्रहरीकै हुन्छ । तर नेपालमा यस्ता आधारभूत र जरुरी कर्तव्य प्रायः पालना हुँदैनन् । चेतावनीको कुनै व्यवस्था बिना राजमार्गमै अचानक गाडी रोकिन्छ, जसको परिणाम स्वरूप अर्को सवारी ठोक्किन्छ र निर्दोष जीवन गुम्छ ।
२८ वर्षको उमेरमै जीवन गुमाएका पुष्प चौधरी अब फर्केर आउने छैनन् । तर उनको मृत्युले हामीलाई एउटा गहिरो चेतावनी दिएको छ । हामी अझै पनि सडक सुरक्षालाई प्राथमिकता दिन सकिरहेका छैनौं । सडकमा चेकजाँच आवश्यक छ भने पनि त्यो सुरक्षित तरिकाले हुनुपर्छ । चेतावनी दिने संकेत, सुरक्षाका सामग्री, आपतकालीन उद्धारको तयारी र प्रहरीको उत्तरदायित्व स्पष्ट हुनु जरुरी छ । अन्यथा, आज पुष्प चौधरी गुमे, भोलि अर्को परिवारले आफ्ना प्रियजन गुमाउनुपर्ने जोखिम ज्यूँका त्यूँ रहिरहनेछ ।
दूधफारमको दुर्घटना केवल एउटा घटना होइन, यो हाम्रो सामाजिक बेवास्ता र नीतिगत कमजोरीको प्रतिबिम्ब हो । हामीले यसलाई संयोग ठान्ने कि संरचनागत त्रुटि भनेर सच्याउने भन्ने प्रश्न हामीमाथि खडा भएको छ । श्रद्धाञ्जली साँचो अर्थमा फूल चढाएर मात्र दिइँदैन, श्रद्धाञ्जलि तब हुन्छ जब हामी उनको नाममा अर्को जीवन जोगाउने प्रण गर्छौं ।
हाम्रो देशमा सडक केवल यात्राको साधन होइन, जीवन र मृत्युको बाटो बनेको छ । यसलाई सुरक्षित बनाउन सक्ने वा असुरक्षित छोड्ने जिम्मेवारी राज्यको हो, प्रहरीको हो, समाजकै हो। अब समय आएको छ—प्रत्येक निर्णयको केन्द्रमा मानव जीवनलाई राख्ने । यदि हामीले आजै बाटो नफेरे, भोलि यी तथ्याङ्क अझ भयावह हुनेछन्। पुष्प चौधरीको असामयिक निधनलाई व्यर्थ हुन नदिने भनेकै—यसबाट सिक्ने, सुधार्ने र अर्को परिवारले यस्तै पीडा भोग्न नपर्ने सुनिश्चितता गर्ने हो ।